जाजरकाेट पहिराे अपडेट : शनिबार थप २ जनाकाे शव भेटियाे, ३ जना अझै बेपत्ता

 असार २७, २०७७ शनिबार १८:५६:२३ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – बारेकोट गाँउपालिका ४ को सार्की टोलमा गएको पहिरोमा परि बेपत्ता भएका थप दुई जनाको शब शनिबार भेटिएको छ । योसँगै मृतकको सङ्ख्या नौ पुगेको छ । पहिरोले दुई घर बगाउँदा १२ जना बेपत्ता भएका थिए ।

पहिरोमा परि बेपत्ता भएका ३८ वर्षीया कलु सार्की र उहाँका ६ वर्षीय छोरा सुभास सार्कीको शव शनिबार भेटिएको हो । साथै यसअघि शव फेला परेर पनि पहिचान हुन नसकेकोमा कुशे ९ चौराटाका १४ वर्षीया गौरी सार्की र १६ वर्षीया कविता सार्की भन्ने पहिचान भएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर श्रेष्ठले जानकारी दिनुभयो  । उनीहरु कलु सार्की (दिदी) को घरमा पाहुना लाग्न आएका थिए ।

पहिरोमा परि बारेकोट ४ का ५२ वर्षीय गोपाल सार्की र उहाँका ११ वर्षीय छोरा अर्जुन सार्की र कलु सार्की (दिदी) को घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीया डिल्ली सार्की, १४ वर्षीया तिर्सा सार्की र १८ वर्षीय वीरेन्द्र सार्कीको शवको पनि पहिचान भइसकेको हो । 

पहिरोमा पुरिएका अझै तीन जना भेटिएका छैनन् । पहिरोका कारण बारेकोटका विभिन्न गाँउका दुई सय बढी परिवार विस्थापित भएका छन । घाइते भएका दुई जनालाई शनिबार हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको छ । पहिरोमा गम्भीर घाइते भएका बारेकोट ४ का ५६ वर्षीय लालबहादुर नेपाली र बारेकोट ६ धुमाखोलामा आएको बाढीले बगाउँदा घाइते भएका सात वर्षीय रामचन्द्र चलाउनेलाई कर्णाली प्रदेश सरकारले पठाएको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जाजरकोटका डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।  

जाजरकोटको बारेकोटका विभिन्न स्थानमा गरी आठ घर पहिरोले बगाएको थियो । यस्तै वडा नम्बर ६ को धुममा खोलाले बगाएको दुई जनाको खोजी भइरहेको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिरुले खोजी कार्यलाई तीव्रता दिए पनि निरन्तर पानी परेको कारण खोजी गर्न कठिन भएको प्रहरीले जनाएको छ । 

पालिकाका वडाध्यक्ष अजवी  सिंहसमेत विस्थापित भएपछि पाल हालेर बस्नुभएको छ । शनिबार बिहानैदेखि पहिरोबाट विस्थापित भएकाको विवरण अद्यावधिक गरिरहेको जनाएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया