चितवनमा चार वटा नगरपालिकाको संयुक्त आइसोलेशन

 भदौ ७, २०७७ आइतबार २१:६:४९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको पूर्वी क्षेत्रका चार वटा नगरपालिकाले संयुक्त रुपमा व्यवस्थापन गर्ने गरी आइसोलेशन बनाएका छन् । 

रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले रत्ननगर नगरपालिका ५ काे टरौलीमा संयुक्त रुपमा आइसोलेशन स्थापना गरेका हुन् । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको तालिम तथा अनुसन्धान केन्द्रको भवनलाई आइसोलेशन बनाइएको रत्ननगर नगरपालिका प्रमुख नारायण बनले जानकारी दिनुभयो ।

तालिम केन्द्रमा ६२ शय्याको आइसोलेशन सुरु गरिएको छ । आवश्यक भए सय जनासम्म राख्न सकिने भौतिक संरचना रहेको नगरपालिका प्रमुख बनले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण भएका तर लक्षण नदेखिएकालाई यो आइसोलेशनमा राखिनेछ । चार वटा पालिकाले सञ्चालन गरेको आइसोलेशनमा स्वास्थ्यका कर्मचारी, सुरक्षाकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखेको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले बताउनुभयो ।

सरकारले लक्षण नदेखिएका बिरामीलाई अस्पतालमा नराख्ने निणर्य गरेपछि लक्षण नदेखिएका सङक्रमितलाई अब अस्पतालमा भर्ना नगरि पालिकाका आइसोलेशनमा राखिने छ ।

यस्तै पूर्वी चितवनको रत्ननगर वकुलहर अस्पतालमा भेन्टिलेटरसहितको सघन उपचार कक्ष र पीसीआर परीक्षण प्रयोगशाला स्थानपनाका लागि वाग्मती प्रदेशसँग माग गरिएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताउनुभयो । 

यसैबीच भरतपुर महानगरपालिकाले योगी नरहरिनाथ आश्रम परिसरमा रहेको प्राकृतिक चिकित्सालयमा आइसोलेशन तयार गर्दै छ । वागेश्वरी आइसोलेशनमा तत्काल ९० जना र पछि दुई सय जनासम्म राख्न सकिनेछ ।  माडी नगरपालिकाले छरछरेमा यसअघि नै आइसोलेशन तयार गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया