बर्दियाको ठाकुरबाबामा एकैदिन १० जनामा कोरोना सङ्क्रमण

 साउन ४, २०७७ आइतबार १२:३१:४० | भावुक योगी
unn.prixa.net

बर्दियाको ठाकुरबाबा नगरपालिकामा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नगरका ४ वडाका क्वरेण्टीन, आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो ।

नगरपालिका क्षेत्रमा खटिएका १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय र ९ वटै वडा कार्यालयबाट हुने आकस्मिक बाहेक सबै सेवा तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।

यस्तै नगरपालिकामा हुने सबै किसिमका सभा, बैठक, भेला, गोष्ठी अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिनुभयो । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन, बजार क्षेत्रमा ननिस्कन तथा निस्कनै परे अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम राख्न नगरपालिकाले आग्रह गरेको छ ।

सङ्क्रमण पुष्टि भएका सबै जना नगरपालिका क्षेत्रमा खटिएकाहरु हुन् । उनीहरुको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको हो । सङ्क्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा झण्डै १ सय जनाको पीसीआर परीक्षण गर्नु पर्ने देखिएको छ ।

आइतबार बिहानदेखि नगरपालिका क्षेत्रका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको पीसीआर परीक्षण गर्न सुरु गरिएको छ । ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति कार्यक्रम तथा बजेट सम्बन्धि जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्लाका झण्डै १५ जना पत्रकारको सहभागिता रहेको थियो ।

सङ्क्रमित पुष्टि भएकाको सम्पर्कमा रहेका सहभागी सबै पत्रकारहरुको पनि पीसीआर जाँच गरिने छ । पत्रकारहरु पनि होम क्वरेण्टीनमा बसेका छन् । योसँगै ठाकुरबाबा नगरपालिकमा सङ्क्रमितको संख्या २४ पुगेको छ । जसमध्ये १० जना उपचारपछि घर फर्किसकेका छन् ।

शनिवार १० जनामा सङ्क्रमढा पुष्टि भएसँगै बर्दियामा कोरोना सङ्क्रमितको संख्या २ सय २० पुगेको छ । १ सय ९२ जना उपचारपछि निको भएका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया