ललितपुर महानगरपालिकाभित्र अब ४५ दिनमै ‘स्मार्ट’ सडक बत्ती

 साउन १३, २०७७ मंगलबार १९:५४:५१ | मल्लिका थापा
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गरिने भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान गर्न मङ्गलबारबाट तयारी सुरु भएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार कुपण्डोलमा सडक बत्तीको उद्घाटन गर्दै नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरपालिकाभित्रका तीन वटा रुटमा ६ सय ६९ वटा बत्ती जडान गर्न लागिएको बताउनुभयो ।

उहाँले कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्को, कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजारमा पहिलो चरणमा स्मार्ट बत्ती जडान हुने बताउनुभयो । यसैगरी पहिलो चरणको काम सकिएलगत्तै दाेस्रो चरणमा एकान्तकुनाबाट बुङ्गमती, खोकना र सातदोबाटोबाट सुनाकोठी हुँदै धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको महानगरपालिका प्रमुख महर्जनले बताउनुभयो । 

यो बत्ती सोलार बत्तीभन्दा कम खर्चमा जडान हुने महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो,‘यो बत्ती सोलार बत्तीभन्दा निकै किफायती र प्रभावकारी भएको एक अध्ययनले नै देखाएको छ ।’ यो परियोजनाको भ्याटसहित कुल लागत पाँच करोड बीस लाख रुपैयाँ रहेको महानगरले जनाएको छ ।

सडक बत्ती बालेबापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुने र मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी गर्ने महानगरले जनाएको छ । ललितपुर महानगरपालिकाको लगानीमा जडान हुन लागेको स्मार्ट सडक बत्ती परियोजनाकोे कन्ट्रयाक्टर क्रम्टन महावीर जेभी हो भने जडान हुने बत्तीहरु क्रम्टन कम्पनीको उत्पादन हाे । 

यस्तै यस परियोजनामा प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत् प्राधिकरणको रहेको छ । ठेकेदार कम्पनीद्वारा महानगरपालिकाका प्राविधिक कर्मचारीलाई तालिमको व्यवस्थासमेत हुनेछ । यस परियोजनाको सम्झौता एक वर्षअघि २०७६ भदौ २ गते भएको थियो । काम सुरु भएको मितिले यो परियोजना ४५ दिनभित्र सम्पन्न हुनेछ । ललितपुर महानगरपालिका स्मार्ट सडक बत्ती जडान गर्ने पहिलो पालिका हो ।    

कस्तो हुन्छ ‘स्मार्ट बत्ती’ ?

यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । अर्थात् पोलैपिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न बत्ती जडान भएको ठाउँमा जानुपर्दैन, सर्भर रुमबाट नै गर्न सकिन्छ । सर्भर रुम भने विद्युत प्राधिकरणमै रहने छ । यो बत्ती साँझको समयमा बढी चहकिलो हुन्छ तर मध्यराति भने केही मधुरो बल्छ । गाडी वा बटुवाको चाप हेरेर बत्ती स्वतः चहकिलो र मधुरो हुँदै जान्छ ।

रातको समयमा सर्वसाधारणको आवत जावत सहज र सुरक्षित बनाउन स्मार्ट बत्ती जडान गर्न लागिएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । सडक बत्तीमा महानगरको खर्च घटाउन र वैज्ञानिक हिसाबले व्यवस्थापन गर्न स्मार्ट प्रणाली रोजिएको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया