लेबनानमा तेह्र महिनादेखिको आक्रमणबाट दुई सय २६ जना स्वास्थ्यकर्...
मंसिर ८, २०८१ शनिबार
अहिले कोरोना सङ्क्रमणको स्थिति उकालो लागिरहेको अवस्था छ । यस्तो अवस्थामा आवतजावत गर्ने लगायतका जुनसुकै काम पनि एकदमै होशियारीका साथ गर्नुपर्छ । त्यही सिलसिलामा हवाइ उडान पनि सञ्चालन गर्ने कुरा मन्त्रिपरिषदबाट निर्णय भएको छ । विशेषगरी यहाँबाट विदेश जानुपर्ने नेपाली तथा विदेशी नागरिकहरुको धेरै महत्वपूर्ण काम छुटेको छ । उहाँहरुलाई केही न केही सहजिकरण गर्नुपर्ने अवस्था छ ।
साथै विदेशमा रहनुभएका नेपाली श्रमिकहरु, जसको काम बन्द भयो भिसा सकिएको छ, उहाँहरु सम्बन्धित ठाउँमा नै बसिरहनुभएको छ । स्वदेश फर्किन पाए आफ्नै गाउँघरमा जान पाइन्थ्यो भन्ने उहाँहरुको भावना छ । यस्तै कुटनीतिक नियोगका कर्मचारीहरु पनि कतिलाई नेपाल पनि आउनुपर्ने छ र नेपालबाट विदेश पनि जानुपर्ने छ ।
कतिपयलाई उपचारको सिलसिलामा देश विदेश गर्नुपर्ने अवस्था पनि छ । यस्तो जटिल परिस्थितिमा यो अति आवश्यक कामको लागि मात्र हवाइ उडान सञ्चालन गर्न खोजेका छौँ ।
जुन आउने भदौ १६ गते अर्थात सेप्टेम्बर १ देखि हुन्छ । जहाँ हरेक व्यक्तिहरुले पीसीआर परीक्षण गर्न सक्छन्, त्यस्ता ठाउँमा नियमित उडान राख्छौँ, त्यो पनि सीमित मात्रामा मात्र । अहिले नै धेरै ठूलो सङ्ख्यामा उडान गर्न सक्ने अवस्था छैन ।
जहाँ पीसीआर परीक्षण सहज छैन, त्यस्तो ठाउँमा पनि उडान राखिन्छ । त्यो चार्टर उडान तथा उद्धार उडान हुन्छ ।
पीसीआर परीक्षण गरेर स्वदेश फर्कनेहरुले अब होटल क्वरेण्टीनमा बस्न पर्दैन । रिपोर्ट नेगेटिभ लिएर आएकाहरु सिधै होम क्वरेण्टीनमा बस्न पाउनुहुन्छ । उहाँहरुको स्थायी ठेगानासहितको जानकारी अध्यागमनमा दिन पर्छ । उहाँहरु त्यसपछि १४ दिन होम क्वरेण्टीनमा बस्ने प्रतिवद्धतासहित घर जान पाउनुहुन्छ । अर्को भनेको जहाँ पीसीआर जाँच सहज छैन ती देशबाट नियमित उडान हुँदैनन् । चार्टर्ड उडान नै हुन्छ ।
त्यहाँबाट आउनेले भने होटल क्वरेण्टीनमा बस्न पर्छ र उहाँहरुले त्यसको खर्च पनि व्यहोर्नपर्छ भने कल्यणकारी कोषको रकम प्रयोग गरेर उद्धार गरी ल्याइने श्रमिकको भने होटल क्वरेण्टीन खर्चसमेत कोषबाट नै प्रयोग हुन्छ । उहाँहरुले तिर्न पदैन ।
चार्टर उडान अलिकति महंगो हुन्छ । एअरलाइन्सले सबै यात्रुहरु पनि पाउँदैन र त्यो नियमित उडान पनि होइन । नियमित उडान नहुनेबित्तिकै त्यो अलिकति महँगो हुनु पनि स्वभाविकै हो । त्यसैले जहाँ पीसीआर परीक्षण सहज छ, त्यहाँ नियमित उडान खोल्यौं भने यात्रुहरुलाई अलिकति सस्तो पर्छ र सहज हुन्छ । साथै जनजीवन अलिकति सहज हुँदैछ भन्ने अनुभूति पनि हुन्छ भनेर केही निश्चित क्षेत्रमा नियमित उडान गर्छौं ।
त्यसैगरी विभिन्न देश तथा सहर जहाँ सहजै पीसीआर परीक्षण हुन्छ र त्यहाँ कोरोना सङ्क्रमणको स्थिति कम छ, यी कुरालाई ध्यान दिदै हामी नियमित उडान गर्छौं । आफ्नो घरमा गएर १४ दिन होम क्वरेण्टीनमा बस्नुपर्छ ।
यी सबै नियम अलिकति कडा छन् । अहिले सहज स्थिति छैन । जस्तो म सङ्क्रमित छैन भने पनि अरुबाट सङ्क्रमित हुन सक्छु । अथवा अरु कोही सङ्क्रमित छैन भने मैले सङ्क्रमण गरिदिन सक्छु ।
त्यसैले एक अर्कासँग जोगिनुपर्ने अवस्था भएकाले नियम पालना गर्नुपर्ने हुन्छ । त्यसले केही अप्ठ्यारो पर्छ, त्यसप्रति हामी चिन्तित छौं, दुःखी छौं । तर यो परिस्थितिको बाध्यता हो भन्ने सबैले बुझिदिनुहुन्छ भन्ने मलाई विश्वास छ ।
पीसीआर परीक्षण सहज भएका देशहरु धेरै छन् । जस्तो चीन, मलेसिया, दक्षिण कोरिया, जापान, यूएईमा छ।
यो निर्णय सार्वजनिक भएपछि कतारबाट हामीलाई त्यहाँ पनि पीसीआर परीक्षण सहज छ भनेर खबर आएको छ । यदि त्यहाँ पीसीआर परीक्षण सहज छ भने त्यहाँ पनि नियमित उडान हुनेछ ।
साउदी अरबमा त्यति सहज छ भन्ने कुरा आएको छैन । त्यस्तै कुवेत र बहराइनमा पनि पीसीआर हुन्छ भन्ने सुनिनमा आएको छ । त्यस्तो भयो भने जहाँ पीसीआर परीक्षण सहज हुन्छ, त्यहाँ हामीले नियमित उडान नै गर्छौं । चार्टर उडान गर्दैनौं ।
यस्तै अहिले प्रविधिहरु पनि अनेक आइरहेका छन् । एन्टीजीन टेस्ट, रियल टाइम पीसीआर भन्ने आएको छ । त्यो गर्नको लागि स्वास्थ्य मन्त्रालयले अनुमति दियो भने एअरपोर्टमै पनि एन्टीजीन टेस्टको रिपोर्ट १०, १५ मिनेटमा दिन सकिन्छ ।
जापान लगायत कतिपय देशले एन्टीजीन टेस्टको प्रयोग गरिरहेका छन् । रियल टाइम पीसीआर पनि विभिन्न देशका एअरपोर्टमा पनि छ । त्यसले ४५ देखि एक घण्टासम्ममा रिपोर्ट दिन्छ । यदि त्यस्तो भयो भने हामी विदेशबाट यात्रा गरेर आउने नेपालीलाई एअरपोर्टमै एन्टीजीन तथा रियलटाइम टेस्ट गरेर नेगेटिभ रिपोर्ट आयो भने सिधै घर जाने प्रबन्ध गर्न सकिन्छ । यसबारे स्वास्थ्य मन्त्रालयले अनुसन्धान गरिरहेको छ ।
अहिलेको परिस्थितिको कारणले नियमहरु कडा गर्नुपर्ने, एअरपोर्टमा पनि अनुशासन पालना गर्नुपर्ने, जथाभावी बाहिर आउन नपाइने र त्यो अनुगमन गर्नुपर्ने अवस्था आउँछ र यो कठिन परिस्थिति हो भनेर सबैले बुझ्नुभएकै छ ।
विदेशमा अलपत्र परेका श्रमिकको निःशुल्क उद्धार गर्ने निर्णय भइरहेको छ । त्यसको कार्यान्वयन श्रम मन्त्रालय र सम्बन्धित देशको नेपाली दूतावासको समन्वयमा गर्नुपर्छ । को व्यक्ति साँच्चै त्यहाँ अलपत्र अवस्थामा छन् र उनीहरुलाई सरकारी खर्चबाट गर्नुपर्छ भन्ने सिफारिस त सम्बन्धित दूतावासले गर्ने हो ।
त्यसलै सम्बन्धित दूतावास र श्रम मन्त्रालयले त्यस्ता व्यक्तिको पहिचान गरिसकेपछि, उनीहरुको लागि फेरि अलग्गै उडान हुन्छ । यो नियमित उडान र चार्टर उडान होइन कि अलग्गै उडानबाट नेपाल ल्याइन्छ ।
त्यो निःशुल्क उडान कहिलेदेखि हुन्छ भनेर म अहिले भन्न सक्दिनँ, किनकी त्यो मेरो कार्यक्षेत्र भित्र पर्दैन । त्यो श्रम मन्त्रालयले समन्वय गर्ने हो । उहाँहरुले यस्तो उडान पनि गर्नुपर्यो, फलानो देशबाट यति जनालाई ल्याउनुपर्यो भनेर पर्यटन मन्त्रालयलाई जानकारी गराइसकेपछि हाम्रो काम त्यसको निम्ति जहाज व्यवस्थापन गर्ने हो ।
खर्च गर्ने, त्यसको हिसबकिताब राख्ने, आइसकेका व्यक्तिहरुको व्यवस्थापन गर्ने काम श्रम मन्त्रालयको हो । श्रम मन्त्रालयले सीसीएमसीसँग समन्वय गरेर सहयोग लिन सक्छ ।
नियमित उडान नभइरहेको अवस्थामा गरिने उडान उद्धार नै हो । कतिपय देशमा अहिले पनि नियमित उडानको तालिका दिएको छैन । त्यसो हुदाँ हामीले चाहेर पनि उडान गर्न सक्दैनौं । त्यसो हुँदा त्यहाँको सरकारसँग विशेष अनुरोध गरेर हाम्रो उडानको निम्ति समय माग्नुपर्छ ।
सुरक्षित ढंगले मान्छे लान्छ भन्ने भएपछि मात्र उसले पनि समय दिन्छ । नत्र भने हाम्रा जहाज एअरपोर्टमा अवतरण पनि गर्न दिँदैन । सबैका आआफ्ना नियम हुन्छन् । त्यो नियमभित्र बस्नुपर्छ । त्यसैले अहिले भइरहेका उडानहरु व्यापारका लागि होइन, उद्धार गर्नकै लागि भएको हो ।
जुन हिसाबले दुबई विमानस्थलबाट नेपाल एअरलाइन्स रित्तै फर्कियो, म पर्यटनमन्त्रीको रुपमा सरकारको प्रतिनिधिको रुपमा दुःख व्यक्त गर्छु । त्यो हाम्रो कमजोरी भयो । कमजोरीको कारण झण्डै २६८ जना जति नेपाली दाजुभाइ दिदीबहिनीहरु एअरपोर्ट आइसकेपछि फर्किनुपर्यो ।
जसले गर्दा उहाँलाई मानसिक समस्या पनि भयो । त्यसकारण म सरकारको तर्फबाट त्यसमा क्षमा पनि माग्छु । कहिलेकाहीँ काम गर्दा कतिपय निर्णयमा कमजोरी पनि हुन्छ । त्यसरी छुटेकाहरुलाई उहाँहरुले पहिले नै काटेको टिकटमा नेपाल फर्काइ पनि सकेका छौं । त्यसप्रति म दुःख व्यक्त गर्छु । आउने दिनहरुमा त्यस्ता कमी नहोस् भनेर हामी सतर्क रहनेछौं ।
काम गर्न खोज्दाखोज्दै पनि कहिलेकाहीँ समन्वय नहुँदा समस्या आइपर्छ । यसलाई मानवीय कमजोरीका रुपमा बुझौं । यसमा कुनै कसैको नियत छैन । विदेशमा नेपालीहरुलाई बिचल्लीमा पारौं भन्ने त कसैको पनि सोचाइ छैन नि।
तर पनि निर्णय गर्दा अलिकति फराकिलो ढंगले साचेको भए त्यो अवस्था आउने थिएन । सीसीएमसीबाट जुन पत्राचार भयो, त्यो पत्राचार गर्नु अगाडि मलाई र मेरो मन्त्रालयका सचिवलाई सोधेको भए हामी केही उपाय निकाल्थ्यौं । त्यहाँ गइसकेको जहाजबाट यात्रु ल्याऔं, उहाँको व्यवस्था यहाँ गरिहालौं, त्यसपछि भोलिदेखि नल्याउने भनेर कुनै पनि निर्णय गर्न सकिन्थ्यो । निर्णय गर्न बसेको साथीहरुलाई पनि ‘प्रेसर’ भयो होला, तनावमा हुनुहुन्थ्यो होला ।
मैले हेर्दा त्यो गल्ती भयो । तर उहाँहरुको ठाउँबाट हेर्दा उहाँहरुमाथि जुन तनावको अवस्था थियो, त्यसलाई पनि हामीहरुले बुझिदिनुपर्छ ।
अब नियमित उडान भनिसकेपछि कमसेकम कुन देशमा कुन एअरलाइन्सले कहिले उडान गर्छ भनेर हामीले अग्रिम सूचना दिन्छौं । त्यही आधारमा त्यो एअरलाइन्सले टिकेटिङ गर्छ र यात्रु लिएर आउँछ । तर पहिलेको जस्तो सहज अहिले छैन । कुनै पनि देशको एअरपोर्टमा फेरि नियम बदलिन सक्छन् ।
त्यसले कहिलेकाहीँ हामीले चाहँदाचाहँदै पनि सम्बन्धित देशका नियम कानुनको परिवर्तनले हामीले गरेका निर्णयहरु पनि बदल्नुपर्ने हुन सक्छ । तर त्यस्तो अवस्थाबाहेक सामान्यतया हामी यसलाई समन्वयात्मक ढंगले अगाडि बढाउने कोशिस गर्नेर्छौं ।
सकेसम्म स्वदेश फर्कन चाहने नेपाली अथवा यहाँ काम गर्न आउने कुनै पनि विदेशी नागरिकलाई दुःख नहोस् भन्ने विषयमा सरकार संवेदनशिल हुन्छ ।
पहिलो त नियमित उडानमा पीसीआर परीक्षण नेगेटिभ भएको यात्रु मात्रै आउन पाउँछ । त्योबाहेकको यात्रु आउन पाईंदैन । त्यस्तो यात्रु ल्यायो भने एअरलाइन्सलाई कारबाही हुन्छ र होटेल क्वरेण्टीनदेखि सम्पूर्ण खर्च एअरलाइन्सले व्यहोर्नुपर्ने हुन्छ ।
एअरपोर्टमा स्वास्थ्य मन्त्रालयले राखेको स्वास्थ्य डेस्कमार्फत प्रत्येक यात्रुको त्यो समयको स्वास्थ्य जाँच हुन्छ । यदि त्यहाँ कोरोना सम्बन्धि कुनै लक्षण भएको यात्रु भेटियो भने उहाँलाई तुरुन्टै आइसोलेसनमा राखिन्छ ।
सामान्य यात्रुहरुलाई अध्यागमनले बनाएको नियमहरु, उहाँहरु आउँदाको सबै डाटा, कसलाई भेट्ने कहाँ जाने लगायतका सबै तथ्यांक राख्ने प्रणाली लागू गरेका छौं, त्यो फारम उहाँहरुले भर्नुपर्छ । कोरोना पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ लिएर आएकाहरु घरमा गएर १४ दिन क्वरेण्टीनमा बस्नपर्छ ।
आन्तरिक उडान खुलाउने सन्दर्भमा हामीले छलफल गरिरहेको छौं । योभन्दा पहिले पनि आन्तरिक उडान खोलौं भन्नेमा हामीहरु पुगिसकेका थियौं । तर पछिल्लो दिनमा काठमाण्डौ उपत्यकामै कोरोना सङ्क्रमणको सङ्ख्या अत्यधिक बढ्दै गएको, काठमाण्डौ बाहिर पनि बढ्दै गएको हुनाले फेरि सङ्क्रण नबढोस् भन्नको लागि हामीले त्यसलाई सञ्चालन गरेका होइनौं ।
अहिले त आवातजावत बन्द नै छ । निषेधाज्ञा छ । त्यसो हुँदा सडक नाका बन्द गर्ने र हवाइ उडान खोल्ने काम त्यति न्याय संगत भएन नि ।
निषेधाज्ञा हुनुभन्दा अघि सार्वजनिक गाडी खुल्दा पनि आन्तरिक उडान खोल्न सकिएको थिएन । त्यो बेला हामी खोल्ने अन्तिम तयारीमा थियौं । सबै मापदण्ड बनाएर एअरलाइन्सहरु पनि त्यसको तयारीमा लागिसकेका थिए । एअरपोर्ट पनि त्यही ढंगले तयारी भइरहेको थियो ।
तर अचानक अलि कडाइ गर्नुपर्ने अवस्था उत्पन्न भएकाले यसलाई परिस्थितिको उपजका रुपमा बुझौं । १० गतेसम्म निषेधाज्ञा छ । त्यसपछि स्थानीय प्रशासनहरुले के गर्छन्, मन्त्रिपरिषदले के निर्णय गर्छ, सीसीएमसीले के गर्छ त्यस आधारमा नै आन्तरिक उडान खुल्ने, नखुल्ने तय हुन्छ ।
पहिलो त निषेधाज्ञा खुलेपछि, पहाडी जिल्ला, हिमाली जिल्लामा परीक्षण उडान पनि गर्छौं । परीक्षण उडानमार्फत नै विस्तारै आन्तरिक उडान खोल्ने कि भन्ने हामीले धारणा बनाएका छौं । निषेधाज्ञा खोलेर आवतजावतलाई सहज बनाइयो र कोरोना नियन्त्रणतर्फ गयो भने आन्तरिक उडान खुल्न सक्छ ।
यसअघि भनेजस्तै एन्टीजीन परीक्षणहरु पनि आइसकेका छन् । जसले १० मिनेटमै रिपोर्ट दिन्छ भने त काठमाण्डौ आउने यात्रुले बिराटनगरमा एन्टीजीन परीक्षण गरेर आउन सक्छ । त्यो खर्च त यात्रुलाई जोडिने नै भयो । तर पनि आफू सुरक्षित छु भन्ने कुरा निश्चित भयो भने यात्रु स्वयंको लागि र सबैको लागि राम्रो हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
योगेश भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ ।
Krishna Nyaupane
Aug. 25, 2020, 8:14 p.m.युरोप्, अमेरिका तथा खाडी मुलुक बाट रोजगार बाट बिदामा आएका अथवा विद्यार्थी हरु फेरी काममा फर्कन चाहन्छन तर एयरपोर्ट खुले पनि काठमाण्डौमा लक डाउन छ । पासपोर्ट हातमा बोकेर काटमाण्डौ जान सकिएला,वा लक डाउन खुले पछी मात्रै फर्कनु पर्ने हो ?
Basant
Aug. 25, 2020, 12:09 p.m.युरोपेली हरु लाई हरेक कुरामा छुट किनकि नेता भनउदा हरुका आफनति हाेलान त्यसकारणले pcr negative हुने घर जान पाउने खाडीमा बस्ने धेरै जस्तो गरिब लाई हाेटेलमा राखेर लुटने खाडीमा पनि pcr हुन्छ किन हो योगेस भट्टराईले यस्तो निच बेभ्हार गरेको खाडीमा बस्ने लाई पहिलो प्राथमिकता पाे दिनुपर्ने हो