बलराम बानियाँ : बिर्सिन नसकेका तीन प्रसङ्ग

 साउन ३२, २०७७ आइतबार ७:२९:९ | कुमार रञ्जित
unn.prixa.net

काठमाण्डाै  - “कान्तिपुर” दैनिकका सहायक सम्पादक रहेका मित्र बलराम बानियाँको अत्यन्तै दुःखद्, आकस्मिक र अस्वाभाविक निधनको खबर फेसबुकमा मित्र गोविन्द चौलागाईँले गरेको पोष्ट पढेदेखि नै दिमागमा उनीसित भएको तीन प्रसङ्ग फनफनी घुमिरह्यो । केही मिनेटपछि त्यसैलाई शेयर गरेर यो दुःखद् घटना सत्य नहोस् भनेर कामना गरेँ ।

एक शान्त प्रकृतिका श्रमजीवी पत्रकारको जीवन दुःखद् अन्त्य कसरी यस प्रकार हुन सक्छ ? यो प्रश्नको उत्तर पाउने आशामा धेरैबेर सामाजिक सञ्जालहरुमा औँला चलाइरहेँ । जति समय बित्दै गयो, त्यति नै रहस्यमयी कथाका पानाहरु पढेँझैँ लाग्न थाल्यो । भवितव्य र दुर्घटना जस्ता शब्दले नै उनको जीवनको पुस्तक बन्द हुने हो कि जस्तो लाग्यो । केही दिनमा सत्यतथ्य आउँछ कि भनेर सर्च गरी नै रहेँ । तर अनुसन्धानबाट नयाँ तथ्य आएको देखिएन । 

संसद भवन बनेको नयाँ बानेश्वरमा रहेकाे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मूलद्वार अगाडि केही वर्षअघि संसद सचिवालयकै पूर्व सचिव सोमबहादुर थापाका साथ हिँड्दैै गर्दा केही मिनेटका लागि भेट र कुराकानी भएपछिका दिनहरुमा हामीबीचको सम्बन्ध लामो समयदेखि फेसबुकमा मात्र सीमित रहेको थियो । यसै क्रममा हामीबीच भएका केही प्रसङ्ग भने स्मृतिमा ताजै रहेका छन् । 

बलरामजीसित मेरो परिचय २०५८ सालमा सिंहदरबाको पुरानो संसद भवन रहेको ग्यालरी बैठकको प्रांगणमा समाचार संकलनकै क्रममा भएको हो । त्यतिबेला म भर्खरै प्रकाशित हुन थालेको “राजधानी” दैनिकका लागि कार्यरत थिएँ । उनी “कान्तिपुर” दैनिककै पूर्व परिचित मित्र हरिबहादुर थापाका साथ रिपोर्टिङमा आउन थालेका थिए । 

संसदका अधिवेशनहरु चल्दै गर्दा हामी रिपोर्टिङमा जाने समाचारदाताहरु समाचारका नयाँ-नयाँ विषय खोज्दै सांसदहरुसित समूहगत रुपमा भेट्ने गर्दथ्यौँ । संसदीय समितिका कार्यकक्षहरुमा पनि भेला भएर छलफल गर्दथ्यौँ ।

एक दिन प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित सांसद डीबी लामा बोल्दै थिए । उनी रसुवामा भएका विकास निर्माणका कार्यमा सरकारले पक्षपात गरेर जिल्लालाई नै पछि पारेको विषयमा सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गरेपछि हामीलाई लाग्यो कि उनीसित भेटेर थप विस्तृत विवरण माग्नु पर्दछ । सल्लाह गरेरै बलराम, “सन्ध्याकालीन” दैनिकका सनत गिरी र मैले लामालाई सूचित गरेर प्रतिनिधिसभा रहेको ग्यालरी बैठकको उत्तरी ढोकामा निस्कियौँ ।  

त्यहाँ उभिएरै हामी तीनै जनाले सांसद लामाबाट विस्तृत विवरण लियौँ । समाचार टिपिसकेपछि पूर्व प्रहरी महानिरीक्षक समेत रहिसकेका लामाले खल्तीबाट हजार रुपैयाँका नोट निकालेर हामीतर्फ अघि सार्दै चिया खान अर्‍हाएजस्तै गरे । अप्रत्याशित रुपमा आएको यस्तो चिया खाने आदेशलाई हामी तीनै जनाले अस्वीकार गरेपछि लामा “ए...”भन्दै फनक्क फर्केर गए । 

यसरी एक सांसदले आफ्नो कुरा पत्रिका छपाउन पनि अप्रत्यक्ष रुपमा रुपैयाँ अगाडि सारेकोलाई हामीले “घुस दिएको” रुपमा समाचार लेखेरै दुरुत्साहित गर्ने सहमति गर्यौँ । त्यसैअनुरुप भोलिपल्ट हामी सम्बद्ध तीनवटै पत्रिकाको पहिलो पृष्ठमै समाचार छापिएर आएपछि त्यसको ठूलो चर्चा भयो । प्रतिनिधिसभाको बैठकमै पनि केही सांसदहरुले कुरा उठाएर समाचारका लागि“घूस दिने प्रवृत्ति”को विरोध गरे । त्यसपछिका दिनमा लामाले संसदका बैठकहरु चलिरहँदा पत्रकार दीर्घातर्फ नै हेर्न छाडे भनेर साथीहरुले हामीलाई भन्थे ।

अर्को स्मरण प्रतिनिधिसभा अन्तर्गतकै राज्य व्यवस्था समितिमा हामी समाचार संकलन गर्न पुगिरहेका बेलाको हो । एकदिन समितिका सभापति होमनाथ दाहालले आफ्नै कार्यकक्षमा हामी रहेकै अवस्थामा कर्मचारीलाई बास्नादार सेन्ट छर्कन अर्‍हाउनु  भयाे  । त्यस्तोमा बलरामजी लगायत हामीले “भइहाल्यो नि, सेन्ट नछर्किए पनि हामीलाई भैहाल्छ” भन्यौँ । 

सेन्ट छर्कन केही कारणले ढिलाई हुन पुगेकोमा सभापति दाहालले ती कर्मचारीलाई कडाइ नै गरे । त्यस्तोमा बलरामजीले सभापति दाहाललाई भने, “हिजो जेलनेल भोगेका नेताले आज कोठामा सेन्ट छर्नका लागि दबाव दिइरहनु सुहाउँदो कुरो भएन ।”यस कुराले त्यहाँ रहेका सबै चुपचाप मुखामुख गर्ने वातावरण बन्यो । 

अर्को घटना तात्कालीन विद्रोही समूह नेकपा माओवादीका नेता कृष्णबहादुर महरासित सम्बन्धित छ । महरा विद्रोही समूहको प्रतिनिधिमूलक नेतृत्व गर्दै सरकारसित वार्ता गर्न सार्वजनिक भएका थिए । उनी माओवादी विद्रोह सुरु हुनुअघि २०४८ साल वैशाख २९ गते भएको निर्वाचनमा रोल्पाको २ नम्बर क्षेत्रबाट निर्वाचित भएर सांसद हुँदा प्रतिनिधि सभामा बोलेका र अन्य कार्य गरेका अभिलेखहरु मसित सुरक्षित थियो । 

त्यसै क्रममा महराले तत्कालीन रोल्पा जिल्ला सभापति झक्कु सुवेदीको घर जाँदा बम बिस्फोट गरेर दुबैलाई राज्यले मार्ने षडयन्त्र गरेको विषयमा तत्कालीन सभामुख दमननाथ ढुंगानाको ध्यानाकर्षण गरेका थिए । त्यही कुरा जोडेर मैले वार्तामा आएका महराबारे समाचार विश्लेषण “राजधानी” दैनिकमा लेख्ने क्रममा उनको फोटो भेटिएन ।

महराको फोटो संसद सचिवालयको पुस्तकालयमा छ कि भनेर पनि खोजी गरेँ । त्यसै क्रममा बलरामजीले फोटो खोज्न पनि सहयोग गरे । संसद सचिवालयमा पनि फोटो नभेटिएपछि “हिमाल”पाक्षिकमा प्रकाशित फाेटो राखेरै प्रकाशित भयो । 

भोलिपल्ट राजधानी दैनिकमा महराको फोटो सहित पृष्ठभूमि र विश्लेषण छापिएपछि बलरामजीले भने, यो कथा मैले भेटेको भए अर्कै किसिमबाट बनाउँथेँ । त्यतिबेला लामो समयको अनुभवी कपी एडिटर बलराम बोलिरहेको थियो । 

यी तीन प्रसंगहरुले मलाई बलरामजी सम्झाइ रहन्छ । उनको दुःखद् निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण र परिवारजनमा समवेदना व्यक्त गर्दै घटनाको सत्य तथ्य उजागर गर्न निष्पक्ष छानबिनका लागि सम्बन्धितमा हार्दिक अनुरोध गर्न चाहन्छु । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया