भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
इलाम – कोरोना महामारी थिएन भने इलामको माईजोगमाई गाउँपालिका–१ का दीपजलन लिम्बुले यतिबेला भारतमा पसिना बगाउँदै हुनुहुन्थ्यो । तर अहिले उहाँ धान खेतमा व्यस्त हुनुहुन्छ । कोरोना आयो संसारलाई ध्वस्त बनायो । तर दीपजलन लिम्बू भने आफ्नो आफ्नै बाँझो खेत हराभरा बनाउँदै आफ्नै गाउँठाउँमा जीवन सपार्न लागि पर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, ‘वर्षमा मेरो ६ महिना भारतमा नै बित्थ्यो, तर कोरोनाले अब गाउँघरमै रोक्छ जस्तो छ ।’ अहिले भने कोरोना महामारीका कारण भारत जान ठप्प छ । उहाँजस्तै उहाँको वडाबाट मात्र महिनामा ६० जना युवा वर्षमा आधा समय भारतमा कमाई गर्नका लागि जाने गरेका छन् ।
लिम्बू पनि १६ वर्षको उमेर हुँदै पढ्न भनेर भारत प्रवेश गर्नु भएको थियो । तर पछिल्लो समय पढ्न छोडेर उतै काम र कमाइ गर्नुहुन्थ्यो । तर यसपटक भने कोरोनाले उहाँको बाटो फेरिदियो । भारतमा पसिना बगाउँने उहाँले अहिले पाँच रोपनीमा धानखेती सुरु गर्नुभएको छ ।
नेपालका युवा भारतको ग्यान्टोक, सिक्किम, सिलगुडी, चेन्नाई, केरला, मुम्बई, दिल्ली, हाइदराबाद लगायतका ठाउँमा काम गर्न जान्थे । तर कोरोनाले अहिले यी सबै ठाउँ युवाका लागि आफ्नै गाउँ भएको छ । धान रोप्ने समयमा समेत कमाई हुन्छ भनेर भारत जाने धेरै युवाहरु यसपटक भने नेपालमै बसेर खेती विस्तारमा लागेका छन् ।
माईजोगमाई–५ का राजेन्द्र सोराली भन्नुहुन्छ, ‘ढुक्कै भारत नै गएर कमाउँथें, त्यही रकम नै घरबार चलाउने आम्दानीको मुख्य स्रोत बनेको थियो, अहिले भने छुट्टीमा घर आएर फर्कने समयमा नै लकडाउन भयो, यतै बसियो, खेतिपातीमा लागियो ।’
राजेन्द्रका आफ्नै घरमा हल गोरु थियो । खेतबारी जोत्नुभयो । वर्षौंपछि आफ्नै खेतबारीमा पसेर काम गर्न पाउँदा उहाँलाई खुशी मिलेको छ । ‘हलो जोतियो, खेतीपातीमा रमाइयो,’ राजेन्द्र भन्नुहुन्छ, ‘पोहोर एक हलको मात्र धान रोपेका थियौं, यसपटक भने दुई हलको धान रोपियो ।’
माईजोगमाई गाउँपालिकामा मकै, आलु, अम्बक, सुन्तला, अकबरे खोर्सानी, काँक्रा लगायतका खेती व्यवसायिक खेतीका रुपमा खेती गरिन्छ भने धेरैले खानका लागि नै धान खेती गर्ने गरेका छन् ।
स्थानीयले मेहनत गरेर खेती लगाए पनि उत्पादन सुरु भएपछि बाँदरले खाइदिने गरेकाले माईजोगमाईका युवा कमाईका लागि धेरै समय भारत नै जान चाहने गरेका छन् । तर यसपटक भने कोरोनाले गर्दा गाउँप्रति घटेको मोह फेरि फर्काएको छ ।
चार वर्षसम्म मलेसियामा रोजगारी गरेर आउनु भएका विक्रम लिम्बूसमेत कमाउन भारत जानुभएको थियो । दुई महिना काम गरेर फर्कनुभयो । भन्सार कम्पनीमा काम थियो । तर भारी धेरै बोक्न पर्नेभएपछि उहाँ त्यो दुःख आफ्नै ठाउँमा फर्कनुभयो । र खेती किसानी गर्न थाल्नुभयो ।
‘दश सहर रहरले चाहरे पनि आफ्नो गाउँ, आफ्नो गाउँपाखाजस्तो अरु नहुने रहेछ,’ विक्रमले भन्नुभयो ।
इलामका अधिकांश युवा कमाईका लागि भारत जाने गर्छन् । वर्षमा ६ महिना भारत ६ महिना नेपालमा रहने युवाहरु अहिले भने नेपालमै कृषि कार्यमा व्यस्त छन् । जिल्लाका १० पालिकामध्ये ६ पालिकाका अधिकांश युवाहरु विशेष कमाइकै लागि भारत जाने गरेको पाइन्छ ।
अधिक मात्रामा भारत जाने पालिकामा रोङ, माईजोगमाई, सन्दकपुर, माङ्गसेबुङ्ग गाउँपालिका, माई र सूर्योदय नगरपालिकाका रहेका छन् । भारतमा काम पाए महिनामा ३० हजारसम्म कमाइ हुने युवाहरु बताउँछन् । कमाइ नभएको महिनामा पनि १६ हजारसम्म बचाउने गरेको उनीहरुको भनाइ छ ।
भारत गएर गाडीमा सामान लोड अनलोड गर्ने, होटलमा काम गर्ने र कुनै महिनामा भने भारतको ल्वाचुङ्गमा यार्सागुम्बा टिप्न र विभिन्न कम्पनीमा सुपरभाइजरका रुपमासमेत काम गर्न पाइने दिपजलन लिम्बू बताउनुहुन्छ ।
इलाममा चैते र वर्खे गरी दुई समय धान रोपिन्छ ।
जिल्लामा हर्बीनास, राधाकृष्ण, अन्नपूर्ण जातका धान रोपिंदै आएको कृषि ज्ञान केन्द्र इलामका बागवानी विकास अधिकृत मीना बस्नेतले जानकारी दिनु भयो ।
उहाँका अनुसार, इलामका माई नगरपालिका र चुलाचुली गाउँपालिकामा धेरै मात्रामा धान खेती गरिन्छ । अन्य पालिकाहरु देउमाई, इलाम, सूर्योदय नगरपालिका , रोङ, माईजोगमाई, माङसेबुङ, फाकफोकथुम र सन्दकपुर गाउँपालिकामा भने औषत मात्रामा मात्रै धान खेती गर्ने गरिन्छ ।
जिल्लामा चैते र वर्खे गरी १४ हजार सात सय ६३ हेक्टर क्षेत्रफल जमिनमा धान रोपिने गरिएको छ । जस मध्ये १३ हजार ६ सय ९ हेक्टरमा बर्खे र ११ सय ५४ हेक्टरमा चैते धान रोप्ने गरिएको कार्यालयले जनाएको छ ।
कृषि ज्ञानकेन्द्रको तथ्याँक अनुसार जिल्लामा ४१ हजार १ सय ६२ मेट्रिक टन वर्खे र पाँच हजार तीन सय ६६ मेट्रिक टन चैते धान उत्पादन हुँदै आएको छ । गतवर्षको तुलनामा यस वर्ष धान खेतीमा वृद्धि हुने देखिएको छ । अहिलेसम्म इलाममा ७२ प्रतिशत धान खेती भईसकेको छ ।
धान खेती गरिने समय अझै डेढ महिना बाँकी रहेकाले यस वर्ष खेतीमा वृद्धि हुने देखिएको अधिकृत बस्नेतले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
nara bahadur salami
July 23, 2020, 9:02 a.m.यसरी नै सबै युवाले स्वदेशमै उद्धम गर्ने हो र सरकारले पनि त्यससँग सम्बन्धित कार्यक्रम ल्याउने हो भने भावी पुस्ताले इतिहास पल्टाउँदा कोरोनाको महामारी संगै उदय भएको नेपालको कृषि क्रान्तिको बारेमा पढ्न पाउने छन् |