लकडाउन हटेपछि गर्भवती र सुत्केरीमा जोखिम झन् बढ्यो

 साउन १३, २०७७ मंगलबार ८:५५:४५ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डौ - गएको चैत ११ गतेदेखि जेठ मसान्तसम्ममा देशभर १३५ नवजात शिशुको ज्यान गएको छ । 

यो अवधिमा ४३ जना आमाले पनि ज्यान गुमाएका सरकारी तथ्याङ्क छ । यस्तै ३० हजारभन्दा धेरै गर्भवती स्वास्थ्य संस्थाको पहुँचबाट बाहिर छन् ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको मातृ तथा नवशिशु शाखाका प्रमुख डाक्टर पुण्या पौडेल भन्नुहुन्छ-‘लकडाउनमा उनीहरुलाई समयमा नै उपचारमा लैजान नसक्दा ज्यान गएको हो ।’ यातायातको साधन नहुँदा, अस्पताल र स्वास्थ्य संस्थामा २० प्रतिशतसम्म सेवा घट्दा र डर त्रासका कारण गर्भवती र सुत्केरीको स्वास्थ्य जाँच हुन सकेको थिएन ।

तर,अब लकडाउन हटेको छ । गएको साउन ७ गतेदेखि लकडाउन हटेपछि  यसले अस्पताल आउजाउ गर्न गर्भवती र सुत्केरीलाई केही सजिलो भएको छ ।  अब उपचार नै नपाएर गर्भवती र सुत्केरीको ज्यान गयो भन्ने अवस्था नआउन पनि सक्छ । तर ग्यारेन्टी भने छैन । 

लकडाउन हटेसँगै कोरोना फैलिने जोखिम बढेको छ । भिडभाड बढ्दा र सामान्य स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउँदा कोरोना समुदायस्तरसम्म नै फैलन सक्ने आशंका गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड, तत्काल अस्पताल पुर्‍याउने तयारी जस्ता पूर्व तयारी केही पनि भएको छैन । यसले गर्दा हरेक ठाउँ र क्षेत्रमा गर्भवती र सुत्केरी जोखिममा छन् । 

‘जोखिम धेरै बढेको छ, यो हामी पनि मान्छौँ । अब गर्भवती र सुत्केरीसँगै उनीहरुका परिवारले विशेष सतर्कता अपनाउनु पर्छ’ मातृ तथा नवशिशु शाखाका प्रमुख डाक्टर पौडेलले भन्नुभयो ।

गर्भवती र सुत्केरीको स्वास्थ्य सुरक्षामा ध्यान दिइरहेको सरकारको दाबी

मातृ तथा नवशिशु शाखाकी प्रमुख डाक्टर पुण्या पौडेलले गर्भवती र सुत्केरीको स्वास्थ्य सुरक्षाका लागि काम गरिरहेको दाबी गर्नु भएको छ । उहाँकाअनुसार लकडाउनको समयमा प्रभावकारी उपचार दिन नसके पनि अब त्यस्तो अवस्था आउने छैन । 

यसका लागि गर्भवती र सुत्केरीले नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी अथवा अस्पतालमा सम्पर्क गर्न सक्ने छन् । गर्भवती र सुत्केरी अस्पताल र स्वास्थ्य संस्था जाने अवस्था नआए घरमा नै गएर सेवा दिने पनि उहाँले दाबी गर्नु भएको छ । 

यसका लागि गर्भवती र सुत्केरी अथवा उनीहरुका परिवारले नजिकैको अस्पताल वा स्वास्थ्य संस्थाको फोन नम्बरमा सम्पर्क गर्न सक्ने छन् । महिला स्वास्थ्य स्वयंसेविकामार्फत् पनि सेवा लिन सक्ने डाक्टर पौडेल बताउनुहुन्छ ।

कोभिड-१९ को जटिल अवस्था रहेकाले नियमित स्वास्थ्य संस्था जानु पर्छ । खुट्टा सुन्निए, रक्तश्राव भए वा गन्हाउने पानी बगिरहे तत्काल उपचारमा जानु पर्छ । तत्काल अस्पताल पुग्न सम्भव नभए स्वयंसेविकालाई खबर गर्न डाक्टर पौडेलको आग्रह छ । 

गर्भवती र सुत्केरीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सुरक्षा  सामग्री उपलब्ध गराइएको र आवश्यक परे घरमै पुगेर सेवा दिन निर्देशन दिईएको उहाँले बताउनुभयो । 

कोभिड-१९ सङ्क्रमणको उच्च जोखिम भएकोले गर्भवती तथा सुत्केरीले खानेकुरा, सरसफाई र नियमित स्वास्थ्य जाँचमा विशेष ख्याल राख्नु पर्ने उहाँ बताउनुहुन्छ ।  गर्भवती तथा सुत्केरीलाई उपचार गर्न समस्या नभएकोले स्वास्थ्य संस्थामा आएर स्वास्थ्य जाँच गर्न, सल्लाह सुझाव र परामर्श लिन र आवश्यक परे फोनबाटै पनि स्त्रीरोग विशेषज्ञ डाक्टरसँग कुरा गर्न सक्ने व्यवस्था मिलाएको सरकारको  दाबी छ । 

‘अवस्था जटिल भए तत्काल उद्धार हुन्छ’

उच्च रक्तश्राव, उच्च रक्तचाप, लामो समयसम्म व्यथा लागे पनि सुत्केरी हुन नसकेकालाई सरकारले हेलिकोप्टरमार्फत उद्धार गर्ने गरेको छ । यस्तो अवस्थालाई जटिल अवस्था मान्दै आमा र बच्चाको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर हवाई सेवामार्फत उद्धार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सेवा दुर्गमका गर्भवती र सुत्केरीका लागि बढी  प्रभावकारी मानिएको छ ।

हेलिकोप्टरमार्फत उद्धारका लागि केही निश्चित प्रक्रिया भने छन् । गर्भवती र सुत्केरीमा जटिल स्वास्थ्य समस्या देखिए तत्काल सम्बन्धित निकायमा खबर गर्नुपर्छ । जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरेपछि र कार्यालयले सिफारिस गरेर महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा पठाएपछि मात्रै यो सुुविधा पाईन्छ । यो सेवा लिन बिरामीको नागरिकता पनि अनिवार्य गरिएको छ । 

तर नागरिकता नभए पनि परिस्थिति अनुसार सिफारिस भए उद्धारमा कुनै समस्या नहुने मन्त्रालयले जनाएको छ । जटिल स्वास्थ्य समस्या भएका गर्भवती र सुत्केरीको महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले उद्धार गर्दै आएको छ । लकडाउनको  अवधिमा जोखिमपूर्ण अवस्थामा रहेका १४ जना गर्भवती तथा सुत्केरी महिलालाई हेलिकप्टरबाट उद्धार गरी बचाएको पनि मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया