कोरोनाको मारमा परदेशी : परदेशमा काम नहुँदा दुःख, घर आउँदा पनि छैन सुख

 साउन ७, २०७७ बुधबार १०:५:२० | सुजता सुनुवार

इलाम – ‘नेपालमा पाइला टेक्दा त खुशीले गदगद भएँ, तर काठमाण्डौबाट भक्तपुर हुँदै पहाडतिर उक्लन सुरु गरेपछि भने मेरो मन रोएको रोएै भयो,’ इलामको देउमाई नगरपालिका– ४ की सम्झना लिम्बु महामारीका बेलामा घर फर्कंदाको आफ्नो यात्रा सुनाउनुहुन्छ । गएको असार १६ गते उहाँ कतारबाट घर फर्कनुभएको हो । 

कोरोना महामारीका बेला परदेशमा त दुःख भयो नै । तर स्वदेश आइपुग्दा पनि उस्तै दुःख र झञ्झट सहन पर्‍यो । विमानस्थलदेखि घरसम्म पुग्दा कैदीकोझैं यात्रा भयो । 

भन्नुहुन्छ, ‘भोकभोकै यात्रा गर्नुको कष्ट त थियो नै, त्यति मात्र हो र चढेको गाडी झण्डै दुर्घटनामा पर्‍यो, त्यो बेला त बाँचिन्छ जस्तो नै लागेको थिएन ।’

कतारबाट जहाज चढेपछि उहाँलाई लागेको थियो – अब कष्ट सकियो । 

तर जब स्वदेश आइपुग्नुभयो, तब सुरु भयो सोच्दै नसोचेका कष्टहरु । जहाजबाट ओर्लिएपछि भक्तपुरसम्म भाडा लागेन । तर  भक्तपुरबाट भने  झापासम्मको भाडा १८ सय रुपैयाँमा लाग्यो । त्यो पनि भनिएको जस्तो भौतिक दूरी कायम थिएन । बस खचाखच थियो । 

झापाबाट इलामसम्म पुग्न ६ हजार रुपैयाँ भाडा तिर्नु पर्‍यो । पहिले भने पाँच सय भाडा तिरेपछि इलाम पुगिन्थ्यो । इलामबाट नेपालटारसम्म अघिपछि एक सय रुपैयाँ तिर्दा आउन पाइन्थ्यो । तर अहिले चार हजार रुपैयाँ तिर्नु पर्‍यो ।  काठमाण्डौदेखि घरसम्म पुग्न पटक पटक ठगिन पर्‍यो भन्नुहुन्छ, सम्झना । 

भाडा बढी लिएको विषयमा उहाँले प्रहरीदेखि जनप्रतिनिधिसँग पनि कुराकानी गर्नुभयो । ‘प्रहरीले आफैं मिलाउन भने, जनप्रतिनिधिले महिला मान्छे यति लामो बाटो यात्रा नगर्नु उतै बस्नु भने, बाटोमा कहाँ बस्नु, जति भने पनि तिरेर आउन बाध्य भइयो,’ सम्झना भन्नुहुन्छ ।

भाडा बढी लिनु, अनि जनप्रतिनिधिले नै गैरजिम्मेवार जवाफ दिनुले उहाँको मन झन कुँडियो । तर बाध्यता महामारीको बेलामा परदेशीलाई बास कस्ले दिने ? बल्लतल्ल आफ्नो पालिकाको क्वरेण्टीनमा पुग्नुभयो । र १४ दिन क्वरेण्टीनमा बस्नुभयो । स्वाब परीक्षण गर्दा रिजल्ट नेगेटिभ आयो । उहाँ अहिले होम क्वरेण्टीनमा हुनुहुन्छ ।

सम्झना २०७१ सालमा कतार पुग्नुभएको थियो । बीएड पास गर्नुभएकी सम्झनाले आफ्नै देशमा काम नखोज्नुभएको हैन । तर दश ठाउँ भौंतारिंदासम्म पनि हात लाग्यो शून्य भने झैं भयो  । अन्तिम विकल्प वैदेशिक रोजगारी हुन पुग्यो । 

परदेशमा पनि राम्रो नै थियो । काम र कमाइ चल्दै थियो । तर एकाएक कोरोना महामारी सुरु भयो । फेसिलिटी म्यानेजमेन्ट कम्पनीमा एक जनालाई कोरोना पोजेटिभ देखियो । त्यसपछि भने काम ठप्प भयो । त्यसैले भिसा सकिनुभन्दा एक महिनाअघि नै उहाँले कम्पनीमा राजीनामा दिनु पर्‍यो । 

‘विदेशमा त पैसा हुँदा खान पाइन्थ्यो, यहाँ त विदेशबाट आएको भनेपछि कहाँ खान पाउनु, पैसा पनि नचल्दो रहेछ,’ उहाँले सुनाउनुभयो ।  जसोतसो घर फर्कन पाइयो । क्वरेण्टीनको बसाइ सकियो । कोरोना रिपोर्ट पनि नेगेटिभ नै आयो । बल्ल घरको बसाइ अलिक सहज भएको छ । 

कम्पनीमा काम बन्द भयो । भिसा सकियो । तर नेपाल आउने जहाज उडेनन् । घर फर्कने दिन कुर्दाकुर्दै सम्झनाको तीन महिना बित्यो । कम्पनीले बस्न दिएको थियो । तर खानाको व्यवस्था आफैं गर्नु पथ्र्यो ।

साथमा पैसा भए किनेर खान पाइन्थ्यो । तर नेपालमा त त्यो पनि पाइएन भन्नुहुन्छ सम्झना । 

‘विदेशमा त पैसा हुँदा खान पाइन्थ्यो, यहाँ त विदेशबाट आएको भनेपछि कहाँ खान पाउनु, पैसा पनि नचल्दो रहेछ,’ उहाँले सुनाउनुभयो ।  जसोतसो घर फर्कन पाइयो । क्वरेण्टीनको बसाइ सकियो । कोरोना रिपोर्ट पनि नेगेटिभ नै आयो । बल्ल घरको बसाइ अलिक सहज भएको छ । 

तर गाउँकाले भने बाहिर निस्कन नदिनु भन्ने आदेश दिएका छन् । ‘घरमा बस्न पाउँदा ठिक छ तर मलाई बाहिर निस्कन नदिनु, कोठामै थुनिदिनु भन्ने आदेश रहेछ गाउँका मानिसको,’ सम्झना भन्नुहुन्छ, ‘परदेशीलाई दुःखमा जता पनि दुःख र अपमान रहेछ, सुखमा मात्रै रहेछ आफ्नो हुने त ।’

परदेशको भोगाइपछि अब भने सम्झनाको स्वदेशमै केही गर्ने योजना छ । विदेशमा उहाँ महिनाको ५५ हजार रुपैयाँसम्म कमाउनुहुन्थ्यो । तर अब भने केही वर्ष सरकारी जागिरमा भिड्ने र केही नभएमा गाउँमै आधुनिक तरकारी खेती गर्ने उहाँको योजना छ । 

यात्रा गर्नै पिरलो 

इलाम नगरपालिका –३ का वीरमान राईलाई कुवेतबाट फर्कंदा यस पटकको यात्रा साह्रै कष्टकर लाग्यो । गएको असार १६ गते त्रिभुवन विमानस्थलमा ओर्लिएपछि साथमा भएको पैसा साट्नु थियो ।  तर विमानस्थलमा साट्नै मानेनन्। 

बल्लबल्ल भक्तपुरको सल्लाघारीमा रकम त साटियो, तर त्यो पैसा चलेन । विदेशबाट आएको भनेपछि कसैले केही दिएनन् । भोकभोकै यात्रा गर्नु पर्‍यो । काठमाण्डौबाट झापाको मेची क्पाम्पसमा आएपछि मात्रै उहाँले खाजा खान पाउनुभयो । 

‘त्यति लामो यात्रा भोकभोकै कसरी काटियो भनेर म सम्झन पनि सक्दिनँ, मेची क्याम्पसमा खाजा खान पाएपछि भने बल्ल स्वास आयो,’ वीरमानले भन्नुभयो । 

अहिले उहाँ इलामको जिल्ला सम्वनय समिति इलाममा बनाइएको क्वरेण्टीनमा हुनुहुन्छ । तीन पटक भइसक्यो स्वाब संकलन गरी परीक्षण गरिएको । सँगै परीक्षण गरिएका साथीहरुको पोजेटिभ रिजल्ट आयो । त्यसैले उहाँ आफ्नो रिपोर्ट  नेगेटिभ आए पनि घर जान भने पाउनु नै भएको छैन । 

२०७३ सालमा वीरमान कुवेत पुग्नुभएको हो । कुवेतको सुन्वो कम्पनीमा उहाँले दुई वर्ष काम गर्नुभयो । विस्तारै कम्पनीले तलब दिएन । कम्पनी टुट्यो । त्यसपछि भने कम्पनीमा काम गर्ने आठ सय जनामा चार सय जना आ–आफ्ना घर फर्के । विरमान पनि फर्कनुभयो । 

विदेशमा काम गर्न गाह्रो भए पनि काम भेटेको समयमा महिनामा ६० हजारसम्म कमाई हुन्थ्यो । अझै केही वर्ष बसेर अलिअलि कमाएर फर्कने उहाँको योजना थियो । तर सोचे जस्तो भएन । 

कोरोना महामारीका कारण नेपाल आउनुपर्‍यो । वीरमानको भने महामारी सकिएपछि फेरि विदेश नै जाने योजना छ । भन्नुहुन्छ, ‘नेपालमा बसेर के गर्ने र ? अब काम नै पाईंदैन फेरि जान्छु ।’


कोरोनाको महामारीले सबै योजना भताभुङ्ग

​इलामकै फाकफोकथुम गाउँपालिका– १ का मदन भण्डारीलाई पनि कोरोना महामारीले ठूलै समस्यामा पारेको छ । कयौं योजना थिए मनमा । भएकामध्ये कुनै एक मात्र पनि पूरा हुन नसक्दा मदनलाई जीवनदेखि विरक्त लाग्न थालेको छ ।

आठ महिनाअघि छुट्टीमा घर आउनु भएका मदन पुनः कतार नै जाने सोचमा हुनुहुन्थ्यो । तर कोरोना भाइरसका कारण लकडाउन भयो ।  कतार फर्कन पाउनुभएन । 

मदनको पहिलो योजना विवाह गर्ने थियो । दोस्रो पुनः कतार नै जाने । तेस्रो परिवारले नदिए नेपालमै बसेर इलेक्ट्रोनिक पसल सुरु गर्ने । तर यी सबै सपना अधुरै छन् उहाँको । 

डिप्लोमासम्मको अध्ययन पूरा गर्नुभएका मदनलाई विदेश जानै पर्ने बाध्यता त थिएन । तर साथीहरुको संगतले पढ्दापढ्दै विदेशिनुभयो । अहिले उहाँलाई लाग्छ पढेको भए हुने रहेछ । २०६६ सालमा कतार जानु भएको हो उहाँ ।

कतारमा उहाँले स्टोर किपरका रुपमा काम गर्नुभयो । सुरुमा उहाँको कमाईको बचत मात्र २२ हजार रुपैयाँ थियो । पछि भने ४० हजार रुपैयाँ पुगेको थियो । कोरोना महामारीका कारण अब भने केही वर्ष विदेश नजाने मदनको सोच छ । 

अन्तिम अपडेट: असोज २२, २०७७

सुजता सुनुवार

सुजता सुनुवार इलामका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया