उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डौ - बिहानै आमाले खल्तीमा कुनै फल र सुका पैसा राखिदिनु भएपछि दिनको सुरुवात हुने गर्दथ्यो । “यसलाई नहराउनु है, भरे साँझमा चथाद्यःको पूजामा चढाउनु पर्दछ” आमाको यस्तो आदेशलाई शिरोधार्य गर्दै दिनभरि जहाँ पुगे पनि जतनका साथ राखिने फल र पैसा साँझ छतमा चन्द्रमालाई साक्षी राखेर गरिने गणेशको पूजामा चढाइसकेपछि मात्रै जिम्मेवारीबाट मुक्त हुने महशुुस गरिन्थ्यो ।
यस प्रकारको अनुभव काठमाण्डौ उपत्यकामा विकसित अनेकौँ सांस्कृतिक परम्पराहरुमध्ये एक महत्वपूर्ण आजको दिन भाद्रशुक्ल चतुर्दशीमा मनाइने “चथाः”मा गरिन्छ । आज परम्पराअनुसार मानिसहरुले आफूलाई लाग्न सक्ने झुटो “चोरीको आरोप”बाट बच्न महादेव र पार्वती पुत्र गणेशलाई साक्षी राखेर चन्द्रमाको पूजा गर्ने सांस्कृतिक इतिहासविद् सुरेन्द्रमान श्रेष्ठले आफ्नो पुस्तक“नेवाः संस्कृतिको इतिहास”मा उल्लेख गर्नुभएको छ ।
तिथिअनुसार बडा दशैँको अष्टमी यसको ठीक एक महिनापछि आउने हुनाले यसलाई दशैँको पूर्व तयारी पूजाका रुपमा “सानो दशैँ” पनि भन्ने गरिएको छ । यसैले नेवाः संस्कृतिका अनुयायीहरु यस दिन दशैँमा जस्तै विभिन्न परिकार बनाएर खाने गर्दछन् ।
भन्ने गरिन्छ कि यस दिन पानी परे दशैँमा पनि पानी पर्छ र यस दिन जसरी मिठो खाइन्छ, त्यसरी नै दशैँमा पनि खान पाइन्छ । धेरैजसो अवस्थामा आजका दिन वर्षा भए दशैँमा पनि वर्षा भएकै देखिएकै पाइएका छन् । यसै हप्तादेखि नेवाः सभ्यतामा “इन्द्रजात्रा” सम्बन्धित विभिन्न देवीदेवताका गुथिहरुले आफ्ना नियमित गतिविधि सुरु गर्दछन् । “इन्द्रजात्रा” आफैँ पनि देवराज इन्द्रलाई फूल चोरेको आरोपमा यहाँका नागरिकले पक्रेपछि बाँधेर सजायँ दिएको सार्वजनिक प्रदर्शन हो भन्ने पौराणिक कथा सर्वव्यापी छ ।
यसरी आजको “चथाःपूजा”, “इन्द्रजात्रा”देखि “दशैँ” सम्म जोड्ने सांस्कृतिक सम्बन्धलाई नेपाल भाषामा“ञँला”अर्थात् एघारौँ महिना भन्ने गरिएको छ । यो महिना वर्षभरिमै सबैभन्दा रमाइला चाडबाडको महिनासमेत हुनाले पोहोरसम्म सबैभन्दा बढी पर्यटक भित्रिने महिना पनि हो । तर यसवर्ष यसै अवधिभित्र एक महिने अधिकमासको प्रवेश हुने हुँदा “दशैँ” सहितअन्य चाडबाड समेत थप एक महिना पछाडि धकेलिनेछ ।
आज साँझ गरिने “चथाःपूजा”का लागि बिहानै तयारी हुने गर्दछ । विरुवामा अदुवाको बोट, उखुको बोट, फलफूलमा नास्पाती, अमला, काँक्रा, अम्बा, गेडागुडीमा मकै र भटमासका साथ आरुको बियाँसहित चढाएर गणेश रुपी सुकुन्दाका अगाडि चन्द्रमाको पूजा गरिनु नै यसको विशेषता रहेको छ । यही पूजाका क्रममा परिवारका सबै सदस्यले बिहान आफ्नो खल्तीमा सुरक्षित राखेका फल र पैसा चढाउने गरिन्छ ।
परम्परागत रुपमा चल्दै आएअनुसार यसै दिन महादेव र पार्वती पुत्र गणेशको जन्मदिन पनि भव्य रुपमा मनाइने गरिन्छ । त्यसैले आजको दिनलाई “गणेश चौथी”पनि गन्ने गरिएको छ । यस दिन नेवाः बस्तीभित्रका विभिन्न गणेशस्थानहरुमा विशेष पूजा साथै जात्रा समेत हुने गर्दछ । यसैगरी व्यापार व्यवसायमा अभ्यस्त मारवाडी समुदायमा पनि यसै दिनदेखि गणेशको मूर्ति बनाएर एक हप्ता पूजा गर्ने प्रचलन रहँदै आएको छ ।
तर नेवाः समुदाय र मारवाडी समुदायबीच पूजाविधि र परिवारमा धेरै फरक देखिन्छ । नेवाः समाजमा गणेशलाई पनि मांसाहार बनाइएको छ भने मारवाडी समाज पूर्णरुपमै शाकाहारी समाज हुनाले परिकार पनि पूर्णरुपमा मिठाई प्रधान देखिन्छ ।
त्यसैले हरेक वर्ष आजको तिथिमा नेपाल, भारतलगायत हिन्दू धर्मावलम्बी भएका देशमा गणेशका मन्दिरहरुमा भीड लाग्ने गर्दथ्यो । “चथाःद्यः”पूजा गरेर दशैँको पूर्वाभ्यास पनि भव्य रुपमै हुन्थ्यो । तर यसपटक कोरोना भाइरसको संक्रमण विश्वव्यापी भइरहेकाले त्यसो हुने सम्भावना छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।
Gansh bhqndari
Aug. 23, 2020, 6:03 a.m.गणेश चौथीको एक महिनापछि दशैको अष्टमी हैन चौथी नै आउँछ।