व्यङ्ग्य - सुनको भाउ बढ्नुको पाँच रहस्य

 साउन २४, २०७७ शनिबार ९:८:५० | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डौ - कोरोनाको सङ्क्रमण, नेकपाको घरझगडा र सुनको भाउमा को कतिसम्म बढ्न सक्ने भन्ने हानथाप छ । तीनैथरी हतपति अडिने र झर्ने मूडमा छैनन् । सके र पाएजति बढेको बढ्यै गर्ने सुरमा छन् । 

कोरोना सङ्क्रमण र नेकपाको घरझगडा किन बढ्यो भन्ने कुरा कोरोना परीक्षणको पीसीआर रिपोर्ट र नेकपाको चुनाव चिन्ह घामजस्तै छर्लङ्ग छ । हामी सबै घरभित्र बस्न नसक्दा कोरोना बढ्यो, नेकपाका सबै शीर्षका शीर कुर्सीमा नअटेपछि घरझगडा बढ्यो । 

त्यसो भए सुन चाहिँ किन बढ्यो त ? अहिलेसम्म कसैले भन्न नसकेको केही तथ्य कोरोनाकै सेरोफेरोसँग सम्बन्धित छ । तपाईंले ‘ए हो त नि’ भन्नुपर्ने खालका केही तथ्य अब थाहा पाउनुहोस् ।

१.

कोरोनाबाट जोगिन मास्क अनिवार्य लगाउनुपर्छ भन्ने सबैलाई थाहा छ । तर धेरैले लगाउँदैनन् । एक्लै हिँड्दा लगाउँछन्, साथीभाइ भेट्दा फुकाल्छन् । कतिले कानमा झुण्ड्याउँछन्, कतिले चिउँडोमा अड्याउँछन् । कतिले चाबी हल्लाएझैं हातको औंलाले घुमाउँदै पनि हिँड्छन् । नाक र मुख छोप्नुपर्ने मास्क धेरैले किन सही तरिकाले लगाउँदैनन् त ? यसको खास कारण पत्ता लागेको छ । 

सबैभन्दा ठूलो कुरा मास्क लगाउँदा मास्कको तुना कानमा अड्याउनुपर्छ । कानमा पहिल्यै चश्माको बिँड हुन्छ । महिलाहरुको कानमा झुम्का, फुली, टप र ढुङ्ग्री पनि हुन्छ । चश्माको बिँड मात्रै भए त मास्कको तुनाले कानलाई त्यति भार नपर्ला ।

तर गरगहनाले भरिएको कानमा मास्कको तुनासमेत थपिँदा बिचरो एक चौटो कानले कति भार बोक्नु ? त्यसमाथि कानका गरगहनाले मास्कको तुना भिर्न पनि अप्ठ्यारो हुन्छ । तुना मात्रैले त कानको गरगहना छोपिँदैन, थप भार मात्रै पर्ने हो । तर समस्या ओठ र नाकमा हुन्छ ।

प्रायः महिलाको नाकमा फुली र बुलाकी हुन्छ । ओठमा लिपिस्टिक । मास्क लगाएपछि नाकमा लगाएको फुली र बुलाकी छोपिन्छ । ओठको लिपिस्टिक बिग्रन्छ । नाकमा गहना र ओठमा लिपिस्टिक भएको कुरा हेर्नेले देख्दैन । देखाउनकै लागि लगाएको कुरा नदेखिएपछि लगाएको र नलगाएको अर्थ नै भएन । त्यसैले धेरैले मास्क नलगाएका हुन् ।

अब सुनको भाउ सस्तो नै भैरह्यो भने त कान र नाकमा गरगहना थपिएलान् । मास्क लगाउन झन् अप्ठ्यारो होला । मान्छेले मास्क नै लगाएनन् भने कोरोना झन् फैलने डर हुन्छ । भाउ बढाएपछि त नाक र कानमा पहिल्यैदेखि भएको गरगहना पनि फुकाल्छन् । मास्क लगाउन सजिलो हुन्छ । यही कुरा बुझेर नै सुनको भाउ बढाइएको हो ।

२.

कोरोनाबाट बच्न मास्क लगाएर मात्रै सुख पाईंदैन । साबुनपानीले बेलाबेला हात पनि धुनुपर्छ । स्यानिटाइजर दल्नुपर्छ । हात धुँदाधुँदा, स्यानिटाइजर दल्दा दल्दा हातको छाला त जाला भन्ने डर भैसक्यो । औंलामा लगाएको औंठी र पाखुरामा भएको बालाको के हालत होला ? खिइएर सकिएला भन्ने डर । 

कहिलेसम्म हात धोइरहन र स्यानिटाइजर दलिरहन पर्ने हो भन्ने थाहा छैन । महिनौंसम्म, वर्षौंसम्म यसैगरी हात धुने र स्यानिटाइजर दल्ने गरिरह्यो भने सुनको औंठी र बाला खिइने डर हुन्छ । सस्तो भैरह्यो भने त मान्छेले यस्तो अमूल्य धातु हात धोएरै सक्छन् । त्यसैले मान्छेले नयाँ किन्न त के, लगाइरहेको पनि फुकाल्नपर्ने गरी सुनको भाउ बढाइएको हो । 

३. 

सुनले भोक मेट्दैन, आङ ढाक्दैन । सुन लगाउने भनेको अरुलाई देखाउनको लागि हो । अझ चाडपर्व, विवाह, ब्रतबन्ध र भोजभतेरमा सुनका गरगहना देखाउने प्रतिष्पर्धा हुन्छ । सुन देखाउनकै लागि चाडपर्व आइरहोस् र भोजभतेरबाट निम्ता मिलिरहोस् भन्ने धेरैलाई लाग्छ । अनि मौका पाउनेबित्तिकै भएभरका गरगहना भिरेर जमघट भैहाल्छन् । सुनको गरगहना देखाउनकै लागि भोजभतेर जमघटमा धेरै मान्छेको घुईंचो हुन थाल्यो । 

सुनको गहना भएन भने त धेरै मान्छे विवाह, ब्रतबन्ध र भोजभतेरको निम्ता आए भने पनि जाँदैनन् । घरमै बस्छन् । मान्छेसँग सुनको गहना तब हुँदैन, जब किन्न सक्ने हैसियत हुँदैन । त्यसैले कोरोनाको डर नै नमानी भोजभतेर र समारोहमा सुन देखाउन जानेलाई घरभित्रै राख्न सुनको भाउ बढाइएको हो ।

४.

कोरोनाले घरघरमा समस्या बढाएको छ । रोगभन्दा बढी भोकको चिन्ता छ । काम र कमाइ गुमेको छ । अलिअलि भएको पनि सकिन थालिसक्यो, भोलिपर्सि के खाने भन्ने चिन्ता छ । संकटको योबेला फारोतिनो गर्नुपर्छ । अनावश्यक खर्च गर्न हुँदैन । तर घरमा नुन नभए पनि अलिअलि भएको पैसा सुनमा खर्च गर्ने धेरैको प्रवृत्ति छ ।

सुनको भाउ बढेन भने त मान्छेले फेरि नुनको सट्टा सुन नै किन्न सक्छन् । त्यसमाथि खान नपाएर ख्याउटे भएको शरीरमा सुन पनि सुहाउँदैन । नुन किन्न मात्रै ठिक्क हुने पैसा सुन किनेर खर्च नगरुन् र भएको सुन पनि बेचेर नूनको जोहो गरुन् भन्ने उदेश्यले सुनको भाउ बढाइएको हो ।

५.

सबैभन्दा महत्वपूर्ण कुरा नाममा छ । नाम चाहिँ सुन, तर मान्छेले सुन्दैनन् । सुन मात्रै भन्दा किन भनेको सुन्दारहेछन् । अनि रीन गरेर भए पनि सुन किन्छन् । बरु खाँदैनन्, सुन देखाएर हिँड्छन् । अब सुनलाई नामअनुसारकै बनाइराख्न भाउ बढाइएको हो । सुन अर्थात सुन्नको लागि मात्र । किन्न र पहिरनको लागि होइन । 

लगाउन र पहिरनको लागि भए त नाम किन सुन हुन्थ्यो र ? लगाउ या पहिर भन्ने हुन्थ्यो । सुन भनेपछि त भाउ मात्रै सुन्ने हो, किन्ने र लगाउने होइन । त्यसैले सुन्नको लागि मात्र हुने गरी सुनको भाउ बढाइएको हो ।

अन्तिम अपडेट: असोज १०, २०७७

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Badri Dhakal

    Aug. 9, 2020, 5:21 a.m.

    सटिक ब्यङ्ग्य ।

  •  0 Reply

तपाईको प्रतिक्रिया