जाजरकोट पहिरो अपडेट : बेपत्तामध्ये ११ जनाको शव भेटियो, एक जनाको खोजी चल्दै

 असार २८, २०७७ आइतबार २१:२४:५९ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट - जाजरकोटको बारेकोट गाउँपालिका-४ सार्की टोलमा बिहीबार राति गएको पहिरोमा परी बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ । 

पहिरोमा हराइरहेकी मृतक गोपाल सार्कीकी १३ वर्षीया छोरी लक्ष्मी सार्कीकी र कलु सार्कीकी छोरी ११ वर्षीया कमला सार्कीको शव भेटिएसँगै मृतकको सङ्ख्या ११ पुगेको छ ।

 पहिरोले दुई घर बगाउँदा पाहुना आएकासहित १२ जना बेपत्ता भएका थिए । पहिरोमा परी बेपत्ता भएका ११ वर्षीया कमला सार्कीको शव आइतबार बिहान उद्धार टोलीले भेटेको थियो । लक्ष्मी सार्कीको शव केही बेरअघि मात्रै फेला परेको हो  ।

कमला कलु सार्कीकी छोरी हुन् । ३८ वर्षीया कलु सार्की, उहाँकी १३ वर्षीया छोरी तिर्सा सार्की र ६ वर्षीय छोरा सुभाष सार्कीको ज्यान गएको छ ।

घटनामा परि पाहुना आएका कुशे ९ चौराटाका १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, २० वर्षीया डिल्ली सार्की तथा १८ वर्षीय वीरेन्द्र सार्कीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख, डीएसपी किशोर श्रेष्ठले बताउनुभयो । 

उनीहरु दिदीको घरमा पाहुना आएका थिए । पहिरोमा बारेकोट ४ का ५२ वर्षीय गोपाल सार्की र उहाँका ११ वर्षका छोरा अर्जुन सार्कीको पनि पहिरोमा नै परेर ज्यान गएको छ । गोपालकी श्रीमती ५० वर्षीया पुष्पा सार्की पहिरोमा बेपत्ता हुनुभएको छ ।

त्यस्तै बारेकोट ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने धुमा खोलाले बगाउँदा बेपत्ता भएका छन् । भिरबाट लडेर खोलामा पर्नुभएका जुनीचाँदे ११ का डिल्लीबहादुर चनारा पनि सानाखोलामा बेपत्ता हुनुभएको छ ।

यसैबीच आज दिउँसो वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सांसद सत्या पहाडी, सांसदहरु भैरवसुन्दर श्रेष्ठ र मायाप्रसाद शर्मासहितको टोेली त्रिपाल र खाद्यान्नलगायतका राहत सामग्री लिएर आइतबार दिउँसो हेलिकोप्टरबाट बारेकोट पुगेको थियो । 

तर खराब मौसमका कारण हेलिकोप्टर बस्न र राहत सामग्री खसाल्न तय गरिएको स्थानमा बस्न नसकेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिनुभयो । उहाँले गोठगाउँ, सिनाचौर, लिम्सा र जिरीमा हेलिकोप्टर बस्ने भनिए पनि बस्न नसकेर लिम्सा खोला किनार र ठकुरी जिरीमा बसेर राहत सामग्री छोडेर गएको जानकारी दिनुभयो  । त्यहाँबाट राहत सामग्री विस्थापितसम्म पुर्‍याउन पैदलै ५/६ घण्टा लाग्न सक्ने अवस्था छ । 

खोलानाला बढिरहेका छन् । बाटोघाटो विच्छेद छ, ती सामग्री कसरी पीडितसम्म पुर्याउनेमा समस्या भएको उहाँले भन्नुभयो  । त्यो राहत सामग्री त्यति धेरै विस्थापितका लागि हात्तीको मुखमा जिरा हुने स्थानीयको गुनासो छ । विस्थापित परिवारलाई गाँस, बास र कपासको आवश्यकता खड्किएको छ । त्रिपाल र पालले राहत महसुस नभएको उनीहरुको भनाइ छ । हामीलाई खाने गाँस चाहियो तर त्यो आएन, पहिरो पीडितले गुनासो गरेका छन् ।

पहिरोले गाउँमा झण्डै १५० परिवार विस्थापित भएका छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया