चितवनमा निषेधाज्ञा एक हप्ता थप, सरकारी कार्यालय र वित्तीय संस्थालाई केही छुट

 भदौ १२, २०७७ शुक्रबार १८:४:२८ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन– चितवनमा जारी निषेधाज्ञा एक हप्ता थप गरिएको छ । सरकारी कार्यालय र वित्तीय संस्थालाई केही छुट हुनेगरी जिल्ला प्रशासन कार्यालय चितवनले एक हप्ताको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

चितवनमा कोरोना सङ्क्रमणको जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । भदौ १९ गते राति १२ बजेसम्मका लागि जिल्लामा निषेधाज्ञा थप गरिएको प्रजिअ भट्टराईले बताउनुभयो ।

यस पटक निषेधाज्ञा थप गरिए पनि केही क्षेत्रलाई भने खुकुलो बनाइएको छ । अत्यावश्यक सामग्री उत्पादनका व्यवसायीहरुलाई निषेधाज्ञाले समस्या पारेको भन्दै बैंक तथा वित्तीय संस्थालाई केही खुकुलो बनाइएको छ । सरकारी कार्यालय र वित्तीय संस्था दैनिक केही घण्टासम्म सञ्चालन गर्ने निर्णय प्रशासनले गरेको छ । 

५० प्रतिशत मात्र कर्मचारी उपस्थित हुनेगरी सरकारी कार्यालयहरुबाट आन्तरिक काम गर्ने, आलोपालो प्रणाली अनुसार ५० प्रतिशत मात्र कर्मचारी हुनेगरी बिहान १० बजेदेखि १ बजेसम्म वित्तीय संस्था (मनिट्रान्सफर र सहकारी समेत) सञ्चलान गर्न पाउनेछन् । यस्तै उद्योगभित्रै क्वरेण्टीन बनाएर काम गर्न पाउने, अत्यावश्यक सेवा सञ्चालन गर्न पाउने गरी नषेधाज्ञा थपिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले बताउनुभयो । 

यस अवधिमा अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावतमा निषेध गरिएको छ । बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ६ बजेदेखि ८ बजेसम्म दैनिक उपभोग्यलगायत अन्य पसल भने खुला रहने छन् ।

चितवन प्रशासनले पहिलो चरणमा साउन ३० गतेदेखि लागू हुने गरी भरतपुर महानगरपालिकामा मात्रै निषेधाज्ञा जारी गरेको थियो भने साउन ३२ रातिदेखि भदौ ५ गतेसम्मका लागि माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले भदौ ६ गतेदेखि भने १२ गते रातिसम्म लागू हुने गरी जिल्लाभर नै निषेधाज्ञा थप गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया