बाढी र पहिरोको जोखिमका कारण विदेशमा अलपत्र नेपालीको उद्धार उडान पनि स्थगित

 साउन ७, २०७७ बुधबार १५:३२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रतिकूल मौसमका कारण विदेशबाट घर फर्किएकालाई सम्बन्धित पालिकामा पठाउन समस्या भएपछि उद्धार उडान केही समयका लागि स्थगित भएको छ ।

बाढी र पहिरोको कारण बाटो अवरुद्ध हुँदा सम्बन्धित जिल्लामा पठाउन समस्या भएको र बाटोमा पनि जोखिम भएकाले केही समयका लागि उद्धार उडान स्थगित गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो ।

‘लगातारको वर्षाका कारण सडकहरू अवरुद्ध भए, विदेशबाट फर्किएकालाई सम्बन्धित जिल्ला र पालिकामा पुर्‍याउन समस्या भयो,’ सहसचिव लामिछानेले भन्नुभयो, ‘प्रतिकूल मौसमका बेलामा यहाँ झन जोखिम भएकाले केही समयका लागि स्थगित भएको हो, मौसमको अवस्था गरेर फेरि उडानहरु हुनेछन् ।’ मौसममा सुधार आउँदै गएमा र अवरुद्ध सडकहरू सञ्चालनमा आउन थालेपछि फेरि निर्णय गरेर उद्धार उडानहरु गर्ने उहाँले बताउनुभयो ।

हिजोअस्ति स्वदेश आएका केही बाटोमै अलपत्र परेका थिए भने केहीलाई बीच बाटोबाटै काठमाण्डौ फर्काइएको थियो । तर काठमाण्डौमा पनि उनीहरुको व्यवस्थापन गर्न समस्या भएको र राख्ने ठाउँ नहुँदा थप समस्या उत्पन्न भएकोले उडान स्थगित गर्नु परेको सहसचिव लामिछानेले बताउनुभयो ।

यो अवस्थामा विशेष अनुमतिका आधारमा एक दुई उडान भए पनि नियमित भइरहेको उद्धार उडानको प्रक्रिया हुने छैनन् । केही दिनदेखि फेरि नियमित उद्धार उडान हुने र त्यो मौसममा नै भर पर्ने सहसचिव लामिछानेले बताउनुभयो । आज खाडीका देशबाट केही नेपाली फर्किए पनि भोलिदेखि उद्धार उडान हुने छैनन् ।

मंगलबारसम्म ३४ हजार फर्किए

मंगलबारसम्म विभिन्न देशबाट ३४ हजारभन्दा धेरै नेपाली स्वदेश फर्किएका छन् ।

विभिन्न २५ देशबाट ३४ हजार ९२ जना नेपाली स्वदेश फर्किएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । सरकारले कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विभिन्न देशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा उद्धार भइरहेको छ ।

अहिलेसम्म अफगानिस्तानबाट १८ जना, अस्ट्रेलियाबाट ६३४ जना, ओमानबाट ४९२ जना, कतारबाट ३ हजार ९४१ जना, म्यानमारबाट २६ जना, कुवेतबाट ५ हजार ५ सय ४९ जना, जापानबाट ७५६ जना, थाइल्याण्डबाट ३२६ जना र दक्षिण कोरियाबाट ४७६ जना फर्किएको सीसीएमसीले जनाएको छ ।

यस्तै, बंगलदेशबाट ८४१ जना, मलेसियाबाट ४ हजार ७७८ जना, माल्दिभ्सबाट ७०९ जना, श्रीलंकाबाट ५ जना, यूएईबाट ७ हजार ६१७ जना, साउदी अरेबियाबाट ५ हजार ६११ जना, सिंगापुरबाट १४६ जना फर्किएका छन् ।

सीसीएमसीका अनुसार, हङ्कङ्बाट ८९ जना, पाकिस्तानबाट ७२ जना, बहराइनबाट ९८० जना, अमेरिकाबाट ४२३ जना बेलायतबाट २२९ जना, इजरायलबाट १२७ जना, चीनबाट १०५ जना, टर्कीबाट ३४जना र फिलिपिन्सबाट १०८ जना गरी जम्मा ३४ हजार ९२ जना स्वदेश फर्किएका छन् ।

उनीहरुमध्ये प्रदेश १ का ७ हजार १९० जना, प्रदेश २ का ५ हजार ७११ जना, वाग्मती प्रदेशका ९ हजार ४०८ जना, गण्डकी प्रदेशका ४ हजार ३८० जना, प्रदेश पाँचका ५ हजार ७५४ जना, कर्णाली प्रदेशका ७४९ जना र सुदूरपश्चिम प्रदेशका ८५५ जना रहेका छन् ।

विदेशबाट फर्किएका उनीहरुमध्ये २५ हजार ६६० जना सम्बन्धित प्रदेशमा गएका छन् भने ११ सय ४१ जना होटल क्वरेण्टीनमा बसेको र ३६ सय २३ जना होम क्वरेण्टीनमा रहेको सीसीएमसीले जनाएको छ । फर्किएकामध्ये ५६ जना भने अस्पतालमा उपचाररत छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया