'सिमकार्ड बेच्ने बहानामा जबरजस्ती हाम्रो पासपोर्ट जफत गरे, मलेसियामा सोझा नेपाली लुटिने खतरा धेरै छ'

 साउन १२, २०७७ सोमबार १०:१:५२ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

छत्र लकाई खड्का/नेपाल,हाल मलेसिया

कोरोना विश्वव्यापी रुपमा फैलिन सुरु भइरहेको थियो । त्यहीबेला अर्थात २०२० फेब्रुअरी ९ तारिखमा म मलेसिया आएँ । 

रोजगारीका लागि मलेसियाको क्वालालम्पुर को टिकट थियो । हामी लगभग ४ घन्टा २० मिनेटको उडानपछि सुरक्षितसाथ मलेसियाको क्वालालम्पुर विमानस्थलमा पुग्यौं । मलेसियाको समय अनुसार बिहानको ३ बजेको थियो । सबैजना जहाजबाट उत्रिएपछि यहाँको विमानस्थल भित्र आयौं । 

हामीलाई लिन आउने हाम्रो कम्पनीको प्रतिनिधिहरु बिहान १० बजेमात्र आउने जानकारी कम्पनीबाट पाएका थियौं । विमानस्थलमा चिसो भुइँमा बस्नुपर्ने बाध्यता थियो । नेपालबाट आएका हामी लगभग २५० जना थियौं ।
एयरपोर्टमा बसिरहेको बेला दुईजना (एकजना चाइनिज र अर्को तामिल)ले यहाँको यू मोबाइलको सिमकार्ड बेचिरहेका थिए ।

हामीले शुरुमा त खासै चासो दिएनौं । पछि पो उनीहरुले सबैलाई हप्काएको देख्यौं । सबैको पासपोर्ट मागेर टेबलमा राखेर जम्मा गर्दै थिए । पासपोर्ट जम्मा भएका नेपालीलाई नामसहित बोलाएर एक जनाबाट यहाँको २० रिंगिट मागेर एउटा सिमकार्ड दिंदै थिए । हामीले त्यो हेरिरहयौं । 

हामीबाट पनि हाम्रो पासपोर्ट मागेर लगे । एकछिनपछि हामीलाई पनि नाम लिएर बोलायो । हामीले आफूसँग पैसा नभएकाले सीम किन्न सक्दैनौं भन्यौं ।

हामीसँग ५ रिंगिट मात्रै छ त्यसमा आउँछ भने देउ नभए हाम्रो पासपोर्ट फिर्ता देउ भन्यौं तर उनीहरुले मान्दै मानेनन् । हामीलाई हप्काएर बल्लतल्ल पासपोर्ट फिर्ता दियो । मलेसियन रिंगिट नभएको अवस्थामा पनि नेपालीहरुबाट हजार रुपैयाँमा बलजफ्ती सीमकार्ड बेचेको देखियो ।

बाहिर शौचालय जाने बहानामा हामी तीनजना साथीहरू मिलेर काठमाण्डौबाट क्वालालम्पुर को उडानमा आएका नेपालीहरुलाई भेटेर त्यहाँ जबरजस्ती सिमकार्ड बेचिरहेको कुरा बतायौँ ।  त्यहीबेला त्यो सिमकार्ड बेच्ने काले आएर हामीलाई निकै हप्कायो ।

एकछिनपछि ती सिमकार्ड बेच्ने चाइनिज र तामिल अर्थात् काले आफ्नो झोला बोकेर बाहिर निस्किए । 

यो त एउटा घटना मात्र हो । मलेसियामा ठग्ने र लुट्ने हरुको एकदमै खतरा हुन्छ । यसबाट हामीले जोगिएर हिड्नलाई निकै ठूलो चुनौति छ । त्यसैले यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस् । परदेशमा कमाउन आएका सोझा नेपालीहरुले यहाँका लुटेराहरुबाट लुटिनु नपरोस् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया