कोरोनाले घटायो किनमेल : ‘उपभोक्ताले खर्च घटाऔँ, व्यवसायी नआत्तिऔं’

 साउन ७, २०७७ बुधबार ६:१३:६ | दीपा तिमल्सिना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

हरेक महिना केही न केही लुगा, कपडा किन्ने बानी भएका नैकापका रमेश महर्जन हिजोआज एउटा रुमाल किन्न पनि दश पटक सोच्नुहुन्छ ।  ‘के गर्ने आम्दानी घट्यो, कमाइ घटेपछि खर्च पनि त कटौती गर्नु पर्यो नि’, महर्जनले भन्नुभयो ।  एक्लै बस्ने भएकाले उहाँलाई यो सङ्कटमा परिवार पाल्ने चिन्ता भने छैन । तर घरभाडा, बत्ती, पानी अनि रासन भने जुटाउनै पर्छ ।​

लकडाउनअघिको जति कमाइ नभएकाले उहाँले अब दुई वर्षसम्म नै नयाँ कपडा नकिन्ने योजना बनाउनुभएको छ । विद्यार्थीलाई चित्र बनाउन सिकाउने उहाँ परिस्थितिसँग कसरी तालमेल मिलाउनुपर्छ भनेर लकडाउनले सिकाएको बताउनुहुन्छ ।
समय र परिस्थितिले खर्च गर्ने होइन बचत गर्नुपर्ने रहेछ भनेर महर्जनलाई सिकाएको छ । दाङका सुर्दशन अधिकारीले पनि खर्च कटौती गर्न थाल्नुभएको छ । काठमाण्डौमा पढ्ने अधिकारी लकडाउनका कारण गाउँ जान पाउनु भएन । अहिले  पढाइ छैन । कोठामा नै स्वअध्ययन गरेर उहाँको दैनिकी बितिरहेको छ ।

पहिला पहिला खाजामा मम, चाउमिन मन पराउने उहाँ अहिले कोठामा नै आफ्नो लागि खाजा तयार गर्नु हुन्छ । अधिकारी भन्नुहुन्छ, ‘पहिला पहिला खाजाका लागि के–के न गर्नुपर्छ जस्तो लाग्थ्यो, अहिले बानी फेरिएको छ । कहिलेकाहीँ बिहान अलि बढी चामल थपेर खाना बनाउँछु, खाजामा त्यसैलाई भुटभाट पार्छु, कहिले गाउँबाट ल्याएको मकै भटमास भुट्छु । चाह्यो भने खर्च घटाउन सजिलै सकिने रहेछ ।’

खर्च कटौतीसँगै सुनसान बन्दै बजार

सिजन अनुसारका कपडा र विभिन्न सामान खरिद गर्नेहरु अहिले सचेत भएका छन् । खर्च कम गर्न थालेका छन् । यतिबेला धेरैजसो त घरबाट बाहिर नै नगएकाले पनि अनावश्यक खर्च घटेको छ । ग्राहक नगएपछि ठूला–ठूला नाम चलेका धेरै मल यतिबेला बन्द छन् । खुलेकामा पनि पाँच प्रतिशत पनि कारोबार छैन । लत्ताकपडासँगै सुनचाँदीको कारोबारसमेत शून्य छ । जोखिम मोलेर पसल खोलेका व्यापारी कारोबार नहुँदा निराश बन्न थालेका छन् ।

काठमाण्डौमा दुई वर्षदेखि घरायसी सामानको मार्केटिङ गर्दै आएकी इन्दिरा श्रेष्ठ यतिबेला सामान बिकाउन नै गाह्रो भएको बताउनुहुन्छ । ‘चिनेजानेको र आफ्नो सम्पर्कमा भएकाले मात्रै केही सामान किन्छन्’, श्रेष्ठ भन्नुहुन्छ ।
काठमाण्डौमा झण्डै १५ वर्षदेखि कपडा पसल गर्दै आएका रञ्जित साह पनि अहिले कारोबार ठप्प भएको बताउनुहुन्छ ।  काठमाण्डौ उपत्यकाका नाम चलेका मलमा साहको पसल छ । तर कारोबार पाँच प्रतिशत पनि नहुँदा कर्मचारीलाई तलब खुवाउनै धौ-धौ परेको उहाँको भनाइ छ ।

खर्च कटौती आवश्यक 

कोरोनाले व्यक्ति र संस्थालाई मात्रै नभएर विश्वलाई नै असर गरेकाले अनावश्यक खर्च कटौती गर्न अर्थविद्को सुझाव छ । अर्थविद् डाक्टर चन्द्रमणि अधिकारी अहिले सङ्कटको बेला भएकाले बचत गर्न सबैले सिक्नुपर्ने बताउनुहुन्छ ।

यतिबेला कामसँगै पढाइ पनि ठप्प रहेकाले धेरैजसोलाई घरमा बस्नुपर्ने बाध्यता छ । यस्तै बेला आफूले सञ्चित गरेर राखेको केही रकम नै खर्च गर्नुपर्ने हुन्छ । पुर्याएर व्यवहार टार्नु पर्ने भएकाले खर्च गर्नु पहिले एक पटक राम्ररी विचार गर्न अर्थविद् डाक्टर चन्द्रमणि  अधिकारीको सुझाव छ । 

तत्काल नै अर्को काम पाउने वा जनजीवन सामान्य हुने अवस्था नरहेकाले मिठो खाने, रमाइलो गर्ने, फजुल खर्च गर्ने काममा ध्यान नदिन उहाँको सुझाव छ । ‘अनावश्यक काममा खर्च नगरौँ, सञ्चिति बढाऔँ’, उहाँ भन्नुहुन्छ ।

सङ्कटको समयमा मानसिक तनाव धेरै हुने सम्भावना भएकाले तनावमुक्त हुन सिक्नुपर्छ । खानपानमा ध्यान नदिए गम्भीर खालका रोग पनि लाग्न सक्छ । यसतर्फ पनि विचार गर्नुपर्छ । रोग लागेपछि खर्च पनि धेरै हुने र शारीरिकसँगै मानसिक तनाव बढ्ने हुँदा सचेत हुनुपर्छ ।

अर्थविद् अधिकारी भन्नुहुन्छ, ‘यतिबेला घर भाडा र बैंकको किस्ता तिर्नु चुनौतीपूर्ण भएकाले आफूलाई अप्ठ्यारो परेकोबारे सम्बन्धित व्यक्ति वा संस्थालाई भन्नुपर्छ । तनाव नलिइकन पनि समस्याको समाधान गर्न सकिन्छ ।’

भान्साको खर्च घटाउन सके उत्तम

बिहान बेलुका खानासँगै चिया, मसला, तरकारी, नुनतेल सबै अपरिहार्य नै भएकाले भान्साको खर्च कसरी कम गर्ने चिन्ता धेरैलाई छ । भान्साको खर्च कसरी घटाउन सकिन्छ त ? जनस्वास्थ्यविद् डाक्टर अरुणा उप्रेती भन्नुहुन्छ, ‘सङ्कटको यस्तो बेला आफ्ना आनीबानीसँगै खानपानको सन्तुलन मिलाउन सके पनि भान्साको खर्च कटौती गर्न सकिन्छ ।’ 

भान्सामा प्रयोग हुने धेरैजसो सामग्री उपयोग नहुँदै त्यसै खेर जाने हुन्छ । पिठो, दाल, तेल, मरमसला र सागसब्जीजस्ता नभइ नहुने सामग्री अलि समय भएपछि डल्लो पर्ने, कुहिने र खान नमिल्ने हुन्छ । 
यस्ता सामग्रीको भण्डारण राम्रोसँग गर्न नसक्दा र लामो समयसम्म राख्दा यी खानेकुरा त्यसै खेर जाने हुँदा यस विषयमा सचेत हुनुपर्ने उहाँको भनाइ छ  । 

आफूलाई आवश्यक पर्ने खानेकुरा ठिक्क अड्कलेर किन्ने र त्यहीअनुसार उपभोग गर्ने गर्नुपर्छ । खेर जाने खाद्य वस्तु पहिला उपभोग गर्नुपर्छ भने आवश्यकभन्दा धेरै पकाउने, बासी राखेर मिल्काउने गर्नु हुँदैन ।
अनावश्यक धेरै नकिन्ने, ठिक्क पकाउने र घरबाहिरको खानेकुरामा जोड नदिने हो भने भान्साको खर्च पनि कम गर्न सकिन्छ ।

घरबाहिरको खाजा, खानामा पैसा पनि धेरै खर्च हुने र स्वास्थ्यलाई पनि फाइदा नगर्ने हुँदा सकेसम्म घरमै ताजा खानेकुरा बनाएर खान डाक्टर उप्रेतीको सुझाव छ । ‘यसले सम्भावित रोग लाग्ने खतरा कम हुन्छ, पैसासँगै स्वास्थ्य पनि राम्रो हुन्छ’, डाक्टर उप्रेतीले भन्नुभयो । 
यस्तै भान्सासँगै बिजुली, पानीको खर्च पनि कटौती गर्न सकिन्छ । बत्ती बालेपछि निभाउने, बिजुली धेरै तान्ने उपकरण आवश्यकताअनुसार मात्रै चलाउने र आवश्यक नपर्दा धारो बन्द गर्ने बानीले यसमा हुने खर्च पनि कम गर्न सकिन्छ ।

सरकार पनि जिम्मेवार बन्नुपर्छ

महामारीको यो बेला सरकारले नागरिकको स्तरअनुसार वर्गीकरण गरी त्यही अनुसारको योजना र कार्यक्रम ल्याउन अर्थविद्को सुझाव छ । निम्न, मध्यम तथा काम गर्न सक्ने र काम गर्न नसक्नेको समूह बनाइ सरकारले कार्यक्रम बनाउनुपर्छ । 

कोरोनाका कारण रोजगारी गुमेकालाई कसरी र कुन काम लगाउने, त्यसबाट कमाइ कति हुने भन्नेजस्ता स्पष्ट कार्यक्रम नै अहिलेको खाँचो भएको अर्थविद्को भनाइ छ । नचाहिने परियोजना रोक्दै त्यो परियोजनाको रकम मितव्ययी ढङ्गले नागरिकको हितका लागि खर्चिनु पर्ने अर्थविद् डाक्टर चन्द्रमणि अधिकारीको सुझाव छ ।

बिलासी सामान खरिद नगर्ने, पदाधिकारीले लिने अनावश्यक सेवा सुविधा कटौती गर्ने र भोट तथा राजनीतिका हिसाबले राहत वितरण नगरे थोरै साधन स्रोतबाट धेरैलाई सेवा दिन सकिन्छ ।
अहिलेको अवस्थामा सरकारले तल्लो तहसम्म पुग्ने गरी राहत र कार्यक्रम ल्याउनुपर्छ भने नागरिकले पनि आफ्नो स्तरअनुसार मात्रै राहत र कार्यक्रममा सहभागी भए यो जटिल परिस्थितिमा जनजीवनलाई सहज बनाउन सकिन्छ ।खर्च कटौतीसँगै बचत गर्ने बानीले भविष्यमा आउन सक्ने सम्भावित जोखिमसँग पनि जुध्न सकिन्छ ।

‘मौद्रिक नीतिले राहत दिएकाले आत्तिनुपर्ने अवस्था छैन’

कोरोनाका कारण अहिले सबैजसो क्षेत्र ठप्प छ । विशेष गरी अर्थतन्त्रमा नराम्रो असर परेको छ । आर्थिक समस्या हुन थालेपछि नागरिकले खर्च कटौती गर्न थालेका छन् । यसले गर्दा व्यापार व्यवसाय थप सङ्कटमा पर्न थालेको छ । 
धेरैजसो व्यवसायी र व्यापारीले अहिले सटर भाडा र कर्मचारीलाई तलब खुवाउन नै नसकेको गुनासो गरिरहेका छन् । अवस्था पनि त्यस्तै छ । यसबीचमा राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले भने व्यापार व्यवसाय गर्नेलाई केही राहत दिएको छ । अति प्रभावित व्यक्ति तथा व्यवसायीलाई सावाँ र ब्याजको किस्ता तिर्ने म्याद एक वर्षसम्म थपिएको छ ।

यस्तै कोरोनाबाट कम प्रभावितले सावाँ र ब्याजको किस्ता तिर्ने म्याद ६ महिना थपिएको छ भने मध्यमस्तरकालाई नौ महिना थपिएको छ । यसले अहिले व्यापार व्यवसाय धरापमा परे पनि फेरि उठ्न सकिन्छ भनेर आशा पलाएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले बताउनुभयो । ‘तत्काल सावाँ ब्याज तिर्न नसकेकाले बिस्तारै तिर्न मिल्ने भएको छ, अहिले नाफाभन्दा पनि चल्ने र चलाउने हिसाबले मात्रै सोच्नुपर्छ’, उहाँले भन्नुभयो ।

अवस्था बिस्तारै सामान्य हुँदै गएपछि फेरि व्यवसायलाई उकास्न सकिने भएकाले अहिले चिन्ता नलिइ धैर्य गर्न उद्योगीको सुझाव छ । 
 

अन्तिम अपडेट: साउन १०, २०७७

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया