लकडाउनदेखि निषेधाज्ञासम्म

 भदौ १०, २०७७ बुधबार ७:६:१२ | दशराज शाक्य
unn.prixa.net

काठमाण्डाै – २०७६ चैत्र ११ गतेदेखि कोरोना महामारीको कारण लकडाउन (बन्दाबन्दी) गरेको थियो । झण्डै साढे तीन महिनासम्म लकडाउनले समाजमा मानव प्राणीहरुले असहज, उकुसमुकुस र वाक्कदिक्क महसूस गरेका थिए । एकातिर आय आम्दानी शून्य हुँदै गइरहेको छ भने उल्टै सरकारलाई कर तिर्नु पर्ने बाध्यता पनि आइलागेछ ।

राज्यसत्तामा पनि राजश्व शून्य भयो भनेर सरकारले सूचना जारी गरेको लगत्तै २०७७ असार १ गतेदेखि सामान्य रुपमा लकडाउन खुल्ला गरिदिएको थियो । खुल्ला हुनासाथ सामाजिक जीवनमा अलि हलुका भएको महसूस गरियो । वास्तवमा सरकारले राजश्व जम्मा गर्न र कर तिराउनका लागि नै लकडाउन खुल्ला गरेको ठहरियो ।

विकल्पहीन अवस्थालाई पार गर्दै सम्पूर्ण मानव प्राणीहरु कमाउन दौडिए । अवस्था कस्तो देखियो भने कोरोना महामारीले भन्दा पनि भोकमरीले मर्नुपर्ला भन्ने चिन्ता बढी भएको रहेछ ।

विश्वभरी कोरोना महामारी फैलिएको बेला नेपालमा लकडाउन खुल्ला हुनासाथ सम्पूर्ण मानव प्राणीहरुको मनमा अलिकति आशा जगाएको थियो । विकल्पहीन अवस्थालाई पार गर्दै सम्पूर्ण मानव प्राणीहरु कमाउन दौडिए । अवस्था कस्तो देखियो भने कोरोना महामारीले भन्दा पनि भोकमरीले मर्नुपर्ला भन्ने चिन्ता बढी भएको रहेछ ।

कोरोनाका कारण समाजमा गरीब वर्ग भोकमरीले सताएको कारण आत्महत्या गर्न पुगेको समाचार पनि सुन्न पाइएको छ । कोरोनाबाट भैरहेका मृत्यु संख्या कम भएको बेला आत्महत्या गर्नेको संख्या १०९० पुगेको सुन्न र पढ्न पाइएको छ । गरीबहरु दैनिक ज्यालादारी गरेर खान नपाएपछि यही लकडाउनले आत्महत्याको बाटो देखाइदिएछ । ठूला र मध्यम वर्गहरु आफ्नो ढुकुटीबाट सञ्चित धन खर्च गरेर बाँच्नु परेको अवस्था छ । 

लकडाउनका बेला सरकारको अकर्मण्यता र गैरजिम्मेवारीपना देखापरेको एक प्रकारले लापरवाही नै हो । झण्डै साढे तीन महिना लकडाउनका बेला सरकार आरामले सुतेको देखिन्छ भने वातावरणमा सफा कार्बनविहीन हावाले अक्सिजन उत्पादन गर्ने झारपातदेखि वनस्पतिसम्म उत्पादन भएको देख्न सकिन्छ र पाइन्छ । फेरि वसन्त बहारको बेला घनघोर वर्षा भएकाले पनि वनस्पति ह्वारह्वार्ती उम्रिन र फक्रन पाए । सडक, बाटो र गोरेटो पनि सफा देखिन्छ कि बाफ रे अमेरिकाको सडक जस्तै तुलना गरेको पनि देख्न पाइयो । कुनै नेताले भनेका थिए, देश स्वीट्जरल्याण्ड जस्तै सफा वातावरण देख्न पाइएछ । 

सबै खुल्ला भो !

समयकाल अनुसार केही न केही खुुल्ला हुँदै, खुल्दै गए । बजार र पसलहरु खुले । गाडीका ढोका पनि खुल्दै गए । मानौं दशैंको हूलमूल र धक्कमधक्का भए जस्तै । मानव प्राणीहरु सरकारलाई कर, राजस्व तिर्न, स्थानीय निकाय र सम्बन्धित गन्तव्यस्थलसम्म पुगेछन् पनि । तर कोरोना महामारीले फेरि मानवप्राणीहरुलाई अदृश्य तरिकाले दुःख देला भन्ने हेक्का नै भएनछ । बाहिरबाट आएका कुनै मनुवालाई ‘क्वरेण्टीन’ को व्यवस्था गर्न सरकार चुकेको देखिन्छ ।

क्वरेण्टीन व्यवस्था भएको ठाउँमा पनि खुल्लारुपमा खुकुलो हुँदै गएछन् । मान्छेहरुले लापरवाही तरिकाले तोडिदिएछन् पनि । दक्षिणी दिशाबाट नेपालको राजधानी काठमाण्डाैमा कमाउन, आ–आफ्नो व्यवसाय गर्न, अश्वेत मानव प्राणीहरु दुध ओसार्ने ट्याङ्करभित्र बसेर पनि आएका देख्न पाइयो ।

क्या अचम्म भने दूधका ट्याङ्करभित्र दूध होइन मानव प्राणीहरु कसरी सास फेरेर आए होलान् ? ट्याङ्करको गोलो ढोकाबाट माथि चढेर निस्किँदा नाकमा मास्क लगाएर आएका देखिन्छन् । सरकारको आँखा छलेर नाटकीय रुपमा काठमाण्डाै आइपुगेको भिडियो सामाजिक सञ्जालमा देख्न पाइन्छन् यस्ता दृश्यहरु । हुँदाहुँदै काठमाण्डाैलाई मानव प्राणीहरुको हूलमूलसँगै कोरोनाले यति दुःख दियो कि कोरोनाले मृत्यु भएकाको संख्या ३४ जनाबाट १०१ पुग्दा सरकार नै थर्कमान भएर भदौ ३ गतेदेखि राजधानी लगायत ३ वटै सहरमा निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरियो ।

सङ्क्रमितहरुका संख्या दिनानुदिन बढ्दा कोरोनाद्वारा भएका मृत्यु पनि यो पंक्ति लेखुन्जेलसम्म डेढसय संख्या नाघिसकेछ । समाजमा भयावह आतंक सिर्जना हुन पुगको छ । सीमा नाकामा खुल्ला अवस्थालाई बल्ल कर्फ्युले बन्दाबन्दी सिर्जना गरिदिएछ । 

अब के गर्ने ?

यताउता चीन र रुसले कोरोना भाइरसको भ्याक्सिन खोजी गर्दैछ । रुसले त ‘स्पुतनिक–५’ नाम राखेर कोरोना भाइरस निर्मूल गर्ने भ्याक्सिन पत्ता लगाइसकेछ भने चीनले पनि कीटपङ्गमा प्रयोग गरेर भ्याक्सिनको नमूना पत्ता लगाएको जानकारीमा आएको छ । साथै अमेरिका, बेलायत र अन्य देशहरुले पनि आ–आफ्नो धूनमा खोजीकार्यमा व्यस्त छन् नै होला । 

भनिन्छ, बुद्धले मारलाई अनेकौं संघर्ष गरेर पराजय गरिदिए । देशको परिस्थिति अनुसार यस्तो संघर्षको प्रबलता उतारचढाव भइरहन्छन् ।

आदिकालदेखि मानव प्राणीहरुले थरिथरी संघर्ष गर्दै आइरहेको इतिहास जीवन्त देखिन्छ । एकप्रकारले जीवनको संघर्ष के हो, त्यो कहिले पनि अन्त्य हुने अवस्था छैन । मानव जीवनमा थरिथरिका अनेकौं मार र दुःख आइरहेकाले संघर्ष पनि निरन्तर भइरहेको पाइन्छ र अझै संघर्ष हुँदै जानेछन् ।

भनिन्छ, बुद्धले मारलाई अनेकौं संघर्ष गरेर पराजय गरिदिए । देशको परिस्थिति अनुसार यस्तो संघर्षको प्रबलता उतारचढाव भइरहन्छन् । अनुकूल समयमा यस संघर्ष र द्वन्द्वको स्थिति सामान्य बनेको हुन्छ भने प्रतिकूल स्थिति र अवस्थामा द्वन्द्व चरम अवस्थामा पुग्दछ । यो एक प्रकारको परिस्थिति नै बनेको देखिन्छ । तर संघर्ष, द्वन्द्व कहिलेकाहीं जितिन्छ, कहिलेकाहीं हारिन्छ । अवस्था र स्थितिमा पनि हारजित भइरहन्छ । 

यस्तो संघर्ष, द्वन्द्व र अराजकता विश्वभरी अदृश्य कोरोना भाइरससित युद्धजस्तै भइरहेको देख्न सकिन्छ । लामो समयसम्म भइरहेको लकडाउन खुल्ला हुनासाथ मानव प्राणीहरुलाई छूट हुनासाथ स्वाभाविक रुपमा फेरि आफ्नो सामाजिक, मानसिक र आर्थिक आवश्यकतालाई पूर्ति गर्नको लागि बाहिर आ–आफ्नो गन्तव्यस्थलमा निस्कने र जाने बाध्यता आइपरेकै हौ । बाहिरको हुलमुलमा कोरोनाको खतराबाट उन्मुक्त हुन सकेको छैन भने घरभित्र लकडाउनमा बसे पनि रोगभोकबाट खतरा आउने छ नै । झन् तरबारको दुवैतर्फको धारमा फसेको जस्तो देखिन्छ ।  

यस्तो अवस्थाका कारण हुनेखाने वर्गले आ–आफ्नो स्वास्थ्य स्थितिमा प्रतिरोधात्मक क्षमता बढाउने खालको इम्युनिटी पावर भएका खाना, जडिबुटी प्रयोग गरिरहेका होलान् । कोरोनाको संघर्षमा मानव प्राणीहरुले कुनै दिन विजय हासिल गर्नेछन् भन्ने आशावादी हुने ठाउँ भने सुरक्षित छ । यदि यो कुरा सम्भव भयो भने मानव जीवन फेरि पहिलेकै अवस्थामा आउनेछ । एकदिन यही सत्यको विजय हुने पक्का छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया