कमरेड अध्यक्षद्वय ! कलङ्कको भारी बोक्ने कि महानायकको ताज पहिरिने  ?

 साउन १०, २०७७ शनिबार ९:५२:१ | हरि ज्ञवाली
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलालको ४२ औं जन्मजयन्ती हालै मनाइयो । त्यो अवसरमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संस्थापक नेता पुष्पलालले देखाएको मार्गदर्शनबाट आफूहरु विचलित नहुने पुरानै कुरा दोहोर्याए ।

वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमलगायतका नेताहरुले टुटफुट र अनेकौँ सङ्घर्षका क्रममा प्राप्त असाधारण उपलब्धिसँगै चुनौतीसँग जुध्न पार्टीलाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प नभएको आशय व्यक्त गरे । 

बाहिर विचार जे आए पनि नेताहरुका हालका आन्तरिक गतिविधि, वैचारिक द्वन्द्व र आपसी किचलोका कारण यतिखेर नेपाली कम्युनिष्ट आन्दोलन एउटा जटिल र खतरनाक मोडमा पुगेको आभास सर्वत्र हुँदैछ । आम कार्यकर्ता र नागरिकमा चिन्ता बढ्दै छ ।

सिद्धान्त र कार्यक्रमरहित विवाद

यतिखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद चरम उत्कर्षमा पुगेको छ । नेताहरूले कतिबेला पार्टी फुटको घोषणा गरिहाल्ने हुन् भन्ने त्रासले आम कार्यकर्तालाई चिन्तित बनाएको छ । असार १० गतेदेखि सुरु भएकोे स्थायी कमिटीको बैठक आधाआधी सदस्यले मत राखेपछि स्थगित छ ।

तोकिएका विषयमा भन्दा  नेताहरु अन्य विषयमा बरालिएर आपसी आरोप-प्रत्यारोपमा उत्रिएपछि बैठक स्थगित भएको हो । सचिवालय र स्थायी कमिटीका बैठकहरु समस्यामा केन्द्रीत हुनुभन्दा टाउका गन्दै विवाद चर्काउने र समस्या बल्झाउने दिशामा उद्यत देखिन्छन्  । 

आखिर कसका कारणले बैठक भड्किन्छ ? कसका कारणले बैठक विषयान्तर बन्छ ? नेताहरु किन समस्या बल्झाउँदै छन् ? आम नागरिक र कार्यकर्ताको मनोगत भावनालाई नेताहरुले किन नबुझेका हुन् ? नेताहरुमा फगत इगो किन झाङ्गिदै गएको हो ? बुझ्न कठिन छ ।

यतिखेरको नेकपाको विवाद सिद्धान्त र कार्यक्रममा देखिँदैन । नेकपाभित्र समस्याको गुजुल्टो फुकाउनै नसक्ने गरी बल्झिएको छ । थुप्रै समस्याका चाङहरु छन्  । झन्डै दुई तिहाईको अपार जनमतको ऐतिहासिक अवसरलाई कसरी उपयोग गरेर पार्टीलाई अझ बढी लोकप्रिय बनाउने भन्नेतिर सचिवालय र स्थायी समितिमा कहिल्यै छलफल भएन । 

मन्त्री कुन गुटबाट बनाउने, संवैधानिक र अन्य राजनीतिक नियुक्तिमा कसका धेरै मान्छे पार्ने, पार्टीमा कब्जा कसले जमाउनेजस्ता विषयमा मात्रै विवाद केन्द्रीत भएका छन् । नेकपाको मूल समस्या यहीँ नै हो । पार्टी एकतापछि नेकपा थप व्यवस्थित र बलियो हुनुको साटो झन् अव्यवस्थित, भताभुङ्ग र अराजक बन्दै छ । अनुशासन र पार्टी गोपनियताका कुरा एकादेशको  कथा भैसकेका छन् । 

विचारमा अलिकति विमति हुनेबित्तिकै सार्वजनिक मिडिमार्फत गालीगलौजमा उत्रिने प्रवृत्ति जताततै बढेको छ । शीर्ष नेतृत्वबीचको आपसी विवादले आम कार्यकर्ता चिन्तित र निरीह भएका छन् । सदस्य र समर्थकहरुमा निराशा छाएको छ । मतदाताहरुमा आक्रोश बढेको छ । तर पनि यसबारे मसिनो गरी छलफल र चिन्तन कहिल्यै भएन । बिडम्बना यही हो ।

समस्या एकातिर विवाद अर्कोतिर

देश आज कोरोनाको कारण नराम्ररी थला परिसकेको  छ । सिङ्गो देशले मानवीय, आर्थिक, सामाजिक र  स्वास्थ्यको संकट  झेलिरहेको छ । यी राजनीतिक, सामाजिक तथा आर्थिक समस्याका जराहरु पहिल्याउनुपर्ने बेलामा नेताहरुले पद, प्रतिष्ठा र अभिमानलाई एजेन्डा बनाएर जात्रा देखाइरहेका छन् । सरकारमा भएको बेला आफ्ना सिद्धान्त र घोषणापत्रलाई कसरी लागू गरेर नागरिकलाई कम्युनिष्ट सरकारको अनुभूति दिलाउने भन्नेतिर कोही पनि देखिँदैन । 

राष्ट्रका तमाम समस्याग्रस्त मुद्दाहरुमा नेकपाका नेता दुई विपरीत धारमा बाँडिएका छन् । सरकारमा बस्नेहरु राम्रा कामहरु भइरहेको वकालत गर्दैछन् । सरकारमा नरहेकाहरु जनअसन्तुष्टि बढेको र सरकारको पफर्मेन्स राम्रो नभएको विश्लेषण गर्दैछन् । एकथरीले प्रमको राजीनामाको एकोहोरो रटान लगाइरहने त अर्को थरीले किन राजीनामा दिने भन्ने दम्भ देखाइरहने  । एक थरीले उडन्ते गफ गरेर सपना बाँडिरहने अनि अर्को थरीले रमिता गरेर खुट्टा तानिरहने  । यस्तो दुःखद् घडीमा पनि विचित्रको नाटक प्रहसन भैरहेको छ । 

देशका समस्यामा एकजुट हुनुपर्नेमा, पार्टीलाई बचाउन लाग्नुपर्नेमा आ-आफ्ना डम्फु बजाउँदै सत्ता र कुर्सीको खेलमा लागेर पार्टी नै सिध्याउन उद्यत् हुँदैछन् केही नेता । एक-अर्कामा आरोप-प्रत्यारोपबीचको सत्य-तथ्य चाहिँ के हो त ? नेताहरुले अझै पत्ता लगाउन सकेका छैनन् । आज कम्युनिस्ट आचरण र सिद्धान्तमा खिया लागिसकेको छ । विचार भुत्ते भएको छ  । संगठन भताभुङ्ग र लथालिङ्ग भैसकेकोे छ । त्यत्रो विशाल साङ्गठानिक संरचना आज खै कहाँ के गर्दैछ ? थाहा छैन ।

ती नियमित बैठक र छलफल आज किन भइरहेका छैनन् ? कता मिल्क्याइँदै छ त्यो क्रान्तिकारी स्प्रिट, ऊर्जा अनि जनताका समस्याको चिन्तन ? कता गए ती कम्युनिस्ट आचरण, विचार र सिद्धान्तको आदर्श ? किन टुट्दैछ पार्टी नेतृत्व, कार्यकर्ता र आम नागरिकबीचको त्यो आत्मीयता र अन्तरसम्बन्ध ? त्यत्रो बलिदान, सङ्घर्ष र निरन्तर आन्दोलनको प्रतिफल आम नागरिकलाई खोई , के ?  समीक्षा गर्न पनि ढिला भइसकेको छ ।

बिडम्बना ! यतिखेर सम्पूर्ण विवाद विचार, सिद्धान्त, राजनीति र संगठनको नभई पदीय लेनदेन, भागबन्डा र लुछाचुँडीमा मात्रै सीमित देखिँदैछ । यस्तो विषम: अवस्थामा पार्टीलाई भूमरीबाट बाहिर निकाल्ने आखिर कसरी र कसले ? नेकपाभित्र एउटा महानायकको खाँचो खड्किएको छ ।

सत्तारुढ पार्टी नेकपाको आन्तरिक विवादका कारण निश्चित रुपमा सिङ्गै देशको राजनीति प्रभावित भएको छ । लोकतान्त्रिक प्रणाली, सङ्घीय संरचना र संवैधानिक मूल्य-मान्यतामाथि आँच आउन थालेको महशुस हुँदैछ  ।

सदियौँदेखिका नागरिकका चाहना र आकांक्षाहरुमाथि फेरि पनि निर्मम प्रहार हुने हो कि भन्ने चिन्ता र आशंका सर्वत्र बढ्दो छ । सचिवालय र स्थायी कमिटीको बहुमतको धकेल्याइँ  र विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले पदत्याग गर्नुपर्ने अवस्था आयो भने प्रतिशोध र आवेगमा आएर संसदमा बहुमत रहेको पार्टी फुटाएर मिलिजुली सरकारको बाटोमा देशलाई धकेल्ने पो हुन् कि ?

पुनः मध्यावधि चुनावको घोषणा गरेर देशलाई अस्थिरतातर्फ पो धकेल्ने हुन् कि ? संकटकाल लगाएर संसद् विघटन पो गर्ने हुन् कि ? अस्तित्व, पद र कुर्सीकोे लडाइँ बढ्दै गएपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राजनीतिक स्थिरता, स्थापित प्रणाली र व्यवस्था नै धरापमा पर्ने हो कि ? आम नागरिकको स्वाभाविक चिन्ता, भय र त्रास दिनप्रतिदिन झन् बढ्दो छ ।

पाको नहुँदै पार्टी एकता

पूर्वएमाले र पूर्वमाओवादीमा काम गर्ने तौरतरिकामा फरक भएकाले पनि यतिबेला पार्टीमा अन्तरविरोध बढेको सत्य हो  । फरक सिद्धान्त, फरक विचार,फरक स्कुलिङ, फरक कार्यशैली, फरक रणनीति र कार्यनीति अनि फरक साङ्गठानिक संरचनाहरुबीचको अप्रत्याशित र अपरिपक्व एकता समस्यारहित थिएन । 

समस्याहरु हिजो पनि तमाम थिए र आज झन् जेलिएका छन् । गाँठो परेका छन् ।  दुई अध्यक्षबीचको अप्रत्याशित र चामत्कारिक पार्टी एकता घोषणाका कारण दुवैतर्फको असन्तुष्टिहरु यद्यपि तात्कालीन अवस्थामा बाहिर प्रकट भएनन् । अव्यक्त भावनामै सीमित रहे । 

फलस्वरुप पार्टी एकीकरणले न कार्यकर्तामा तीव्र उत्साह जगाउन सक्यो न त नेताहरूमा खुशीयाली र उल्लासमय जागरुकता नै । दुई पार्टीबीचको एकतामा वैचारिक र राजनीतिक छलफललाई भन्दा चुनावलाई आधार बनाएको कारण पनि पार्टी एकतामा समस्या देखिएको हो ।

एकीकरण तलबाटै गरिएको भए त्यो एकता बलियो, दिगो र मजबुत हुन सक्थ्यो । आम कार्यकर्ताबीच अन्तरघुलन जरुरी थियो । तर त्यसो नगरी हठात् माथिबाट थोपरियो । जेहोस्, अब पार्टी एकतालाई समास्यारहित, मजबुत र दिगो बनाउन अपरिहार्य छ ।

सरकार त भोलि पनि प्राप्त गर्न सकिन्छ तर पार्टी नै सकियो भने सबै सकिनेछ । पहिला एकतालाई बलियो र अझ लोकप्रिय बनाऊँ त्यसपछि पुनः सरकार बनाएर सत्तामा जाउँला अनि पालो पुर्याउला भन्ने सुझाव नेतृत्वलाई आखिर कसले दिने ? गुटैगुटमा झांगिएको नेतृत्वले यस्ता सुझाव आखिर कसबाट ग्रहण गर्ने ? यतिखेरको मूल प्रश्न यही नै हो ।

देशी-विदेशी शक्तिको चलखेल

जसले जसरी तर्क गर्न खोजे पनि अहिले देशी विदेशी शक्ति मिलेर सरकारलाई संकटमा पार्न खोजिएको यथार्थ हो । यो फगत आरोप हैन, सत्य हो । पार्टी आफ्नै आन्तरिक विवादमा जेलिएपछि यसो हुनु स्वभाविक नै हो ।

 भारतसँगको सीमा विवाद, मानचित्र, अयोध्या प्रकरण र एमसीसीसम्म आइपुग्दा देशभित्रको मात्र नभएर बाह्य शक्तिको स्वार्थगत चलखेलपछि नेकपाको विवाद झन् पेचिलो बन्दै गएको छ । भारत, अमेरिका र चीनसम्मको त्रिकोणात्मक र स्वार्थगत रुचिको एजेन्डा अब नेकपाभित्र पसिसकेको छ ।

वाह्य शक्तिको स्वार्थगत चलखेल र पार्टी एकताको मुख्य विचार, भावना र गतिलाई नबुझ्नुको कारणले अन्तरद्वन्द्व बढेको कुरालाई मसिनो गरी नकेलाउने हो भने नेकपामा दुर्घटना निश्चित देखिन्छ । यसको समाधान नेकपाले खोज्नैपर्ने छ  । 

नेपाल कम्युनिष्ट पार्टीको इतिहास सङ्घर्षशील, गौरवमय र इमान्दारितापूर्ण त हो । तर वर्तमान पनि गौरवशाली र भविष्यको पुस्ताका लागि भरोसायोग्य बनाउनुपर्ने चुनौती आजको नेकपा नेतृत्वको काँधमा छ । त्यो चुनौतीपूर्ण दायित्व र जिम्मेवारीबाट नेकपा कदापि पन्छिन मिल्दैन ।

धैर्य र संयम आवश्यक

नेपाली नागरिकले नेकपालाई पाँच वर्ष सरकार चलाउन स्पष्ट म्यान्डेट दिएका छन्  । निर्वाचनमार्फत नागरिकले तीनै तहमा नेकपालाई एकल वर्चस्व दिएर आफ्नोे दायित्व पूरा गरेका छन्  । अब देशको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको ऐतिहासिक अभिभारा नेकपाको काँधमा आएको छ । अब पार्टी र सरकारको ध्यान आन्तरिक विवादमा भन्दा देशका तमाम समस्या र वर्तमान महामारी र विपत्तिमा केन्द्रित हुनैपर्ने जरुरी देखिन्छ । 

अवको दुई वर्षमा फेरि पनि आवधिक निर्वाचनमा जानैपर्नेछ । परिस्थिति अनुकूल बन्नुपर्नेमा झन् प्रतिकुल बन्दै छ । नागरिक नेकपाबाट चलमलाउन थालिसकेका छन् । यस्तो विषम् परिस्थितिमा नेतृत्वले अलिकति पनि संयम गुमायो भने आउँदाे चुनावमा नागरिकको नजरमा नेकपा नराम्रोसँग पछारिने कुरामा दुई मत छैन । आन्तरिक विवादले जनतामा ल्याउने असन्तुष्टि र निराशालाई चिर्न धैर्य, संयम् र एकताबद्ध अभियानको विकल्प देखिंदैन ।

अब के त ?

अब नेकपाको महाधिवेशनको तयारी पनि यथाशीघ्र थाल्नुपर्ने बेला भएको छ । महाधिवेशनमा नगई हालको विवाद पूर्णतः समाधान भइहाल्ला जस्तो पनि देखिँदैन । महाधिवेशनसम्म सहमतिमै जाने दुई अध्यक्षबीचको निर्णय कायम राख्नु नै अहिलेको आवश्यकता देखिन्छ ।

महाधिवेशनसम्म सहमतिमै जाने दुई अध्यक्षबीचको सहमति टुट्यो भने विशाल पार्टी होइन, विश्राम पाटीमै सीमित हुने कुरा दुई मत छैन । तसर्थ वर्तमान सहमतिपूर्ण अवस्थाको वस्तुनिष्ट समीक्षा गर्दै तदनुरुप प्रभावकारी निष्कर्षमा पुग्नु जरुरी छ  । प्रम केपी शर्मा ओलीले यतिखेर राष्ट्रिय अडान लिएकै छन् । विकास र समृद्धिका सपना देखाएकै छन् ।

त्यो अडान र सपना पूरा गराउने दायित्व पार्टीको पनि हो । यस सन्दर्भमा अध्यक्षको अभियानलाई पार्टीले काँध थाप्नैपर्छ । तर म नै पार्टी हुँ, म नै सर्वेसर्वा हुँ भन्ने दम्भ भने ओलीले नत्यागी हुँदैन । सबै कुराको मार्गदर्शन र निर्णय पार्टीमार्फत् नै हुनु जरुरी छ । पार्टीको संस्थागत निर्णय नै सर्वाेपरि हो । पार्टी एकीकरणको समग्र ऐतिहासिक अभिभारा केपी ओली र प्रचण्डले नै लिएका हुन्  ।

यी दुईको छलफल र सहमतिकै आधारमा विवाद सुल्झाउन जरूरी छ । क्षणिक बहुमत र अल्पमतको आडमा कुनै निर्णय प्रचण्डले गरे भने वा त्यसैको प्रतिशोधमा केपी ओलीले अप्रिय कदम चाले भने पार्टी, जनता र सिङ्गो मुलुकका लागि त्यो अभिशाप हुने निश्चित छ । परिस्थिति प्रतिकूल बन्दै छ । नागरिक सधैंभरि एक ठाउँमा रहँदैनन् । सुनौलो अवसर पटकपटक आउँदैन,बारम्बार माफी पाइँदैन ।

तसर्थ विशाल पार्टी निर्माण गरेर इतिहासको महानायक बन्ने कि कमिटीमा अमुक–अमुक नेताहरुका संख्यात्मक टाउका गनेर गुट सिर्जना गरिरहने ? पार्टी छिन्नभिन्न पारेर इतिहासमा कलंकको भारी बोक्ने कि विशाल पार्टी निर्माण गरेर दशकौं सरकारको नेतृत्व गरेर महानायकको ताज पहिरिने ? परीक्षणको घडी आएको छ । यो ऐतिहासिक अवसरको परीक्षण अध्यक्षद्वय ओली र प्रचण्डकै आगामी गतिविधिले निक्र्योेल गर्नेछन्  । अस्तु ।

(लेखक रुपन्देहीका शैक्षिक अगुवा र नेकपा कार्यकर्ता हुन् )

 

अन्तिम अपडेट: जेठ १८, २०७८

हरि ज्ञवाली

ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया