यो टापुमा हामीलाई लिन जहाज कहिले आउला ?

 साउन २८, २०७७ बुधबार ७:३५:५३ | उज्यालो सहकर्मी

रमेश क्षत्री पोखरा/हाल सिसेल्स ।

कोरोना आयो । यसले न भेग हेर्‍यो न त धनी गरिब । कोरोनाको मारमा परदेशमा रहेका धेरै नेपाली परे । खाडीका देशसहित यूरोपतिरबाट पनि नेपालीको उद्धार भयो । तर हामी यस्तो ठाउँमा छौं, जहाँ सरकारको आँखा पुगेको छैन ।

हामी सेसल्समा छौं । यहाँ पनि हाम्रो समस्या छन् । हामी समस्यामा छौं । तर सरकारले यहाँ समस्यामा परेका नेपालीतिर खासै ध्यान किन नदिएको होला ? यहाँ कोरोना महामारीका कारण लकडाउन सुरु भएपछि धेरै नेपाली समस्यामा परेका छन् ।

कतिपयलाई खान बस्न मात्र दिएर राखेको छ । कतिपयको रोजगारी गुमिसकेको छ । धेरैको काम छैन । काम र कमाइ विना महिनौंसम्म बस्नु पर्दाको हजारौं पीडा शब्दमा कसरी उत्तारौं सरकार ? यहाँ हामी पनि अन्य देशमा जस्तै घर फर्कनका लागि जहाज कुरेर बसेका छौं ।

तर न यहाँ नेपाली दूतावास छ, न त समस्या राख्ने अरु कुनै निकाय नै । यस्तो ठाउँमा हाम्रो समस्या कहाँ राखौं ? घर जान पाउँ भनेर कसलाई भनौं ? खानबस्न पाइन भनेर कोसँग गुहार माग्नु ?

यहाँ होटल क्षेत्रमा सेक्युरिटी गार्ड र कोही रेस्टुरेन्टमा काम गर्छन् । तर यो ठाउँमा जबसम्म विदेशी पर्यटक आउँदैनन्, तबसम्म हामी बेरोजगार हुने भयौं ।

किनभने पर्यटक विना यहाँका होटल र बार रेस्टुरेन्टहरु चल्दैनन् । अहिले केही मात्रामा यहाँको सरकारी प्रहरीमा जागिरे पनि छन् नेपालीहरु । उनीहरुको लागि त राम्रो नै छ । तर होटलको क्षेत्रमा काम गर्ने नेपालीहरुको अवस्था बिग्रंदै गएको छ । काम छैन ।

धेरैको रोजगारी गुमेपछि महिनौंदेखि कुरिरहेका छौं । तर कहिले आउला त जहाज ? आउला या नआउला ? आश पनि कसरी गर्नु ? खाडीका देशबाट धेरै नेपाली घर फर्किसके । तर हामी कुरेको कुरेकै छौं ।

अचम्म लाग्छ के यो टापुमा चाहिँ हाम्रो समस्या समस्या हैन र ? कि हाम्रो समस्याबारे सरकार जानकार छैन ? हामी समस्यामा परेको तीन महिनासम्म पनि यहाँ एउटा जहाज आएको छैन ।

बताइदेउ न सरकार हाम्रो उद्धारका लागि कहाँ कसरी पहल गर्नु पर्ने हो ? कसरी बिन्ती बिसाउनु पर्ने हो ? कि आशै आशमा दिन कुरेर बस्नुपर्ने हो ?

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Ram bhusal

    Aug. 12, 2020, 10:48 a.m.

    सही हो, जहाँ दुतावास छैन, त्यहाँ पनि नेपाली छन् भन्ने सरकारको आँखा यता लागेको छैन , त्यसैले म पनि त्यस्तै पीडामा छु / म हाल ताइवानमा छु ..यहाँवाट कहाँ सम्पर्क गर्ने थाहा भएन / काम सकेको अप्रिल १७ मा हो , नेपालको एयरपोर्ट खोल्ने आशामा बसिरहेको छु , खाने पैसा पनि सकिसक्यो / कम्पनीले टिकट दिएको छ , इमिरेट्सको, तर काम छैन/ ताइपेइ-दुबई दुबई काठमाण्डौको मेरो नम्वर हो ०९०७३०४४८२ / भदौ १ मा एयरपोर्ट खुल्ने भो भनेको , फेरि सर्यो / हैन, कहिले होला नेपालको सरकारले नागरिकलाई हेर्ने ??

  •  0 Reply

तपाईको प्रतिक्रिया