बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि भागेका तीन जना पक्राउ
माघ ४, २०७७ आइतबार
बाजुरा – बाजुरालाई तराईसँग जोड्ने मुख्य सहारा स्थानीयले आफै निर्माण गरेको तुइन बनेको छ । २०६४ सालमा २२ दिनको आन्दोलनपछि बनेकाे साँफे–मार्तड सडक खण्डको बेलिब्रिज साउन २५ गतेको बाढीले बगाएपछि गाडी गुडिरहेको सडक गोरेटोमा परिणत भएको छ । प्रदेश राजधानी र जिल्लाबाहिर जान अहिले तुइनको सहारा लिनु परेको हो ।
बाजुरा जिल्लामा साउन १ गतेदेखि आइतबारसम्म जिल्लाभरि भएको वर्षासँगै आएको बाढी पहिरोले चार सय ५४ जना विस्थापित भएका छन् । घटनामा एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता रहेका छन् । ६१ घर पूर्णरुपमा क्षति, २३ घर आंशिक क्षेति र ६० घरधुरी विस्थापित भएको विपद व्यवस्थापन केन्द्रले जनाएको छ । बाढीका कारण एक पक्की पुल, एक बेलिब्रिज, पाँच झोलुङ्गे पुल र १५ वटा काठेपुल बगाएको छ ।
‘१५ दिन अगाडि गाडी चढेर जान पाएका थियौँ, अहिले तुुइनकोे यात्रा गर्नुपर्ने बाध्यता भएको छ । त्यो पनि स्थानीयहरुले आफैले खर्च गरेर बनाएका कारण केही समस्या समाधान भएको थियो’, सदरमुकामबाट खप्तड छेडदह गाउँपालिका जाँदै गरेका जयबहादुर ओलीले भन्नुभयो ।
बाजुराको साफे–मार्तडी सडक अन्तर्गत बूढीगङ्गा नदीको बेलिब्रिज बगाएपछि अहिले त्यो ठाउँमा तुइनबाट आवत जावत हुने गरेको छ । ‘बडीमालिका नगरपालिका–६ जडाङ्गाको बूढीगङ्गा नदीमाथि स्थानीयको सक्रियतामा तुइन बनाइएको हो । स्थानीय १५ जनाले आफै रकम खर्चेर यात्रा गर्नेहरुका लागि तुइन बनाएर सेवा दिएका छौँ’, स्थानीय परे बडुवालले भन्नुभयो ।
दैनिक तुइनबाटै आउजाउ गर्दा निकै जोेखिम मोेल्नु परेको बडीमालिका नगरपालिका ९ का रामबहादुर विकले बताउनुभयो । ‘पुल नहुँदा तुइनबाटै वारपार गर्न निकैै जोेखिम छ । बिरामी ल्याउन र लैजान समस्या छ । चार वर्षदेखि निर्माणाधीन पक्की पुल चाँडै बने सेवा पाउने थियौँ ।’
‘बूढीगङ्गा नदीमा खसिने पो हो कि भनेर डर लाग्छ तर सदरमुकाममा काम परिहाल्छ नजाउ भने पनि समस्या, जाउँ भने तुइनको जोखिम छ’, स्थानीयको गुनासो छ ।
तुइन सञ्चालक लछि खड्काले प्रतिव्यक्ति ५० रुपैयाँ लिने गरेको र कसैको ज्यान गएमा ५० लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने बताउनुभयो ।
चार वर्षअघि प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पहिलो निर्णयका रूपमा दुई वर्षभित्र देशलाई तुइनमुक्त बनाउने घोषणा गरेको थियो तर बाजुराको बूढीगङ्गा नदीमा बन्न सुरु भएको चार वर्षसम्ममा पनि पक्की पुल निर्माण नहुँदा स्थानीय सास्ती बेहोर्न बाध्य छन् ।
बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।