कोरोना जोखिमको यो बेला यसरी गर्न सकिन्छ सोह्रश्राद्ध

 भदौ १४, २०७७ आइतबार १२:३६:६ | मधुसूदन सुवेदी
unn.prixa.net

काठमाण्डाै - कोरोना कालमा जनैपूर्णिमा, नागपञ्चमी, कुशेऔँसी र तीज लगायतका चाडपर्व आएर पनि गए । अझै महत्वपूर्ण चाडपर्व र संस्कार आउँदैछन् । 

१७ गतेदेखि सोह्र श्राद्ध सुरु हुँदैछ । कोरोनाको जोखिम नै भए पनि श्राद्ध गर्नै पर्छ । संस्कार जोगाउनै  पर्छ ।  फेरि कोरोनाबाट पनि बच्नुपर्यो । त्यसैले सावधानी अपनाएर यसपटकको सोह्र श्राद्ध गर्नु उचित हुन्छ । 

श्राद्धका लागि सालको पातको प्रयोग गरिने भए पनि खोज्नका लागि जताततै नचारौँ । गाउँघरमा पातको त्यति धेरै समस्या हुँदैन । तर शहरमा भने केही समस्या हुन सक्छ । सकेसम्म पहिलाकै भए त्यसैले काम चलाऔँ । नभए पनि जताततै चाहार्न भन्दा राम्रोसँग सफा गरेका थाल कचौराको प्रयोग गर्नु राम्रो हुन्छ । सोह्र श्राद्धमा एक जना पुरोहित नै १६ दिनसम्म घरघरमा जाने चलन हुन्छ । 

यसबाट सङ्क्रमण धेरै फैलिने जोखिम हुन्छ ।  त्यही भएर सकेसम्म यो पटक सम्भव भएमा पुरोहितलाई घरमा नबोलाऔँ । घरमा नै कोही श्राद्ध गराउन सिपालु भए पुरोहितलाई नबोलाउँदा पनि हुन्छ । घरमा कोही नभए र बोलाउनै पर्ने भएमा पनि एक जना मात्र पुरोहित बोलाएर परिवारका सदस्य मिलेर श्राद्ध गर्नुपर्छ । नातागोता भेला गर्नु हुँदैन । 

पुरोहित घरघरमा जाँदा सुरक्षा सावधानी अपनाउनु पर्छ । भौतिक दूरी कायम गर्न बिर्सनु हुँदैन ।  सम्भव भएमा एउटा घरमा लगाएको कपडा अर्को घरमा जाँदा धोएर मात्रै लगाउनु राम्रो हुन्छ । मास्क, पञ्जा लगाउनै पर्छ । धेरै घरमा जानुपर्ने र व्यस्त पुरोहित भन्दा पनि घर नजिकै भएका पुरोहितलाई बोलाउँदा उचित हुन्छ । 

कतिपयले सोह्र श्राद्ध तिर्थ वा धार्मिक स्थलमा गएर गर्ने गरेका छन् । तीर्थमा जाँदा धेरै हुलमुल हुन सक्छ । त्यसतर्फ पनि विषेश सावधानी अपनाउनुपर्छ । तीर्थमा गएर सामूहिक रुपमा श्राद्ध गर्नुभन्दा घरमा नै बसेर गर्दा उचित हुन्छ । यस्तै हिजोआज भर्चुअल श्राद्ध गर्ने कुराहरु पनि आएका छन् । त्यो सबै ठाउँमा सम्भव नहुन पनि सक्छ । गाउँघरमा इन्टरनेटको राम्रो पहुँच हुँदैन । पहुँच भएको ठाउँमा भने गर्न सकिन्छ । भर्चुअल माध्यमबाट श्राद्ध गराउँदा मन्त्रको उच्चारण गर्दै श्राद्धको विधिबारे जानकारी गराउन सकिन्छ । 

कुशको ब्राह्मण बनाएर टीका लगाइदिँदा हुन्छ । बैँकको खातामार्फत् दक्षिणा  पठाउन सकिन्छ । नभएपछि भेटेरै दिँदा पनि हुन्छ ।  कोरोनाको धेरै नै जोखिम छ भन्ने लागेमा यस्तो गर्न सकिन्छ । तर सबै ठाउँमा यो सम्भव नहुन सक्छ ।  

वृद्धवृद्धा भएका घरमा यसरी नमान्न पनि सक्छन् । यस्तो अवस्थामा एक जना पुरोहित  मात्र बोलाएर श्राद्ध गर्नुपर्छ । पहिलाजस्तो नातागोता भेला गर्न हुँदैन ।  परिस्थिति अनुसार चल्नु पर्छ । स्वास्थ्य भन्दा ठूलो कुरा अरु केही हुँदैन । शास्त्रले पनि यही भनेको छ । संस्कृति धान्नका लागि लागि सोह्र श्राद्ध भने गर्नै पर्छ । पहिलेजसरी नै गर्छु भन्न थालियो  भने अवस्था भयावह पनि हुन सक्छ । 

यसपटक दशैँ तिहारमा पनि कोरोनाको जोखिम कम हुने छाँट छैन । दशैँ तिहार पनि सुरक्षित र जोखिम रहित तरिकाले मनाउँनेबारे अहिलेदेखि नै सोच्ने र धारणा बनाउँदै गर्नुपर्छ । 

(संस्कृतिविद् सुवेदीसँग जानुका दुवाडीले गरेको कुराकानीमा आधारित)

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

मधुसूदन सुवेदी

सुवेदी, संस्कृतिविद् तथा धर्मशास्त्रसम्बन्धी पुस्तकका लेखक हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया