इलामको देउमाई नगरपालिकाको टोलटोलमा शिक्षक

 साउन १, २०७७ बिहिबार २१:४०:४६ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको देउमाई नगरपालिकाले विभिन्न ठाउँमा विद्यार्थीलाई भेला गरेर टोलटोलमा शिक्षक परिचालन गरेको छ । लकडाउनको समयमा विद्यालय बन्द रहेपछि विद्यार्थीलाई पठनपाठन प्रक्रियामा सहभागी बनाउन पालिकाको वडा नम्बर १ का सम्पूर्ण विद्यालयले शिक्षक परिचालन गरेको हो ।

वडा नम्बर १ को सिद्धदेउमाई आधारभूत विद्यालयले गएको असार २२ गतेदेखि पठनपाठन सुरु गरेको हो । सम्पूर्ण विद्यार्थीलाई पायक पर्ने स्थानमा ६ वटा सिकाइ केन्द्र कायम गरी शिक्षकलाई पठाएर पठनपाठनमा सहजीकरण गरिरहेको विद्यालयले बताएको छ । विद्यालयका नौ जना शिक्षक विषयगतका आधारमा हप्तामा दुई जनाका दरले हरेक केन्द्रमा जाने र अध्यापन गराउने गरेको शिक्षक शिरकुमार राईले जानकारी दिनुभयो । 

शिक्षक राई भन्नुहुन्छ, ‘हरेक दिन साढे १० देखि १ बजेसम्म विद्यार्थीलाई भेला गरेर पढाउने र गृहकार्य दिने गरिएको छ । कक्षा तीनदेखि पाँचसम्मका विद्यार्थी एकै स्थानमा भेला हुन्छन्, बाँकी पूर्व प्राथमिक विद्यालय (शिशु कक्षा) का विद्यार्थीलाई भने अनिवार्य गरिएको छैन । सिद्धदेउमाई हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यालयमा गनिन्छ । यस वर्ष पनि नतिजा राम्रो ल्याउनको लागि हरेक दिन विद्यार्थीलाई पठनपाठनमा सहभागी गराइएको हो ।’ 

टोलटोलमा शिक्षक विभाजित हुँदा ६ वटै सिकाइ केन्द्रमा पर्याप्त नभएकाले कार्यलय सहयोगीले समेत पठनपाठनमा सहयोग गरिरहेको शिक्षक राईले बताउनुभयो । कार्यालय सहयोगीलाई पनि आफ्नो शैक्षिक योग्यताअनुसार नै विद्यार्थीलाई पढाउन दिइएको छ । 

हरेक केन्द्रमा बढीमा २० जना र कममा आठ जना विद्यार्थी पढ्न आइरहेका छन् । सिद्धदेउमाई आधारभूत विद्यालयमा अहिलेसम्म एक सय ३६ विद्यार्थी भर्ना भएको र ९५ जनाले पाठ्यपुस्तक नै लगिसकेको विद्यालयले जनाएको छ । 

डम्बर देवी माध्यमिक विद्यालयले भने हप्तामा एक पटकमात्र पठनपाठन गराइरहेको छ । यो विद्यालय पनि वडा नम्बर १ कै हो । १२ वटा सिकाइ केन्द्रमा हप्ताको आइतबार दुई घण्टा पढाउने गरिएको विद्यालयका प्रधानाध्यापक केन्द्र बस्नेतले बताउनुभयो ।  

उहाँका अनुसार सोमबार विद्यालयमा शिक्षक भेला हुने र शिक्षण सिकाइलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल हुने गरेको छ । विद्यालयका कक्षा १ देखि ५ सम्मका, ६ र ७ का, ९ र १० का विद्यार्थीलाई एकै सिकाइ केन्द्र र कक्षा ८ का विद्यार्थीलाई अलग्गै केन्द्रमा राखेर पठनपाठन गराइरहेको प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभयो । 

विद्यार्थीलाई पठनपाठनमा सहभागी गराउन सुरु गरेपछि अन्तर्जिल्ला विराटनगर र तेह्रथुमका शिक्षकसमेत विद्यालयमा उपस्थित भएका छन् । अन्तर्जिल्लाबाट आएका शिक्षकको भने कोरोना जाँच गरेर मात्र पठनपाठनमा परिचालन गरिने विद्यालयले जनाएको छ । 

अहिले पठनपाठनमा २४ जना शिक्षकलाई परिचालन गरिएको छ । अहिलेसम्म तीन सय ४३ विद्यार्थी भर्ना भइसकेकोमा सिकाइ केन्द्रमा भने दुई सय ५० जना विद्यार्थीको सहभागिता भइरहेको विद्यालयले जनाएको छ । 

‘विद्यालयमा पढाइ नहुँदा छोराछोरीको भविष्यको चिन्ता थियो । रेडियो शिक्षा छ रे भन्ने सुनेको हो तर हाम्रोतिर कुनै रेडियो बज्दैन । अहिले सिकाइ केन्द्रमा पढ्न पठाउँदा भने ढुक्क लागेको छ’, एक विद्यार्थीका अभिभावक देउमाई नगरपालिका १ का पवित्र सुनुवारले बताउनुभयो । 

इलामका १० पालिकामध्ये अहिलेसम्म ६ पालिकामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सिकाइ केन्द्रमा पठनपाठन सुरु गरेको पालिकामा समेत गएको असार २० गते एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो । 

प्रत्येक केन्द्रमा सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा सामग्रीसहित विद्यार्थी र शिक्षक उपस्थित हुन पालिकाले आग्रह गरेको छ । यसअघि केही विद्यालयले औपचारिक रुपमा नै विद्यालय सञ्चालन गरेको नगरका शिक्षा शाखा प्रमुख रुपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । त्यसरी कक्षा सञ्चालन गर्दा जोखिम बढेर जाने भन्दै नगरको बैठकले टोलटोलमा शिक्षक परिचालन गर्ने निर्णय गरी विद्यालयलाई अनुमति दिइएको हो । 

प्रदेश सरकारले शैक्षिक क्षति न्यूनीकरणका लागि पालिकालाई तीन लाख रुपैँया दिएको छ । यो रकम पालिकाका सम्पूर्ण विद्यालयलाई विद्यार्थी सङ्ख्याका आधारमा प्रतिविद्यार्थी ६५ रुपैँयाका दरले विद्यालयलाई वितरण गरिएको पालिका प्रमुख न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सिकाइ केन्द्रमा विद्यार्थीलाई पठनपाठन गराए पनि सबै विद्यार्थीले लाभ भने लिन नसकेकाले यसको प्रभावकारिता भने न्यूनमात्र रहने देखिन्छ ।’ पालिकाले सबै विद्यालयले सिकाइ केन्द्र सञ्चालन गर्ने भन्ने निर्णय गरे पनि सबैले सुरु नगरि सकेको प्रमुख न्यौपानले बताउनुभयो ।  

देउमाई नगरपालिकामा ४९ सामुदायिक र १३ संस्थागत विद्यालय गरी ६२ विद्यालय रहेका छन् । सामुदायिकमा दुई हजार चार सय २७ छात्रा र दुई हजार दुई सय १७ छात्र गरी कुल चार हजार छ सय ४४ जना रहेका छन् । त्यस्तै संस्थागततर्फ आठ सय ८१ छात्रा र एक हजार ५१ गरी एक हजार नौ सय ३२ जना विद्यार्थी गरी कुल ६ हजार पाँच सय ७६ जना विद्यार्थी रहेका छन् । 

जिल्लाका १० पालिकामा तीन सय ९७ सामुदायिक र एक सय १७ संस्थागत गरी पाँच सय १४ वटा विद्यालय रहेको शिक्षा विकास तथा समन्वय इकाइ इलामका शाखा अधिकृत डम्बर सुवेदीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • दिपबर्ण राई

    July 18, 2020, 8:02 a.m.

    राम्रो काम अरु स्थानहरुमा पनि यस्तै गरि सिकाइ पढाई गर्नुपर्छ।एक कदम शैक्षिक प्रगती तर्फ

  •  0 Reply

तपाईको प्रतिक्रिया