अहिलेकै अवस्थामा गाडी नचलाउने व्यवसायीको अडान, समस्या समाधानको लागि कार्यदल गठन

 असार २८, २०७७ आइतबार ८:२३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै  – यातायात व्यवसायीले अहिलेकै अवस्थामा गाडी चलाउन नसक्ने अडान राखेका छन् । सरकारले सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेको तीन दिन भैसक्दा पनि यातायात व्यवसायीले गाडी चलाएका छैनन् ।

यातायात व्यवसायी तथा यातायात मजदूरले यातायात क्षेत्रका श्रमिकको स्वास्थ्यलाई पनि ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले श्रमिकको आधारभूत स्वास्थ्य र सुरक्षाका विषयमा यातायात व्यवसायीका न्यूनतम मागलाई सम्बोधन नगरीकन सरकारले यातायात सञ्चालन गर्ने निर्णय गरेकाले यथास्थितिमा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नसकिने बताउनुभएको छ ।

लकडाउनपछिको अवस्थामा सार्वजनिक सवारीसाधन सञ्चालन विधि र प्रक्रियाका बारेमा छलफल चलिरहेको बेला सरकारले सार्वजनिक गाडी सञ्चालन गर्ने निर्णय गरेपछि अन्योल भएको उहाँको दावी छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात मजदूर सङ्घ, अखिल नेपाल यातायात मजदूर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले संयुक्त रुपमा सवारी सञ्चालन कार्यविधि बनाएर सार्वजनिक गाडी चलाउनुपर्ने निर्णय गरेका छन् ।

त्यस्तै सरकारसँग आवश्यक छलफल गरी समस्या समाधान गर्नका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य र तीनवटै मजदूर सङ्गठनका अध्यक्ष समेत रहेको कार्यदल गठन गरेको छ ।

सरकारले गएको बिहीबार बाहिरी जिल्लामा एक जिल्लाभित्रै र काठमाण्डौ उपत्यकाका तीन जिल्लालाई एक जिल्ला मानेर गाडी चलाउन पाइने निर्णय गरेको हो । कार्यदलले लामो तथा छोटो दूरीमा चल्ने गाडी सुरक्षित रूपमा सञ्चालन गर्न आवश्यक पहल गर्ने महासंघका महासचिव सिटौलाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया