‘हामी परदेशी हिजो देश छोड्दा पनि दुःखी थियौँ, आज फर्किन नपाउँदा पनि दुःखी नै छौँ ।’

 साउन ३२, २०७७ आइतबार १३:९:५२ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

सुरेश राई/उदयपुर, हाल यूएई

परदेशीका पीडा त कति छन् कति । हामी मरुभूमिमा यसरी दुःख गरिरहेका छौं ।

आफ्नो परिवार र देशको विकास होस् भन्ने सोचेर रातदिन काममा खटिरहेका हुन्छौं । तर सरकारले भने हामीहरुको अवस्थाको बारेमा जान्ने कुनै चासो राख्दैन । अनि दुःख लाग्छ हामीलाई ।

सरकारलाई मेरो अनुरोध छ, दुनियाँभरका गफ दिएर गरीबहरुको जीवन बर्बाद नपारिदेउ । हामी परदेशी हिजो देश छोड्दा पनि दुःखी थियौँ आज फर्किन नपाउँदा झन् दुःखी छौँ । अहिले देशमा मात्र होइन विदेशमा रहेका नेपाली युवा पनि आक्रोशित छन् । यो आक्रोशको सही मूल्यांकन गरिएन भने, परदेशीको पीडाहरुलाई सम्बोधन गरेर देशमै रोजगारी सिर्जना गरिएन भने देशमा फेरि आन्दोलन हुनेछ । सरकारले यो कुरा बुझ्न जरुरी छ ।

पक्कै पनि हामी परदेशमा काम गर्छौं तर हाम्रो मन आफ्नै देशको हालखबर बुझ्नमा लागिरहन्छ । सरकारका कामकारबाही देखेर परदेशको तातो हावाले भन्दा बढी मन जलाउँछ । लाग्छ, सरकार कता जाँदैछ ? कतै मेरो देशको सरकार पनि खाडीमा बिचल्लीमा परेका युवाजस्तै बिचल्लीमा त परेको छैन ?

उद्धारमा यति करोड सकियो उति सकियो भनेर दिनहुँ भाषण दिइरहन्छन् तर खै हामीहरुको उद्धार भएको ? कहाँ गयो त्यति करोड रुपैयाँ ? त्यसै त पोलिएको मनमा यस्ता भाषणले मट्टीतेल छर्केर आगो लगाइदिए जस्तै लाग्छ ।

केही गरौं भनेर नेपाल जाँदा कतै दलाल, कतै नेता भनाउँदा ठूलाबडाको चाकडी गर्नुपर्ने । के यो विना देशविकास सम्भव छैन र ? के हामी युवाले सहज रुपमा आफ्नै देशमा काम गर्ने वातावरण नमिल्ने हो र ? सरकारबाट पाइने अनुदानको बारेमा बुझ्न सरकारी कार्यालयदेखि पालिकासम्म जाँदा आफूले सोधेको जवाफको उत्तर पाउनै सकिंदैन । त्यसैले जबसम्म देशको अवस्था यस्तो हुन्छ तबसम्म हामीहरुको बाध्यता नै हुनेछ परदेश ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया