१८ वर्षे नेपाली युवकलार्ई ‘सम्मानार्थ’ नागरिकता

 साउन ६, २०७७ मंगलबार १२:४२:७ | किरण लोहनी
unn.prixa.net

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले यहाँका एक १८ वर्षका नेपाली युवकलाई सम्मानार्थ नागरिकता दिएको छ । गोरखा नगरपालिका वडा नम्वर १४ स्थायी ठेगाना भएका अमर पन्थलाई प्रशासनले सम्मानार्थ नागरिकता दिइएको हो ।

प्रशासन कार्यालयले साउन ५ गते जारी गरेको ४४–०१–७७–०००४८ नम्बरको नागरिकताको किसिममा सम्मानार्थ उल्लेख छ । प्रमाणपत्र जारी गर्ने अधिकारीको महलमा प्रशासकीय अधिकृत गणेशप्रसाद भट्टराईको हस्ताक्षर रहेको छ । 

तर पन्थले पेश गरेका कागजातमा भने वंशजको आधारमा नागरिकता माग गरिएको छ । ‘मेरो छोरो नेपालमै जन्मेको हो, अहिले चितवनमा पढ्छ’ अमरका बुबा लक्ष्मण पन्थले भन्नुभयो, ‘यो त विदेशीहरुलाई दिने किसिमको नागरिकता हो भन्ने सुनेको थिएँ, पक्कै भुलवश यसो भएको हुनुपर्छ, यसबारे बुझ्न बाँकी नै छ ।’

पेश गरिएको कागजातका आधारमा प्रशासनले नागरिकता छापेको र त्रुटी भएको छ कि छैन भने हेर्न समेत दिएको लक्ष्मणले बताउनुभयो । ‘पन्थ हुनुपर्ने ठाऊँमा पन्त भएको रहेछ, अन्त गल्ती भएको ठम्याउन सकिएन, पछि लेमिनेशन गर्ने क्रममा पो सम्मानार्थ लेखिएको थाहा भयो, त्यो बेलासम्ममा प्रशासन बन्द भैसकेको थियो’ उहाँले भन्नुभयो । 

नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाल सरकारले वंशज, जन्मका आधारमा, अंगीकृत र सम्मानार्थ गरी ४ किसिमका नागरिकता प्रदान गर्छ । तर जन्मका आधारमा नागरिकता दिने प्रावधान भने हाल प्रचलनमा रहेको छैन ।

सम्मानार्थ नागरिकता भने इतिहास, कला, संस्कृति लगायतको माध्यमबाट नेपालको प्रतिष्ठा उच्च राख्न योगदान गर्ने विदेशी नागरिकलाई दिइन्छ, जुन नागरिकता सम्मानको लागि मात्रै दिने गरिन्छ । प्रशासन कार्यालय वा गृह मन्त्रालय नभै नेपाल सरकारले निर्णय गरेपछि मात्रै यस प्रकारको नागरिकता जारी गर्न सकिने प्रावधान रहेको छ । नेपाल सरकारले पहिलो सगरमाथा आरोहीमध्येका एक एड्मण्ड हिलारी, ‘पुतली बाजे’ नामले चिनिने एक विदेशी लगायत सीमित व्यक्तिलाई मात्रै सम्मानार्थ नागरिकता दिएको छ । 

कसरी भयो यस्तो त्रुटी ?

प्रशासन कार्यालयबाट नयाँ नागरिकता लिनका लागि शुरुमा सेवाग्राहीले वडा कार्यालयको सिफारिस लगायतका कागजपत्र सहितको निवेदन पेश गर्छन् । त्यसपछि कर्मचारीहरुले सनाखत गरेर नागरिकता जारी गर्ने अधिकारी समक्ष पेश गर्छन् । उनले सदर गरेपछि कम्प्युटरमा विवरण लेखेर प्रिन्ट गरिन्छ ।

यसरी प्रिन्ट गरिएको नागरिकतामा विवरण ठीक छ कि छैन भनेर सम्बन्धित पक्षलाई पनि रुजु गर्न दिने गरिएको प्रशासन कार्यालयका कर्मचारीहरु बताउँछन् । यहाँ भने प्राविधिक त्रुटीका कारण वंशजको आधारमा नागरिकता पाउनु पर्नेलाई सम्मानार्थ नागरिकता दिइएको छ ।

‘गृह मन्त्रालयको सफ्टवेयरमा नागरिकताको किसिम भन्नेमा वंशज, जन्म, अंगीकृत र सम्मानार्थ गरि ४ वटा विकल्प दिइएको छ, सेलेक्ट गर्दा त्रुटी भएको हो’ प्रशासनमा लामो अनुभव रहेका गृह मन्त्रालयका एक उपसचिव भन्छन्, ‘जब सम्मानार्थ नागरिकता नेपाल सरकारले निणय गरेर दिइन्छ भने प्रशासन कार्यालयले प्रयोग गर्ने सफ्टवेयरमा किन त्यो अप्सन राखिरहनु ?’ 

जिल्ला प्रशासन कार्यालय गोरखाले प्राविधिक त्रुटी सच्याएर वंशजका आधारमा नयाँ नागरिकता जारी गरिने जनाएको छ ।   


 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया