हमासले युद्धविरामसम्बन्धी सम्झाैताकाे प्रस्ताव स्वीकार गर्‍याे

 बैशाख २५, २०८१ मंगलबार १८:२८:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

प्यालेस्टिनी विद्रोही समूह हमासले कतार र इजिप्टको मध्यस्थतामा भएको युद्धविरामसम्बन्धी सम्झौताको प्रस्ताव स्वीकार गरेको छ । पहिलो चरणमा छ हप्ताको युद्धविराम गर्ने र त्यस अवधिमा महिला, बालबालिका, वृद्ध र बिरामीसहित ३३ जना इजरायली बन्धकको रिहा गर्ने उल्लेख रहेको इजिप्टका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

हमासले रिहा गरेको प्रत्येक इजरायली बन्धकका लागि ३० प्यालेस्टिनी महिला तथा बालबालिका रिहा गर्ने प्रस्तावमा उल्लेख छ । यस्तै प्रस्तावमा इजराइली सेना विस्तारै गाजाका केही भागहरूबाट फिर्ता हुने र जासुसी उडानहरू दैनिक १० घण्टाका लागि रोकिने उल्लेख रहेको सीएनएनको खबरमा उल्लेख छ । हमासले स्वीकार गरेको यो प्रस्तावमा सम्झौता भएमा गाजामा चलिरहेको द्वन्द्व रोक्न सम्भावित सफलताको प्रतीक भएको सीएनएनले जनाएको छ ।

इजिप्ट र कतारको प्रस्ताव हमासले स्वीकार गरेपछि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजराइली सरकार र हमास दुवैलाई युद्धविराम सम्झौतामा सहमत हुन आह्वान गर्नुभएको छ । तर इजरायलले यो प्रस्ताव आफ्ना माग पूरा गर्न नसक्ने भन्दै रफाहामा सैन्य कारबाहीलाई निरन्तरता दिने चेतावनी दिएको सीएनएनले जनाएको छ ।

एक अमेरिकी उच्च अधिकारीले हमासले प्रस्ताव स्वीकार गर्नु महत्त्वपूर्ण रहेको भन्दै अन्तर्राष्ट्रिय दबाबबाट इजरायल पनि यो प्रस्तावको पक्षमा आउने विश्वास व्यक्त गरेका सीएनएनले जनाएको छ ।

यसैबीच इजरायली सेनाले प्यालेस्टाइनको पूर्वी रफाह क्षेत्र आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको छ । रफाहमा हमास विद्रोही रहेको शङ्कामा इजरायली सेनाले हिजो रातारात एक लाख जना शरणार्थीलाई निकालेर आक्रमण गरेको थियो । इजरायली सेनाले पूर्वी रफाह क्षेत्र नियन्त्रणमा लिएकोमा विरोध गर्दै इजिप्टले यो कदम खतरनाक रहेको बताएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया