एनसेलद्वारा हिसानअन्तर्गतका विद्यार्थीलाई अनलाइन कक्षाका लागि विशेष अफर

 साउन १५, २०७७ बिहिबार ७:३६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेल प्राइभेट लिमिटेड र उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

अनलाइन कक्षा तथा सिकाइका लागि विद्यार्थी, शिक्षक/शिक्षिका र विद्यालयहरूलाई सुलभ दरमा मोबाइल सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यअनुरूप एनसेलले यस समझदारीअन्तर्गत विशेष मासिक योजना प्रदान गर्ने जनाएको छ ।  यो योजनामा भ्वाइस, डाटा र एसएमएसको बण्डलसहितको सेवा लिन सकिन्छ । 

यस विशेष योजनाअन्तर्गत विद्यार्थीले मासिक २५० रुपैयाँ (करबाहेक) मा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिटको सेवा लिन सक्नेछन् । 

यस्तै माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जीबी डाटा, १ जीबी थ्रीजी/फोरजी डाटा, २ जीबी फोरजी डाटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा पाउनेछन् । यी योजना मासिक ३५० रुपैयाँ (करबाहेक)मा उपलब्ध भएको एनसेलले जनाएको छ । 

हिसानका अध्यक्ष रमेशकुमार सिलवालले यो समझदारीबाट आफूहरू उत्साहित भएको बताउनुभएको छ ।

‘विश्वव्यापी महामारीले शिक्षा क्षेत्रमा दीर्घकालीन असर पारेको छ र पुरानै शैलीमा कहिलेदेखि कक्षाहरु सञ्चालन हुन्छन् भन्ने अहिले अनुमान गर्न सकिने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘भर्चुअल कक्षाका लागि कनेन्टिभिटी सुनिश्चित गर्ने एनसेलसँगको यस सहकार्यले विद्यार्थी, शिक्षक÷शिक्षिका तथा विद्यालयसँगै पूरै शिक्षा क्षेत्रमा ठूलो महत्व राख्छ र यस सहकार्यलाई लिएर हामी निकै खुशी छौं ।’

समझदारीपछि एनसेलका प्रमुख वाणिज्य अधिकारी प्रदीप श्रीवास्तवले यस कोभिड–१९ को महामारीले ठूलो चुनौती सिर्जना गर्नुका साथै कनेक्टिभिटी र टेक्नोलोजी प्रयोग गर्दै अबको ‘न्यु नर्मल’ सँग अभ्यस्त हुन अवसर पनि प्रदान गरेको बताउनुभयो । 

यस सहकार्यअनुसार हिसानको सिफारिस पत्रका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थी, शिक्षक/शिक्षिकाहरूले यो सेवा लिन सक्ने एनसेलले जनाएको छ । सिमको स्वामित्व विद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया