एक दशकको विदेश बसाइ : नेपाल फर्केपछिको विकल्प के ?

 साउन २१, २०७७ बुधबार १३:१२:५९ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

कपिल ज्ञवाली, गुल्मी/ हाल यूएई ।

टन्न धन कमाउने र परिवार खुसी पार्ने जो कसैको चाहना स्वभाविक हो । गाउँले किसानको सामान्य परिवारमा जन्मेको एउटा ठिटो पढ्दापढ्दै आफ्नो अनि परिवारको भविष्य सोचेर विदेशिनु बाध्यता पनि छ । किनकी आफ्नो देशमा आफूले सोचेजस्तो जस्तो जागिर पाईँदैन । केही गरौँ भने हातमा सीप छैन । सीप भए पनि लगानी गर्ने पैसा हुँदैन ।

ऋण खोजेर सानोतिनो व्यवसाय गरौँ भने कसैले पत्याउँदैन। यी र यस्तै समस्याले गर्दा अन्तिम विकल्प भनेको विदेश जाने र दुःख गर्ने रहन्छ । पैसा कमाउने अनि पाङग्रासहितको झोला गुडाउँदै घरमा आउने रहरले मात्रै विदेशिने होइन ।

विदेशिनुअघि उसले सोचेको पनि हुँदैन कि विदेशमा के काम हुन्छ, कस्तो काम गर्नुपर्छ, खानपिन रहनसहन के कस्तो हुन्छ । मात्रै एउटै चाहना हुन्छ, त्यो हो पैसा कमाउने अनि परिवारलाई खुसी र सुखी राख्ने । पासपोर्ट बनायो, म्यानपावरमा बुझायो । केही समयपछि भिसा आउँछ । एजेण्टले भनेजति पैसा बुझायो ।

अनि मातृभूमिलाई बाईबाई गर्दै उड्यो चिलगाडीमा । यस्तै युवाहरुको जमातमा म पनि एक हुँ । २००९ को सेप्टेम्बर महिनामा दुबई छिरेको म, अहिले पनि विदेशमै छु । दुःखसुख, आरोह अवरोह झेल्दै परदेशमा दिनरात बिताएको पनि अहिले ११ वर्ष भयो ।

हरेक दुई वर्षमा भिसा लगाउने नियम हुँदा अहिले पनि कम्पनीले पत्र पठायो भिसा लगाउने कि नलगाउने भनेर । कमाइ पनि राम्रै छ, दुःख पनि त्यति धेरै छैन । अनि यहाँ जति पैसा नेपाल गएर कमाउने भन्ने त धेरै परको कुरा हो । जे होस् विदेश नै भए पनि म आफ्नो तलब अनि पोजिसनलाई सम्मान गर्दै खुसी नै छु ।

खुसी हुँदाहुँदै पनि मैले कम्पनीमा भिसा नलगाउने पत्र पठाएको छु । अझै पनि कम्पनीले आग्रह गर्दै थियो अझै एकपटक भिसा लगाउन भनेर । तलब बढाएर दिन्छु पनि भनेको छ । तर मैले निर्णय लिईसकें कि म अब मेरो देश नेपालमै फर्केर केही गर्न चाहन्छु ।

यो निर्णयले गर्दा म गहिरो सोचमा परेको छु । यस्तो राम्रो काम अनि तलब छोडेर जाँदा कतै केही गर्ने वातावरण मिलेन भने म के गर्ने ? विदेश बस्दा सुनिन्छ नेपालमा कृषि, पशुपालन अनि कुखुरापालन आदि इत्यादि मनग्य आम्दानीका बाटा छन् । तर कतै भने तरकारी नबिकेर खाडलमा पुर्नु परेको, कतै हजारौं कुखुरा माहामारीले मरेर करोडौंको नोक्सान भएको छ ।

दूधको मूल्य नपाएर बाटोमा पोख्नु परेको छ । लगानी गरे अनुसारको आम्दानी भए त ठिकै छ । तर नोक्सान भयो भने ? दशकसम्म विदेशमा पसिना बगाएर कमाएको पैसा खाल्डोमा पुर्नपर्यो भने जिम्मेवार को ? सरकार भन्छ, युवालाई देशमै रोजगारी दिएर देशको अर्थतन्त्रलाई माथि उठाउने प्रयास गरेका छौं ।

तर अहिलेसम्मको अवस्था भनेको युवा त केवल पार्टीको संगठन विस्तार अनि आन्दोलन र तोडफोडको लागि मात्रै प्रयोग हुँदै आएको देखिन्छ । सरकारले रोजगारी दिएका युवाले उत्पादन गरेर तरकारी, दूध, पशुपन्छी निर्यात गरियो भनेर आजसम्म कतै सुनिएको छैन । सरकारको काम भनेको भाषण गर्ने मात्र हो ।

नागरिकको आँखामा छारो हाल्ने सुन्नेहरुले वाह भन्दिन्छन् ताली बजाउँछन् । कार्यान्वयनको कुरा त बर्खाको बाढीले माटोमा मिलाइदियो, सकियो । त्यसैले यदि सरकारी तवरबाटै पहल गरी हरेक पालिकामा कृषि क्षेत्रको लागि योजना बनाएर युवाहरुलाइ निःशुल्क कृषि बिमा, उत्पादन गरेबापतको सम्मान अनि आर्थिक भौतिक सहयोग भयो भने अहिलेको अवस्थामा धेरै युवा विदेशबाट फर्केर आफ्नै माटोमा सुन फलाउन तयार छन् ।

के सरकार त्यो वातावरण हामीलाई दिन तयार छ ? अझ अहिलेको कोरोना माहामारीले त एक छाक खाएर भए पनि परिवारसँगै बसौँ, मर्नै परे आफ्नै जन्मेको माटोमा मरौँ भन्ने सन्देश दिएको छ । के छैन मेरो देशमा ? हरेक चिज छ । जुन त्यसै सडेर गएका छन् ।

रुखको बोक्रामा लाग्ने झ्याउ, ल्याउ, मकैको डाँठ, केराको पात, सुकेको कागती आदि थुप्रै चिजहरु महँगो मूल्यमा बिक्दो रहेछ । अझ अर्गानिक तरकारी त सुनको भाउमा निर्यात गर्न सकिन्छ । त्यसैले म भन्छु, सरकार हरेक देशसँग समन्वय गरी हरेक क्षेत्रको उत्पादनलाई निर्यात गरौँ ।

नेपाली काम गर्न विदेश होइन, विदेशी काम गर्न नेपाल आउनको लागि भिसाको पर्खाइमा हुने छन् । युवालाई राजनीतिक सिपाही होइन, कृषि सिपाही बनाएर उत्पादनमा खटाउने काम गरौँ । देश आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्ने अवस्थामा पुग्नेछ ।

युवाहरुले कमाएको रेमिट्यान्समा मात्र होइन, युवाहरुको सीप, लगनशीलता अनि उत्पादनमा पनि सरकारले उचित ध्यान देओस् र म जस्ता युवालाई हरेक क्षेत्रमा सहयोग गरोस् । म देश फर्केको वर्षदिन नबित्दै फेरि विदेशिनुपर्ने बाध्यता नबनोस् ।

अन्तिम अपडेट: चैत २, २०८०

1 Comments

  • अनुप ज्ञवाली

    Aug. 5, 2020, 1:44 p.m.

    सार्‍है नै मन छुने लेख छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया