पीसीआर परीक्षण सहज नभएका देशबाट चार्टर्ड उडान नै हुने, फर्कनेले काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्नुपर्ने

 भदौ ९, २०७७ मंगलबार १६:२०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नियमित उडानमार्फत पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट लिएर आएकाहरु होटल क्वरेण्टीनमा बस्नु नपर्ने भए पनि चार्टर्ड उडानमार्फत पीसीआर रिपोर्ट नलिइ आएकाहरु भने बस्नुपर्ने भएको छ ।

सरकारले पीसीआर रिपोर्ट लिएर आउनेहरु होटल क्वरेण्टीनमा नबसी सिधै घर जान पाउने निर्णय गरे पनि पीसीआर परीक्षण सहज नभएका देशबाट चार्टर्ड उडानार्फत फर्कनेहरु काठमाण्डौमै होटल क्वरेण्टीनमा बस्नु पर्नेछ । नेपालीहरुको स्वदेश फिर्ती सहज बनाउन भदौ १६ देखि सरकारले जोखिम कम भएका र पीसीआर जाँच सहज भएका देशबाट नियमित उडान गर्ने निर्णय गरिसकेको छ ।

तर नेपाली श्रमिकका मुख्य श्रम गन्तव्य साउदी, कतार, कुवेत, बहराइनजस्ता खाडीका देशमा पीसीआर जाँच त्यति सहज छैन । त्यसैले यी देशबाट भने समस्यामा रहेकाहरुको स्वदेश फिर्ती चार्टर्ड उडानमार्फत नै हुनेछ । यी देशमा नै हजारौं श्रमिक स्वदेश फर्किने दिन कुरिरहेका छन् ।

पीसीआर रिपोर्ट नेगेटिभ लिएर आउनेहरुले १४ दिन होम क्वरेण्टीनमा बस्ने प्रतिबद्धतासहित घर जान पाउने भए पनि पीसीआर रिपोर्ट नलिइ चार्टर्ड उडानमार्फत आउनेहरु भने काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्नुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउनुभयो ।

‘जहाँ पीसीआर सहज छ, ती देशबाट नियमित उडान हुन्छ र नेगेटिभ रिपोर्ट लिएर आउनेहरु घर जान पाउनुहुन्छ, तर जो उद्धार उडानमार्फत फर्कनुहुन्छ, जसले पीसीआर नगरी आउनुभएको छ, उहाँहरु होटल क्वरेण्टीनमा बस्नुपर्छ,’ पर्यटनमन्त्री भट्टराईले भन्नुभयो, ‘यो अप्ठेरो परिस्थिति हो, यसलाई त्यसरी नै बुझिदिनुहुन म अनुरोध गर्छु ।’

तर विदेशमा महिनौंदेखि काम बिहीन भएर फर्किएका श्रमिकले फेरि महंगो होटल क्वरेण्टीन खर्च तिर्न नसक्ने भन्दै विरोध भइरहेको छ । चौतर्फी विरोध भएपछि नै सरकारले पीसीआर रिपोर्ट लिएर आएकाहरु सिधै होम क्वारेण्टीनमा जान पाउने निर्णय गरेको हो ।

रोजगारी गुमाएर, जेल परेका जसको वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट उद्धार हुन्छ उनीहरुको भने होटल क्वरेण्टीन खर्चसमेत कोषकै रकमबाट व्यहोरिनेछ ।

उनीहरुका लागि छुट्टै उडानहरु हुने पनि मन्त्री भट्टराईले जानकारी दिनुभयो । दूतावासहरुले सिफारिस गरेर पठाएमा पर्यटन मन्त्रालयले तत्काल उडानहरु गर्ने उहाँको भनाई छ । तर कल्याणकारी कोषको रकम प्रयोग गरी निःशुल्क उद्धारको कार्यविधि बनेको दुई महिना बित्दा पनि अहिलेसम्म एक जनाको पनि त्यस कार्यविधि अनुसार उद्धार भएको छैन ।

पीसीआरको विकल्पबारे अध्ययन हुँदै

संसारका विभिन्न कुनामा रहेका नेपालीहरु महामारीसँगै अहिले घर फर्कन आतुर छन् । सरकारको उद्धारको पर्खाइमा छन् । तर क्वरेण्टीनदेखि चार्टर्ड उडान महंगो हुँदा कतिपय नेपाली टिकट काट्न सक्ने अवस्थामा छैनन् ।

झन काठमाण्डौ आएपछि पीसीआर रिपोर्ट नभए सात दिन होटल क्वरेण्टीनमा बस्नुपर्ने नियमले धेरै श्रमिकलाई झस्काएको छ । नेपाली श्रमिक धेरै कार्यरत रहेको देश साउदीमा पनि सीसीआर जाँच त्यति सहज छैन । भए पनि महंगो छ । त्यसैले यस्तो समस्या समाधानका लागि सरकारले विभिन्न विकल्पबारे अध्ययन गरिरहेको पर्यटन मन्त्री भट्टराईले बताउनुभयो ।

अहिले प्रविधिहरु छन् । एन्टीजीन टेस्ट, रियल टाइम पीसीआर पनि विभिन्न देशले प्रयोगमा ल्याइरहेका छन् । त्यस सम्बन्धमा स्वास्थ्य मन्त्रालयले अनुमति दिएमा विमानस्थलमै पनि एन्टीजीन टेस्टको रिपोर्ट १०, १५ मिनेटमा दिन सकिन्छ । जापान लगायत कतिपय देशले एन्टीजीन टेस्टको प्रयोग गरिरहेका छन् ।

रियल टाइम पीसीआर पनि विभिन्न देशका एअरपोर्टमा पनि छ । त्यसले ४५ देखि एक घण्टासम्ममा रिपोर्ट दिन्छ ।

‘यदि त्यस्तो भयो भने विदेशबाट यात्रा गरेर आउने नेपालीलाई एअरपोर्टमै एन्टीजीन तथा रियलटाइम टेस्ट गरेर नेगेटिभ रिपोर्ट आयो भने सिधै घर जाने प्रबन्ध गर्न सकिन्छ । यसबारे स्वास्थ्य मन्त्रालयले अनुसन्धान गरिरहेको छ,’ पर्यटनमन्त्री भट्टराईले भन्नुभयो ।

कतार, कुवेत र बहराइनमा पनि साउदीको तुलनामा पीसीआर जाँच केही सहज भएको र यदि पीसीआर परीक्षण सम्भव भएमा त्यहाँबाट पनि नेपालीको स्वदेश फिर्तीका लागि नियमित उडान नै गर्ने मन्त्री भट्टराई बताउनुभयो । अब जहाँ पीसीआर परीक्षण सहज हुन्छ, त्यहाँ नियमित उडान नै गर्ने र नहुँने देशबाट चार्टर्ड उडान गर्ने सरकारको योजना छ ।

 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया