उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ - शुक्रबार बिहान एक जना छिमेकीको फोन आयो । सोचेँ कोरोना सङ्क्रमण भएका म र मेरी श्रीमतीलाई ढाडस दिन फोन गरे ।
मनमा पीर भएका बेला मान्छेले अरुबाट सहयोग र सहानुभूतिको अपेक्षा गर्छ । मैले पनि त्यही गरेँ । उहाँले एकछिन बाहिर हेर्नु न भन्नुभयो । पीडामा मल्हम लगाउन छिमेकी आए भनेर खुसी हुँदै हतारहतार बाहिर हेरेँ ।
घर अगाडि आठ/दश जना हुनुहुँदो रहेछ । व्यस्तताले गर्दा छिमेकीसँग मेरो खासै हिमचिम थिएन । सामान्य हाई हेल्लो हुन्थ्यो । छिमेकीसँग धेरै निकटता नभएको मेरो परिवारमा समस्या आउँदा छिमेकीहरुको समूह नै आएको देखेर खुशीले गदगद भएँ । कोरोना पुष्टि भएर मनमा खेलेका अनेक तर्कनाहरु एकाएक गायब भए ।
तर मेरो खुसी क्षणभर पनि टिकेन । समूहमा रहेका एक जनाले भन्नुभयो ‘तपाइँको घरमा एउटा सूचना राख्नु थियो, त्यसको लागि अनुमति माग्न तपाइँलाई बोलाएको ।’ मैले किन र कस्तो सूचना भनेर सोधेँ । उहाँले एउटा ब्यानर देखाउँदै यो सूचना तपाइँको घरमा टाँस्नको लागि अनुमति चाहिएको भन्नुभयो । ब्यानरमा ‘सावधान, कोरोना सङ्क्रमितको घर’ लेखिएको थियो ।
छाति चसक्क गर्यो । भर्खर झुल्किएका घामको किरणमा पनि अँध्यारो अनुभूति भयो । भर्खरै सोचेको छिमेकीको न्यानो सामिप्यता गायब भयो । छिमेकीले स्वास्थ्यलाभको कामना गरेको सुन्न आतुर मेरा कानमा एक किसिमको नमिठो आवाजको धक्का महशुस भयो । मलाई राम्रोसँग थाहा थियो यो भाइरस आफूलाई लागेपछि अरुमा फैलन नदिन के गर्नुपर्छ भनेर । ढोकामा भित्रैबाट ताल्चा लगाएर घरको माथिल्लो तलामा बसेका थियौं । घरमा छोरालाई सङ्क्रमण भएको थिएन । उसलाई सङ्क्रमण हुन नदिन पनि सावधानी अपनाइरहेका थियौं भने बाहिर निस्कने कुरै थिएन ।
मैले सहज हुँदै ‘ठिकै छ ब्यानर राख्न अनुमति खोज्नुभएको हो भने राख्नुस्, तर यसको जरुरी किन पर्यो ? म भित्रबाट चाबी लगाएर घरको माथिल्लो तलामा बसेको छु, बाहिर निस्केको छैन र निस्कने पनि छैन, मलाई लाग्छ मेरो कारण अरु कसैलाई पनि अप्ठ्यारो पर्ने छैन । तपाइँहरुलाई केही समस्या हुन्छ जस्तो लाग्छ भने राख्नुस्, घरको चारैतिर राखे पनि हुन्छ’ भनेँ ।
उहाँहरुले कोरोना सङ्क्रमण फैलन नदिन टोलसुधार समितिले सङ्क्रमितको घर र घर जाने बाटोमा ब्यानर राख्ने निर्णय गरेकोले आफूहरु त्यही अनुसार ब्यानर राख्नको लागि आएको बताउनुभयो ।
मैले थपेँ, ‘ठिकै छ टोलसुधार समितिकै निर्णय हो भने राख्नुस् । समुदायमा बसेपछि मैले समुदायको नियम र निर्णय मान्नैपर्छ । तर यसो गर्नु ठिक चाहिँ पटक्कै हैन । आज मेरो परिवार सङ्क्रमित भयो । भोलि यो दिन जोसुकैलाई आउन सक्छ । सङ्क्रमितलाई ढाडस दिनुपर्नेमा हामीले बहिस्कारको व्यवहार गर्यौँ भने उसलाई सामाजिक विभेदमा परेको महशुस हुन्छ । आत्मबल कमजोर हुन्छ । यसै पनि यो रोगको खास उपचार नभएकोले निको हुन आत्मबल नै चाहिने हो । यदि आत्मबल कमजोर भयो भने सङ्क्रमित थप जोखिममा पर्न सक्छ ।
तत्काल मात्र हैन समाजले गर्ने फरक व्यवहारका कारण सङ्क्रमितले निको भएपछिको लामो समयसम्म पीडा भोग्नुपर्छ । भोलि पनि सहज जीवनयापनमा समस्या हुन सक्छ । अहिले जोखिममा रहेका स्वास्थ्यकर्मीहरु मात्र हैन आम सङ्क्रमितहरु यस्ता क्रियाकलापबाट अरु समस्यामा पर्छन् । यो रोग र बच्ने उपायको बारेमा स्वास्थ्यकर्मीको नाताले तपाइँहरु भन्दा मलाई केही बढी नै थाहा छ ।
यसैले म यो सङ्क्रमण अरुमा नफैलियोस् भन्ने कुरामा सचेत छु । म मात्र हैन अरु कोही सङ्क्रमितले पनि जानीजानी अरुलाई सङ्क्रमण फैलाउँदैन । विभिन्न कारणबाट उसमा सङ्क्रमण भएको हुन सक्छ । त्यसैले उसलाई सहज वातावरण सृजना गर्ने दायित्व समुदायकै हो ।
अझ अहिले सङ्क्रमण भएर निको भएका व्यक्तिको रगत नयाँ सङ्क्रमितको उपचारको लागि प्रयोग गर्न थालिएको छ । समाजमा निको भएका व्यक्तिलाई भोलि त्यसका लागि पनि उपयोग गर्न सकिन्छ । समुदायस्तरमा कोरोना फैलिँदा पहिले सङ्क्रमण भैसकेका व्यक्तिहरु सङ्क्रमणको चेन चुँडाउन ढालको रुपमा प्रयोग हुन सक्छन् । यस्ता कुरातर्फ पनि हामी सचेत भएर 'सङ्क्रमितलाई अपमान हैन, हौसला दिने काम गरौँ न । छिमेकमा त यस्तो हुनु पर्ने हैन र ?’
चुपचाप मेरो कुरा सुनेपछि उहाँहरु मुखामुख गर्नुभयो । के सोच्नुभयो कुन्नि, ब्यानर पट्याएर झोलामा राखी त्यहाँबाट बाटो लाग्नुभयो ।
सतर्कता अपनाउँ तर अपमान नगरौँ
यदि म कोरोना सङ्क्रमित भएपछि बाहिर हिँडे भने मलाई सम्झाउनुपर्छ । नमाने थर्काउन पनि सकिन्छ । तर सुरक्षित भएर बसेको मानिसलाई आत्मबल घटाउने खालको काम गर्नुहुन्न । यदि कोरोना सङ्क्रमितको बारेमा समुदायलाई जानकारी दिनैपर्छ भने पनि त्यो टोल विकास समितिले गर्ने कि स्थानीय सरकारले गर्ने त्यो पनि अधिकार क्षेत्र होला ।
यो किन गरिँदैछ भन्ने कुरा पनि स्पष्ट हुनुपर्ला । ठूलै अपराध गरेको मानिसलाई त सामान्य जीवनमा फर्काउन सहयोग गरिन्छ भने कोरोना सङ्क्रमण हुनु त कुनै अपराध हैन । कोरोनालाई लिएर हाम्रो समाजको सोच परिवर्तन गर्नै पर्छ । मानिसलाई अलि सकरात्मक रुपमा सोच्न प्रेरित गर्नुपर्छ । बिरामीलाई छिमेकीहरुले हौसला दिए भने चाँडो निको हुन्छ । तर अपमान गर्न थालियो भने कोरोना भन्दा मानसिक समस्याले बढी हानी गर्न सक्छ । कतिपय ठाउँमा आत्महत्यासम्मका घटना सुनिएका छन् । यस्ता घटनामा कतै न कतै समुदायले गर्ने खराब व्यवहार कारण बनेका हुन्छन् ।
समाजमा कतिपय यस्ता व्यवहार अन्जानमा भएका हुन्छन्, त्यसो हो भने ती मानिसहरुलाई बुझाउनुपर्छ । सम्झाएपछि त्यस्ता व्यक्तिले व्यवहार सुधार्छन् । तर कतिपयले जानीजानी पनि यसो गरिरहेका छन् । यदि जानेबुझेकै मान्छेले कोरोना सङ्क्रमितलाई अपमान गरेका छन् भने चाहिँ त्यो समाजकै लागि ठूलो समस्या हो ।
मेरो घरमा ब्यानर ल्याउनुको सट्टा शीघ्र स्वास्थ्य लाभ लेखेको ब्यानर ल्याइदिएको भएमा कति राम्रो हुन्थ्यो । मनमा पलाउने आत्मविश्वासले मेरो परिवारको सङ्क्रमण हटाउन आधा काम त्यसैले गथ्र्यो । एक किलो फलफुल ल्याइदिएको भएमा खानु नखानु मेरो कुरा हुन्थ्यो तर दुःख पर्दा छिमेकीहरु कोसेली लिएर भेट्न आए भनेर मेरो आत्मबल उच्च हुन्थ्यो । समाजले यतातिर सोच्नुपर्छ ।
पहिले-पहिले कुष्ठरोग लगायतका रोग लागेकाहरुलाई पनि यस्तै व्यवहार भएको सुनिन्थ्यो । अहिले कोरोनामा पनि यस्तै देखिएको छ । त्यो बेलाको समाज अलि कम बुझेको थियो, तर अहिले त शिक्षित समाज छ । यस्तो कुरा गर्नु भएन । कोरोना लाग्छ कि भन्ने डर सबैमा हुन्छ तर कसरी सर्छ भन्ने कुरा सबैलाई थाहा भैसकेपछि आफू सुरक्षित हुने तरिका अपनाउनुपर्छ । अरुलाई दोष दिने हैन ।
घरमा १२ बर्षको छोरो छ । उसले उहाँहरु किन आउनुभएको भनेर सोध्दा उसलाई के भन्ने मसँग कुनै उत्तर भएन । हामी किन यति धेरै नकरात्मकतातर्फ उन्मुख भएका छौं ? यसले समाजलाई कहाँ लैजान्छ ? यसबारेमा सबैले मनन गर्नुपर्छ । समाजको डरका कारण अझ सङ्क्रमितहरु लुक्न सक्छन् । सङ्क्रमित लुक्दा सङ्क्रमण फैलने जोखिम अझै बढ्छ । त्यसैले यो रोगलाई सामान्यीकरण गर्दै एकले अर्कोलाई आरोप प्रत्यारोप गरेर हैन सबै मिलेर मात्र कोरोना महामारीलाई जित्न सकिन्छ भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी छ ।
(रत्ननगर बकुलहर अस्पताल चितवनका मेडिकल सुपरिटेण्डेण्ट समेत रहनुभएका डा.बगालेसँग भोजेन्द्र बस्नेतले गर्नुभएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डा. विश्वबन्धु बगाले रत्ननगर बकुलहर अस्पताल चितवनका मेडिकल सुपरिटेण्डेण्ट हुनुहुन्छ ।
Durga Shrestha
Aug. 17, 2020, 1:26 p.m.सर्बप्रथमत: डाक्टर शाहेब र म्याडमको शिघ्र स्वास्थ्य लाभको कामना गर्द्छु। अन्धो समाजको आँखा खोल्ने काम गरि दिनु भएकोमा डाक्टर धन्यबादको पात्र समेत हुनुहुन्छ। यस्तै अर्को एउटा, हाम्रो सरकारको अशोभनिय कार्य प्रति ध्यानाकर्षण गराउन चाहान्छु कि, कोरोना पोजिटिभ आएको घर तथाकथित शिल गर्ने र सँक्रमितलाई ठुलै अपराधी झै व्यवहार गरि पुलिसको भ्यान ल्याएर पक्राउको शैलिमा अस्पताल लिएर जाने। यो कुकार्य अबिलम्ब बन्द गरिनु पर्दछ।