‘पैसा नकमाए पनि खुसी छु, बस् ज्यानमा रोग नलागोस्’

 साउन ४, २०७७ आइतबार १०:४५:४३ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – टेबुलमा छरपस्ट छरिएका रङ्ग, कलम, इरेजर र सादा पाना । टेबुलकै एक छेउमा बालबलिकालाई चित्र बनाउन सिकाउँदै हुनुहुन्छ, कलाकार रमेश मेयर श्रेष्ठ । 

काठमाण्डौको नैकापमा रहेको सिभिल होमको एक नम्बरको घरमा नै उहाँको आर्ट ग्यालरी छ । कोठाको भित्ता रङ्गले पोतिएका छन् । 

बिहानको नित्यकर्मपछि सुरु हुन्छ, श्रेष्ठको व्यावसायिक जीवन । आफ्ना लागि थोरै र चित्रका लागि उहाँले पूरै समय खर्चिनु भएको छ ।

हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्द मनले ।।

साहित्यकार लक्ष्मीप्रसाद देवकोटाको रचनासँग मिल्दोजुल्दो छ, कलाकार रमेश मेयर श्रेष्ठको जीवन । मानव जीवनका लागि पैसाको धेरै महत्त्व हुन्छ । पैसा विना एक कदम पनि चाल्न सकिन्न । तर पैसा मात्रै पनि सबैथोक होइन । पैसाले खुसी र सुख भने किन्न सक्दैन । 

यही कुरा राम्ररी बुझ्नु भएका कलाकार रमेश मेयर श्रेष्ठ पैसाका लागि खुसीलाई बन्धकी राख्नु हुन्न । उहाँ भन्नुहुन्छ, ‘प्रशस्त पैसा नकमाए पनि म खुसी र सन्तुष्ट छु । बस ज्यानमा रोग नलागोस्, यति भए केही चाहिँदैन ।’

सादा जीवन रङ्गियो रङ्गमा 

एक्लो जीवन पकाएर खान कहिलेकाहीँ त्यति जाँगर चल्दैन । जाँगर चल्दा दाल भात तरकारी सबै पाक्छ । नचल्दा पनि चलेकै छ, चल्दै जानेछ । यसमा त्यति सारो घोत्लिरहनु पर्ने र विचार विमर्श गरिहन आवश्यक छैन, यस्तै लाग्छ उहाँलाई । 

स–साना केटाकेटीदेखि रङ्ग भर्न र चित्र कोर्न रहर गर्ने जो सुकैलाई सिकाउन उहाँ अघि सर्नुहुन्छ । शिक्षित हुन् वा अशिक्षित, रोजगार हुन् वा बेरोजगार, महिला वा पुरुष । 

जुन वर्ग र समुदायलाई आफूले जानेका बुझेका कुरा सिकाउनु आफ्नो धर्म भएको उहाँको बुझाइ छ । 

सादा र सामान्य जीवनशैलीमा रमाउने श्रेष्ठले रङ्ग र कुचीसँग लुकामारी गर्न थालेको  झण्डै चार दशक भइसक्यो । सादा जीवन रङ्गमै पोतियो । 

घरको कान्छो छोरा भएकाले सानो छँदा पनि श्रेष्ठले रहरलाई मार्नु परेन । काठमाण्डौको साँखुमा २००७ सालमा जन्मिनुभएका उहाँ पछि हनुमानढोका नजिकै सर्नुभयो । परिवार नै हनुमानढोका सर्‍याे । चार कक्षासम्मको पढाइ साँखुमा नै भयो । त्यसपछि भानु मावि रानीपोखरीमा सात कक्षा र शान्ति शिक्षाबाट एसएलसी (अहिलेको एसईई) सक्नुभयो । एसएलसीपछि ललितकला क्याम्पसबाट २०४५ सालमा डिप्लोमा गर्नुभयो । 

‘विद्यालयस्तरदेखि नै चित्र बनाउन सिपालु थिएँ’, श्रेष्ठ भन्नुहुन्छ, ‘सधैँ प्रथम हुन्थे, मास्टरको स्याब्बासी पाउँदा औधी रमाइलो लाग्थ्यो ।’ 

आईए पढ्दै गर्दा सामान्य काम पनि पाइयो । पहिलो कमाइ तीन सय । चित्र बनाएर पनि पैसा कमाइने रहेछ भन्नेमा उहाँ ढुक्क हुनुभयो । 

बिस्तारै पत्रपत्रिका, म्यागजिन र बालबालिकाको किताबमा उहाँले कार्टुन बनाउन थाल्नुभयो । काम विस्तार भएसँगै कमाइको दायरा पनि फराकिलो हुन थाल्यो । तीन सय रुपैयाँबाट भएको करिअरको सुरुवात एक दुई वर्षमा १५ हजारसम्म पुग्यो । जीवन विस्तारै व्यवसायिकतातर्फ धकेलिँदै गयो । 

चित्रमा रमाउँदा छुट्टै आनन्द

बुवा व्यवसायी, दुई जना दाइ मेकानिक । तर उहाँलाई न व्यवसायमा रुची लाग्यो न अन्य पेसामा इच्छा नै ।  

सानैदेखि चित्र बनाउन रहर भएकाले बुवाले सधैँ साथ दिनुभयो । जे गर्छाै गर भन्ने ढाडस पाएकाले पनि उहाँलाई अर्को पेसामा जोतिनु पर्ने बाध्यता परेन ।   परिवारको साथमा बसेकाले आफ्नो पकेट खर्चबाहेक अन्य कुराको चिन्ता लिनै परेन । 

पछि दाइहरुसँग छुट्टिएपछि एक्लिएको जीवनले रङ्ग र कुचीकै साथ पायो । रङ्गसँग खेल्दा खेल्दै, रमाउँदा रमाउँदै एक्लोपनको महसुस नै भएन । आफ्नो रुचिअनुसार कै काम थालेकाले उहाँ सन्तुष्ट र खुसी हुनुहुन्छ ।

अहिले पनि समय र हातलाई खाली राख्नु परेको छैन । सुरक्षित रुपमा उहाँले आलो पालो गरी एक, दुई जनालाई चित्र बनाउन सिकाउनु हुन्छ । अहिले उहाँका आठ, नौ जना विद्यार्थी छन् । यसले घर खर्च चलेकै छ ।  

व्यस्तता अहिले पनि उस्तै 

कोरोनाको कहरका कारण भएको लकडाउनमा पनि उहाँ खाली बस्नु परेको छैन । बेला बेलामा विद्यार्थी आउँछन्, अरु समयमा समयअनुसारको चित्र बनाउनुहुन्छ । 

जनावरप्रेमी रमेश मेयर श्रेष्ठ चित्र बनाउँदा छुट्टै आनन्द र सन्तुष्टि मिल्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पैसा कै पछि लाग्ने भए म विदेशमा नै बस्थे, मलाई पैसाको भन्दा आफ्नो कला र मातृभूमिको माया छ ।’ 
आफ्नो कलालाई निखार्न बेला बेलामा छात्रवृत्तिमा जापान, सिङ्गापुर, हङकङ, मलेसिया पुग्नुभएका उहाँलाई आफ्नो देशमा बस्दा जस्तो आन्नद कहीँ लागेन । 

अहिले केही विद्यालयमा आर्ट टिजरका रुपमा काम गर्नु हुन्छ भने बाँकी समयमा आफ्नै ग्यालरीमा सिकाउनुहुन्छ । स्केच बनाउनु हुन्छ । वाल पेन्टिङ गर्नुहुन्छ । यसबाट कमाइ राम्रै हुन्छ । उहाँले आफ्नो सिर्जना तीन लाख रुपैयाँसम्ममा बिक्री गर्नु भएको छ । ठाउँ ठाउँमा हुने चित्रकला प्रदर्शनीमा सहभागीता जनाउनु हुन्छ । 

जीवन यसैगरी चलिरहेको छ ।  चलाउने आयस्रोत यही नै हो ।  एउटा फ्लाट लिएर बस्नुभएका श्रेष्ठलाई बिलासी सामानमा रुचि नभएकाले सामान्य तरिकाले नै चलिरहेको छ ।  अब पनि यसै गरी चल्ने उहाँको विश्वास छ ।

अन्तिम अपडेट: साउन १०, २०७७

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया