सुदूरपश्चिम प्रदेशमा २२ लाख पाठ्यपुस्तक वितरण

 साउन २, २०७७ शुक्रबार २०:२८:३२ | सीताराम ओझा
unn.prixa.net

कैलाली – विद्यालय सञ्चालनबारे अन्याेल रहेका बेला सुदूरपश्चिम प्रदेशका विद्यालयहरुमा पाठ्यपुस्तक वितरणको काम भइरहेको छ । 

पुस्तक लिन विद्यालय पुगेका विद्यार्थी र अभिभावकहरुमा कहिलेबाट विद्यालय सुरु हुन्छ भन्ने अन्याेल छाएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रादेशिक कार्यालयले प्रदेशका सबै पालिकामा पुस्तक पठाइसकेको जनाएको छ । 

नयाँ शैक्षिक सत्रकाे लागि प्रदेशमा २३ लाख ५० हजार थान पाठ्यपुस्तक आएको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख भुपेन्द्र बोहराले बताउनुभयो । तीमध्ये २१ लाख ८० हजार पुस्तक सबै विद्यालयमा पुगिसकेको उहाँले बताउनुभयो । ‘अझै ७५ हजार थान पाठ्यपुस्तक आउन बाँकी छ’, उहाँले भन्नुभयो, ‘त्यो पनि चाँडै आउँछ । यस वर्ष पुस्तक अभाव हुँदैन ।’

कोरोना सङ्क्रमण बढ्न थालेपछि गएकाे तीन महिनादेखि शिक्षण संस्था ठप्प छन् । केही विद्यालयले प्रविधिकाे प्रयाेग गरेर अध्यापन गराइरहे पनि अधिकांश विद्यार्थीको भने पढाइ प्रभावित भएको छ ।

धनगढीका वामदेव जोशीले भन्नुभयो, ‘यस्तो अवस्थामा विद्यालय सञ्चालन गर्नु  जोखिमपूर्ण छ ।’ विद्यालय सुरु हुने अन्याेल रहे पनि विद्यालयबाट पाठ्यपुस्तक वितरणको काम भने धमाधम भइरहेको छ । लामो समयदेखि विद्यालय सुरु नहुँदा विद्यार्थीको सिकाइ पद्धति नै प्रभावित हुने हो कि भन्ने अभिभावकहरुको चिन्ता छ । यस्तै चिन्ता शिक्षकहरुको पनि छ । 

सरकारले विद्यालयहरुलाई क्वरेण्टीनको रुपमा प्रयोग गरेको हुँदा तत्काल विद्यालय सञ्चालन गर्न कठिनाइ हुन सक्ने धनगढी १४ मा रहेको जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकबहादुर क्षेत्रीले बताउनुभयो ।

‘क्वरेण्टीन भएकालाई जाँच गरेर होम क्वरेण्टीनमा पठाएर विद्यालयलाई स्यानिटाइज गरेर पठनपाठन सुरु गर्न हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘अहिले त्यस्तो अवस्था छैन ।’ अभिभावकहरुले समेत विद्यालय सुरु गर्न ताकेता गरिरहेको उहाँले बताउनुभयो । ‘विद्यालय सुरु हुन ढिला भयो भने विद्यार्थीको पढाइ प्रभावित हुन्छ’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया