लमजुङमा तितेपातीको व्यावसायिक तेल उत्पादन, एक लिटरकै मूल्य ८ हजार

 भदौ १६, २०७७ मंगलबार १३:२८:५३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङमा तितेपातीको व्यावसायिक तेल उत्पादन सुरु भएको छ । 

लमजुङको क्वहोलासोंथर गाउँपालिका ८ घाम्राङबेसीमा रहेको हिमालयन हर्ब सेन्टरले आधुनिक प्रविधि स्टिम डिस्टिलेसन सिस्टमबाट तितेपातीको तेल उत्पादन सुरु गरेको हो ।

गएकाे वर्ष परीक्षण गरिएको र यस वर्षदेखि तितेपातीबाट तेल उत्पादन गरिएको हिमालयन हर्ब सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले बताउनुभयो । 'गाउँघरका धेरै उर्बर जमिन बाँझा छन् । पाती फुलेर गएका छन् । त्यसै फुलेर गएको पातीको उपयोग गरी हामीले तेल उत्पादन सुरु गरेका छौँ' अध्यक्ष गुरुङले भन्नुभयो,'गएकाे वर्ष परीक्षण गरियो । यही भदौदेखि भने उत्पादन सुरु गरेका छौँ ।'

उहाँका अनुसार एक हप्ताको अवधिमा ८ लिटर तितेपातीको तेल उत्पादन भएको छ । एक लिटर तेल उत्पादन गर्न ६ सय किलो पाती चाहिन्छ । एक लिटर तेलको ६/८ हजार रुपैयाँसम्म पर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार तितेपातीको तेल खाने परिकारका साथै सौन्दर्य सामग्री र विभिन्न औषधि निर्माणमा उपयोग गरिन्छ । 

'विशेषगरी तितेपातीको तेल युरोपका बजारमा माग उच्च रहेको  छ  । विदेशमा तितेपातीको तेलको माग ज्यादा छ । गाउँघरमै खेर गएको पातीको उपयोग गरी तेल बिक्रीबाटै राम्रो कमाइ गर्न सकिन्छ' उहाँले भन्नुभयो ।उहाँका अनुसार नेपाली समुदायमा तितेपाती तेलको उपयोगिताबारे थाहा नभएकाले यसको प्रयोग निकै कम रहेको छ । तितेपातीको तेल उत्पादनको लागि मेसिन खरिद, भौतिक संरचना निर्माणमा गरी झण्डै २८ लाख लगानी भइसकेको छ ।

हिमालयन हर्ब सेन्टरमा कोम्रो सामुदायिक वन उपभोक्ता समितिसँगै खड्गबहादुर परियार, ईश्वरबहादुर गुरुङ र गमप्रसाद गुरुङको संयुक्त लगानी रहेको छ । तितेपातीको तेल उत्पादन सुरु भएसँगै स्थानीय ठाउँमा पातीको अभाव भएको छ । स्थानीयले तितेपातीको व्यावसायिक खेती गरेर पनि राम्रो कमाउन सक्ने सम्भावना रहेको गुरुङले बताउनुभयो ।

उच्च परिमाणमा तितेपातीको तेल बनाएर विदेश पठाउन सके राम्रो आर्जन हुन्छ । 'स्थानीय स्रोत-साधनको उपयोग गरी स्थानीयले घरगाउँमै रोजगारी सिर्जना गर्न सक्छन्' उहाँले भन्नुभयो । हिमालयन हर्ब सेन्टरले बिस्तारै ठूलो परिमाणमा तितेपातीको तेल उत्पादन गर्ने लक्ष्य लिएको छ ।


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया