जाजरकोट पहिरो : एक हजार बढी घरपरिवार विस्थापित, पीडित भन्छन्, 'हेलिकप्टर आयो, राहत आएन'

 साउन ५, २०७७ सोमबार २१:२१:३५ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – जाजरकोटको बारेकोट गाउँपालिकाका बाढी पहिरो पीडित खाद्यान्न अभाव भाेगिरहेका छन् ।

उनीहरुसँग अहिले न काम गरेर खाने ठाउँ छ न त कसैले सहयोग गरेको छ । खाली त्रिपाल, धुलाम्मे स्कुलका बेन्चमा पल्टिनुको विकल्प छैन, उनीहरुसँग  । पालिका, प्रदेश र केन्द्रीय सरकारले समेत आफूहरुलाई बेवास्ता गरेको उनीहरुको गुनासो छ । 

खाद्यान्न अभावमा एक छाक खाएर दिन कटाउन बाध्य भएको अधिकांशको भनाइ छ । 

हेलिकप्टरले जगाएको आशा निराशामा परिणत

शुक्रबार नै राहत लिएर हेलिकप्टर बारेकोट आउँदैछ भन्ने सन्देश विस्थापित परिवारसम्म पुगिसकेको थियो । उनीहरु दिनभरि हेलिकप्टरकै प्रतिक्षामा रहे । तर खराब मौसमका कारण शुक्रबार आउन नसकेको नेपाली सेनाको हेलिकोप्टर शनिबार दिउँसो बारेकोट पुग्यो  । 

हेलिकोप्टर रेडक्रसका एक सय थान कम्मल र १५ थान त्रिपाल खसालेर एक जना घाइतेलाई लिएर नेपालगञ्ज फर्कियो । खाद्यान्नलगायतका खानेकुरा पाउने ठूलो आशमा रहेका विस्थापित परिवार निराश भएका छन् । बारेकोट सिनचौरका मानबहादुर नेपालीले हेलिकोप्टरले खानेकुरा ल्याउला भनेको त कम्मल र त्रिपाल मात्रै दिएर गएको भन्दै गुनासो गर्नुभयो । 

'अब के खाने ? राहत आउला भन्ने आशमा थियौँ । तर अहिलेसम्म राहत पाइएन', उहाँले गुनासो सुनाउँदै भन्नुभयो, ‘त्रिपाल र कम्मलको पनि आवश्यकता छ । तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा पेट भर्नु छ ।' पहिरो गएयता तीन पटक हेलिकप्टर आइसकेको छ । 

घरमा भएको अन्न सकिएपछि आफूहरु निकै समस्यामा परेको नेपालीले बताउनुभयो  । 

एक हजार ५५ परिवार विस्थापित

बारेकोट गाउँपालिकाका एक हजार ५५ परिवार परिवारहरु विस्थापित भएका छन् । उनीहरु अहिले स्थानीय विद्यालय, गोठ र चौरमा बसिरहेका छन् । केही स्थानीय भने पानी पर्न रोकिएपछि घर फर्किएका छन् । तर धेरै परिवारसँग खाद्यान्न सकिँदै गएको छ ।

बारेकोटमा किनेर खाने खाद्यान्न पनि पाइँदैन । किन्ने खाद्यान्नसमेत नपाएपछि पहिरो पीडित भोकभोकै पर्न थालेका गाउँपालिका अध्यक्ष महेन्द्र शाहले जानकारी दिनुभयो । बारेकोट गाउँपालिकामा उत्पादित अन्नले वर्ष दिनमा ५/६ महिना मात्र खान पुग्ने बाध्यता रहेको छ । यातायातको असुविधाका कारण ढुवानी समस्याले गाउँपालिकामा रहेका खाद्य पसलसमेत सञ्चालन हुन सकेका छैनन् । 

बर्सेनि खाद्य सङ्कट भइरहने जाजरकोटको बारेकोटका झण्डै २० हजार बासिन्दाका लागि भनेर सरकारले स्थापना गरेको खाद्य डिपो यतिबेला रित्तै छ । ढुवानीको जिम्मा लिएका ठेकेदारले चामल ढुवानी नगर्दा समस्या देखिएको छ । 

बारेकोटको खाद्य सङ्कट टार्न सरकारले नेपाल खाद्य संस्थानलाई चालु आर्थिक वर्षमा तीन हजार पाँच सय क्विन्टल चामलको कोटा निर्धारण गरेको छ । चामल ढुवानीका लागि सरकारले अनुदान दिँदै आएको छ ।

तर आर्थिक वर्ष सकिँदा पनि चामल ढुवानीको जिम्मा लिएका एन बी बिल्डर्सका प्रतिनिधि मानबहादुर खड्काले दुई हजार चार सय ४२ क्विन्टलमात्र चामल ढुवानी गरेका छन् । एक हजार ५८ क्विन्टल चामल ढुवानी नगर्दा बारेकोटमा खाद्य सङ्कट निम्तिने खतरा बढेकाे हो ।

बारेकोटका जिरी, तल्लो जिरी, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमा, धौलाकोट, कोट्लीलगायतका गाउँमा केही दिनमै भोकमरीको अवस्था सिर्जना हुने आशङ्का बढेको छ ।

बारेकोट गाउँपालिकाका महेन्द्र शाह भन्नुहुन्छ, ‘यातायात र सञ्चार सम्पर्कबाट विच्छेद हुँदा पनि पहिरो प्रभावितलाई सहयोग तथा राहतमा समस्या भएको छ । राहत सामग्रीका लागि हवाई मार्गबाहेकको विकल्प छैन । तर केन्द्रीय सरकारले यसतर्फ ध्यान दिएको छैन । बारेकोटको एक गाउँबाट अर्को गाउँ जान र एक वडाबाट अर्को वडा जान कम्तीमा ५/६ घण्टा लाग्ने भएकाले पनि तथ्याङ्क सङ्कलनमा समेत समस्या भएको छ ।'

तत्काल सरकारले खाद्यान्नलगायतका राहत सामग्री पठाउनुपर्ने पीडितको माग छ । विश्व खाद्य कार्यक्रमको टोली बारेकोटको अवस्था बुझ्न गाउँसम्म पुगेको छ । गएको असार २५ मा बारेकोट ४ सार्कीटोलमा गएको पहिरोमा परि ११ जनाको ज्यान गएको छ भने एक जना अझै बेपत्ता छन् । त्यस्तै बारेकोट ६ धुमाखोलाले बगाउँदा बेपत्ता दुई जना पनि अझै फेला पर्न सकेका छैनन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया