विदेशबाट फर्कनेलाई सम्मान र काम

 साउन ६, २०७७ मंगलबार ११:५०:९ | सन्जिता देवकोटा

काठमाण्डौ – कोरोना महामारी सुरु भएपछि विदेशबाट घर फर्कने परदेशीको शान र मान भुक्तमान र अपमानमा बदलिएको छ ।एकातिर परदेशमा रोजगारी गुमाउनु परेकाले सकस, अर्कोतिर गाउँघर फर्किएपछि कोरोना ल्यायो भन्ने अपजस ।

पहिले परदेशबाट फर्कंदा के ल्यायो भन्दै वरपर झुम्मिने आफन्त र छिमेकी अहिले विदेशबाट कोही आयो भन्ने सुन्नासाथ कोरोना ल्यायो भन्दै परपर तर्कन्छन् । ज्यानलाई ठिक छ, हातमा कोरोना नेगेटिभ भएको रिपोर्ट पनि छ । तर समाजले सजिलै पत्याउँदैन । विदेशमा काम गुमेर घर फर्किएकाहरुलाई अब के गर्ने र पेट कसरी पाल्ने भन्ने चिन्ता पनि छ । 

उनीहरुको चिन्ता हटाउन पालिकाहरुले नीति तथा कार्यक्रम तय गरेका छन् । विभिन्न पालिकाहरुले बजेटमा पनि रोजगारीलाई प्राथमिकतामा राखेका छन् भने विदेशबाट फर्कनलेलाई भइरहेका विभेद अन्त्य गर्न योजना अघि सरेका छन् । 

विभेद अन्त्य गर्दै स्वरोजगार बनाउने अभियानमा छौँ

कविता ढुङ्गाना
उपाध्यक्ष, नगरपालिका महासंघ 

विदेशबाट घर फर्किएकालाई समाजमा पुनःस्थापना गर्नु अहिलेको ठूलो चुनौतीको रुपमा खडा भएको छ । अहिले विदेशबाट फर्कनेलाई सामाजिक, आर्थिक र मनोसामाजिक रुपमा पनि पुनःस्थापना गर्नु पर्नेछ । त्यसका लागि नीति, नियम र कानुनहरु बनेका छन् । स्थानीय सरकार सञ्चालन ऐनले पनि विदेशबाट फर्किएकाको पुनः स्थापनाको व्यवस्था गरेको छ । 

यो अवस्थामा फर्किएर आउनेको सीप, आर्जन अनुभवलाई राष्ट्रिय उत्पादनमा जोड्न हामीले काम गरिरहेका छौं । उहाँहरुलाई स्वरोजगारमुलक, उत्पादनमुलक काममा जोड्न आवश्यक छ । 

अहिले गाउँ समाजमा उहाँलाईलाई भेदभाव नहोस् भनेर क्वरेण्टीनमा राखेर कोरोना नेगेटिभ रिपोर्ट भएपछि मात्रै घरमा पठाउने गरेका छौं । 

१४ दिनदेखि २१ दिनसम्म क्वरेण्टीनमा राख्ने गरेका छौं । त्यसपछि उहाँहरु पूर्ण रुपमा ठिक हुनुहुन्छ भन्ने भएपछि मात्रै पठाउने गरेका छौं । तर पनि हेलाँहोचो भएको छ । अझ महिलाहरुको स्थिति सम्वेदनशिल छ । उहाँहरुलाई समाजमा पुनःस्थापना गर्न अझ जटिल देखिएको छ । त्यसकारण पनि वैदेशिक रोजगारीबाट फर्कनेलाई समाजमा हेर्ने दृष्टिकोणमा नै परिवर्तन गर्न आवश्यक छ । 

अहिले गाउँ समाजमा उहाँलाईलाई भेदभाव नहोस् भनेर क्वरेण्टीनमा राखेर कोरोना नेगेटिभ रिपोर्ट भएपछि मात्रै घरमा पठाउने गरेका छौं । 

स्थानीय सरकार नै लागि परेर मानिसको मनस्थिति फेर्न जरुरी छ । विदेशबाट आउनेले कोरोना ल्याउँछन् अथवा उनीहरु नराम्रो काम गरेर आएका हुन् भन्ने भ्रम चिर्न हामी खटिएका छौं । 

सीप क्षमता प्रयोग गरेर आउनुभएको छ भनेर बुझाउन सक्नुपर्छ । सकारात्मक धारणाको विकास गराउनका लागि जनचेतनामुलक कार्यक्रम भइरहेका छन् । त्यसका लागि जनप्रतिनिधि आफैं पनि फिल्डमा खटिनुभएको छ । 

साथै, अब उहाँहरुलाई पालिकास्तरमै रोजगारी दिनका लागि पनि सबै पालिका र नगरपालिकाले नीति, कार्यक्रम र बजेटको व्यवस्थापन गरेका छौं । 

पहिलो चरणमा तथ्याँक संकलन गरिसकेका छौं । उहाँहरुले के सीप सिकेर आउनुभएको छ त्यो सङ्कलन गर्नुपर्ने हुन्छ । त्यसपछि कृषि, पशुपालन र पर्यटन क्षेत्रमा लगानी गराउने र त्यसमा लगानी वातावरण हामी बनाउँछौं ।
यहाँको श्रम बजार र कामप्रति आकर्षण गर्नुपर्छ । विदेशमा जस्तो पनि काम गर्ने यहाँ चाहिँ नगर्ने भन्न हुँदैन । विदेशबाट फर्कनेहरुले पनि यो कुरा बुझ्न जरुरी छ ।

समाजको मनोविज्ञान परिवर्तन गर्न आवश्यक

होम नारायण श्रेष्ठ 
अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासंघ 

अहिले विदेशबाट फर्किएको भन्दैमा अर्कै प्राणी जस्तो व्यवहार गर्न पर्दैन । किनभने एउटा त कुनै कुनै देश यस्ता छन्, जो नेपालभन्दा सुरक्षित छन् । तर ती देशबाट आउने बित्तिकै कोरोना ल्याउने भनेर डराउने कुरा अति छ । अर्को कुरा हामी सुरक्षित तरिकाले नेपाल आएको हो, किन छुट्टै बस्नुपर्यो भनेर आउनेहरूमा पनि अर्को अति छ । यो दुईवटै कुरालाई हामीले मिलाउनु पर्छ ।

मापदण्डअनुसार स्वास्थ्य परीक्षण गरेर समाजमा आइसकेपछि त्यसलाई सहज बनाउने वातावरण बनाउनुपर्छ ।

हामी सुरक्षित नै बसेका हुन्छौं । तर एक ठाउँबाट अर्को ठाउँमा गइसकेपछि आफ्नै सुरक्षाको लागि र आफ्ना मान्छेको सुरक्षाको लागि पनि कम्तीमा १४ दिन क्वरेण्टीनमा बस्नको लागि सहज ढंगले उहाँहरुले पनि स्वीकार्नुपर्छ । हरेक मान्छेले कोरोना जानी जानी बोकेर आएको हुँदैन ।

मापदण्डअनुसार स्वास्थ्य परीक्षण गरेर समाजमा आइसकेपछि त्यसलाई सहज बनाउने वातावरण बनाउनुपर्छ । हामीले भनेर भन्दा पनि मनोविज्ञानको कुरा त्यति सजिलो त भइरहेको छैन ।

रात दिन अहोरात्र खटेर वडामा भएका जनप्रतिनिधिहरुले, अरु कर्मचारीहरु तथा सचेत युवा साथीहरुले त्यसलाई सहजीकरण गर्न सहयोग गरिरहनुभएको छ । परिणाम शतप्रतिशत सकारात्मक त आएको छैन तर त्यस्तो धेरै भयावह र डरलाग्दो पनि छैन ।

यो कारबाहीको भन्दा विशेष गरेर मनोविज्ञानको विषय हो । त्यसकारण हामीले मनोविज्ञानको हिसाबले नै यसको समाधान गर्नुपर्छ । विदेशमा सुरक्षित बसेर पनि नेपालमा एअरपोर्टमा उत्रिसकेपछि हाम्रो नेपालमा अर्कोले गरेको काम राम्रो भए पनि नराम्रो भए पनि खण्डन गर्नेहरु धेरै छन् ।

विदेशबाट ल्याएन भने पनि किन ल्याएन, किन आउन दिएन भन्नेहरु पनि यही समाजमा छन् । सरकारले प्रोटोकल कायम गरेर स्वास्थ्यकर्मीहरुले अब त सुरक्षित भयौं है भनेर घर फिर्ता पठाइसकेपछि पनि त्यसमा कोरोना छ है भनेर विभेद गर्नु भनेको मनोवैज्ञानिक समस्या नै हो ।

यो हाम्रो हरेक कुराको विरुद्ध उभिनुपर्ने मनस्थितिको उपज हो । त्यसैले यो सांस्कृतिक कुरा हो, मनोवैज्ञानिक कुरा हो । त्यसैले कारबाही गर्ने भन्दा पनि मनोविज्ञान परिवर्तनतर्फ ध्यान गर्नुपर्छ । अवस्था त्यस्तै भयो भने कारबाही पनि गर्न सकिएला तर मूलतः सुरुमा हामीले हाम्रो धारणा परिवर्तन गराउनको निम्ति पहलकदमी नै महत्वपूर्ण कुरा हो ।

अहिले जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायत वडावडामै गएर समुदायमा र विदेशबाट फर्किएकाहरुलाई पनि यो स्वास्थ्य मापदण्डका कुराहरु कार्यान्वयन गराउनका लागि बुझाइरहनुभएको छ । पालिकाहरुले सञ्चारमाध्यमबाट, गाउँसभा लगायतका बैठक, भर्चुअल बैठक, अरुखाले बैठक तथा सामान्य भेटघाट, औपचारिक भन्दा पनि अनौपचारिक रुपमा जनचेतना गराउने काम भइरहेको छ ।

सुलभ ब्याजदरको ऋणको व्यवस्था छ, अनुदानका कुरा छन्, सीपमूलक तालिमका कुरा छन्, उद्योगधन्दा स्थापनाको लागि प्रोत्साहनका कुरा छन् । जसरी संविधान आफंै चल्दैन, त्यसलाई चलाउनको लागि हामी पात्रहरूले त्यसलाई स्थापित गराउनुपर्छ, चलाउनुपर्छ ।

अहिले प्रदेश सरकारदेखि स्थानीय सरकारको बजेटले स्रोत विकासको लागि प्रशस्त ठाउँ दिएको छ । अब त्यो बजेट आफैं गएर विदेशबाट आउने मान्छेलाई टपक्क टिपेर लगेर व्यवसाय गर्दैनन् ।

विदेशबाट आउने साथीहरुले, आफ्नो आसपासमा के छ, माटो छ कि, जडिबुटी छ कि अथवा अरु कस्तो वातावरण वा स्रोत छ ? जे छ त्यसै वातावरण अनुरुप व्यवसायिक योजना बनाउने संकल्प गर्नुपर्यो । 

अनि सरकारले व्यवसाय प्रवद्र्धन तथा सीप विकासको लागि खुट्टा नकमाइकन लगानी गर्नुपर्यो । त्यसको प्रयोग गरेर गरी खान स्वयंले नै आफैंले काम गर्नुपर्छ भन्ने भावना बनाउनुपर्यो । त्यसकारण अहिले आफ्नै ठाउँमा काम गर्नको लागि पालिका, प्रदेश र संघीय सरकारका अलग्गै बजेटहरु छन् ।

सुलभ ब्याजदरको ऋणको व्यवस्था छ, अनुदानका कुरा छन्, सीपमूलक तालिमका कुरा छन्, उद्योगधन्दा स्थापनाको लागि प्रोत्साहनका कुरा छन् । जसरी संविधान आफंै चल्दैन, त्यसलाई चलाउनको लागि हामी पात्रहरूले त्यसलाई स्थापित गराउनुपर्छ, चलाउनुपर्छ ।

यस्तैगरी त्यो बजेट कार्यान्वयन गर्नको निम्ति विदेशबाट आउनुभएका तथा यतै बेरोजगार भएर बस्नुभएकाहरु नै अग्रसर हुनुपर्छ । सकारले हामीलाई केही पनि दिएन भनेर चुपचाप बस्नेहरु बेरोजगारै भएर रहनुपर्ने स्थिति हुन्छ ।

अन्तिम अपडेट: साउन ७, २०७७

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया