महामारीमा श्रीमान् परदेशमा अलपत्र, ऋणको भरमा चल्दैछ घरखर्च

 भदौ १४, २०७७ आइतबार १६:४८:४१ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाम नगरपालिका ३ मा एउटा सानो पसल । त्यही पसलमा बसेर खुद्रा पैसासँगै ऋणको भारी चुक्ता गर्ने सपना बुनिरहनुहुन्छ सन्ध्या गुरुङ । तर कोरोना कहरसँगै उहाँको सपनामा काँडेतार लागेको छ ।

वैदेशिक रोजगारीमा मलेसियामा रहनुभएका श्रीमान् बेरोजगार भएर बसेपछि उहाँलाई घर खर्च चलाउन मुश्किल भएको छ । कोरोना महामारीका कारण श्रीमान्को जागिर छुट्यो । अहिले उहाँका श्रीमान् आफैं परदेशमा के खाउँ के लाउँ भन्ने अवस्थामा हुनुहुन्छ । एक महिना तलब ढिलो आउँदा त समस्या पर्ने अवस्थामा पाँच, पाँच महिनासम्म आम्दानीको बाटो शून्य भएपछि ससाना सपना पनि पहाडजत्रा लाग्न थालेका छन्  ।

उहाँका श्रीमान् धनबहादुर गुरुङ परदेशमा कमाउनुहुन्थ्यो । सबैकुरा राम्रै चलिरहेको थियो । छोराको भविष्यकै लागि भए पनि सन्ध्या आफ्नो पुख्र्यौली थलो छाडेर सहर बस्न थाल्नुभयो । सहरमा आफ्नो घर नभएपछि भाडामा बस्नु सबैको बाध्यता नै हुन्छ । सन्ध्यालाई पनि त्यही बाध्यता छ । 

दुई वर्ष भयो उहाँ सहरमा बस्न थाल्नुभएको । उहाँका दुई छोरा छन् । राम्रो अंग्रेजी बोल्न जाने राम्रै जागिर खालान् भन्ने सोचेर उहाँले छोराहरुलाई बोर्डिङ स्कुलमा पढाउनुभयो ।

सन्ध्या गुरुङ

गाउँमा काम गरेर बसेको बानी सहरमा आएर दिनभरी त्यतिकै बस्न मनले मानेन । श्रीमान्को कमाइले मात्र हुँदैन आफूले पनि केही गर्नुपर्छ भन्ने सोचेर उहाँले पसल खोल्ने सोच बनाउनुभयो । अनि एउटा सटर भाडामा लिएर पसल खोल्नुभयो । कोठा र सटर गरी महिनामा उहाँले घरबेटीलाई १२ हजार रुपैयाँ बुझाउनु पर्छ । 

तर अहिले कोरोना र लकडाउनले गर्दा न पसल चल्छ, न त परदेशमा रहेका श्रीमान्को नै कमाइको बाटो छ । 

छोराहरु ६ कक्षा र दुई कक्षामा पढ्छन् । कोठा र पसल छोडेर घर गए छोराहरुको पढाइ बिग्रिने डरले उहाँ घर जान सक्नुभएको छैन । कोठा छोडौं भने छोराहरुको स्कुल लागिहाले फेरि नयाँ कोठा खोज्न कहाँ जाने भन्ने समस्या । नछोडौँ स्कूल लाग्दैन । पसल पनि चल्दैन । विदेशमा आफैं बेरोजगार भएर बस्नुभएका श्रीमानले पैसा पठाउनु होला भन्ने त झन् आशा नै भएन । सन्ध्याका समस्या धेरै छन् ।

‘कोरोना महामारीका कारण थोरै आशा र बढी अन्यौलमा छ जीवन,’ उहाँ भन्नुहुन्छ, ‘यस्तो अवस्थामा के गर्ने र ? साहुले मानेसम्म ऋणैको भरमा घरबार चलाइरहेकी छु ।’  

‘श्रीमानलाई नेपाल फर्काउन पाए हुन्थ्यो’

धनबहादुर २०६३ सालमा साउदी जानुभयो । त्यहाँ भनेको जस्तो कमाइ नभएपछि दुई वर्ष बसेर नेपाल फर्किनुभयो । पुनः २०६६ सालमा उहाँ कतार जानुभयो । कतारमा भने अलि बढी बस्नुभयो । त्यहाँको चार वर्षको बसाइपछि  उहाँ फेरि नेपाल फर्किनुभयो र २०७१ सालमा मलेसिया जानुभयो । 

सन्ध्या र धनबहादुर गुरुङ

छ वर्ष भयो उहाँ मलेसियामै हुनुहुन्छ । महामारीका कारण कामविहीन बनेर बस्नु भएको पाँच महिना बितिसक्यो । यत्तिका समय भइसक्दा पनि न कम्पनीले काम दिएको छ, न त नेपाल आउन नै दिएको छ । कम्पनीले वास्ता नगरेपछि आफैं टिकट काटेर नेपाल फर्कन्छु भन्दा समेत नेपाल फर्कन पाउनु भएको छैन । 

कम्पनीकै क्वाटरमा बसिरहनुभएको छ । एउटै क्वाटरमा छ सय जना नेपालीहरु छन् । सबैजना नेपाल आउन पाउने प्रतिक्षामा भए पनि कम्पनीले कुनै ध्यान दिएको छैन । त्यतिका मानिस सँगै बस्दा कोरोनाको जोखिम पनि बढेको छ भनेर श्रीमान्ले खबर सुनाउँदा यता सन्ध्याको मनमा भूकम्प जान्छ । आफ्नो श्रीमान्लाई केही नहोस् भनेर उहाँ भगवानको नाम जपिराख्नुहुन्छ ।

सन्ध्याले आफ्ना श्रीमान्लाई नेपाल ल्याउने प्रयास गर्नुभयो, तर उहाँको केही लागेन । आफ्नो श्रीमानलाई नेपाल ल्याउन पाइयो भने आफ्नो लागि ठूलो विजय हुने उहाँ बताउनुहुन्छ ।

‘नेपाल सरकारले मेरो श्रीमानलाई चाँडै नेपाल ल्याइदेओस् यसैमा मेरो मन खुसी हुनेछ’, सन्ध्या नेपाल सरकारसँग आग्रह गर्नुहुन्छ ।

उस्तै समस्या छ प्रनिश्का राईको पनि 

सन्ध्याको जस्तै समस्या छ, देउमाई नगरपालिका–८ की प्रनिश्का राईको पनि । छोराको पढाइकै लागि भनेर उहाँ इलाम छाडेर झापामा डेरा लिएर बस्नुहुन्छ ।

महिनाको दुई हजार रुपैयाँ कोठाभाडा छ । छोरा एलकेजीमा पढ्छ। कतै स्कूल पो लागिहाल्छ कि भनेर उहाँले कोठा छाड्न सक्नुभएको छैन । लकडाउनपछि आफू घर गए पनि बन्द कोठाको भाडा नियमित दिइरहनुपर्छ ।

प्रनिश्काका श्रीमान् राजकुमार राई चर वर्षअघि साउदी पुग्नु भयो । उहाँले महिनामा ७० हजारसम्म पठाउनु हुन्थ्यो परिवारलाई । महामारीका कारण लकडाउन भयो । काम रोकियो । प्रनिश्काका अनुसार, केही वर्ष उतै दुःख गर्ने मन थियो उहाँको । तर अहिले विना काम बसेको पाँच महिना भयो । अब नेपाल आउने तयारीमा हुनुहुन्छ । 

आजसम्म पहिलेको बचतले घरखर्च चलाए पनि अब के चलाउने कसरी गुजारा गर्ने भन्ने पीर थपिएको छ प्रनिश्कालाई ।

‘हिजोसम्म त अलि–अलि भएको बचतले चलाइयो, अबको बाँकी समय ऋणकै भर पर्नुपर्ने बाध्यता छ’, उहाँले पनि आफ्नो दुखेसो पोख्नुभयो ।

कोरोना महामारीको चुनौती यथावत रहे परिवारसँगै मिलेर व्यवसायिक नगदेबाली गर्ने योजना छ प्रनिश्काको । देउमाई नगरपालिकामा धान, मकै, चिया, अलैची, आलु, मटर, मुला, गोपी फस्टाउने बालीका रुपमा रहेका छन् । यिनै बालीलाई आधुनिक र व्यवसायिक बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

अभावले सिकाएको किसानी 

देउमाई नगरपालिका – १ की पवित्रा सुनुवारको भने दैनिकी अलि सहज छ अहिले । कोरोना महामारीका कारण परदेशमा रहनुभएका श्रीमानले सात महिनासम्म पैसा पठाउनु भएन । उतै रहने वा नेपाल आउने अन्योल थियो । आर्थिक संकटका कारण समस्या पनि उत्ति नै थिए ।

पवित्रा सुनुवार

आर्थिक संकटले दिएको पीडाले उहाँलाई भने सफल किसान बनाएको छ । पारिवारिक खर्च निकाल्न सक्ने हुनुभएको छ । लागेको ऋण तिर्न विभिन्न नगदेबालीलाई विस्तार गर्नु भएको छ उहाँले । उहाँको बारीमा गोपी, काउली, मुला, मटरको खेती विस्तार भएको छ । पछिल्लो समय आलु र लोक्ता खेतीसमेत विस्तार गर्नु भएको छ । 

लोक्ता पाँच रोपनीबाट ३५ रोपनी पुगेको छ । काउली र गोपी चार प्यागबाट १० प्याग, गाई चारबाट पाँच माउ बढाउनुभएको छ । 

पवित्रा र लालबहादुर सुनुवार

उहाँका श्रीमान् लालबहादुर सुनुवार २०७४ सालमा मलेसिया जानु भएको हो । त्यहाँ गएपछि उहाँले बेलाबखत पैसा पठाइरहनुहुन्थ्यो । तर विभिन्न कारणले सात महिनासम्म पैसा पठाउन सक्नुभएन । लामो समयपछि भदौमा भदौमा पैसा पठाउनुभएको र अहिले आफूमा उर्जा थपिएको पवित्रा बताउनुहुन्छ । 

‘यसैको आम्दानीले घरखर्च चलाउँछु, श्रीमानले पठाउनुभएको रकम चाहिँ सकेसम्म बचत गर्ने योजना छ’, उहाँले भन्नु भयो ।

उहाँका तीन छोरासहित आठ जनाको परिवार छ । अभावले योजना बनाउन सिकाउने उहाँको अनुभव छ । भन्नुहुन्छ, ‘आर्थिक संकट लागे पनि लकडाउनले मलाई भने सक्रिय बनायो ।’ 


 

अन्तिम अपडेट: कात्तिक १७, २०७७

सुजता सुनुवार

सुजता सुनुवार इलामका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया