समयमै घर फर्कन नपाउँदा परिवारको काखमा अन्तिम सास फेर्ने धोको पूरा भएन

 भदौ १६, २०७७ मंगलबार १५:७:१८ | उमाकान्त पाण्डे

यूएई – फाँसी दिन लागेको मानिसलाई पनि अन्तिम इच्छा सोधिन्छ । सकेसम्म त्यो अन्तिम इच्छा पूरा पनि गरिन्छ । तर त्यो भाग्य पनि सबैको कहाँ हुँदो रहेछ र ? 

भदौ २ गते नेपाली लिन आएको नेपाल एअरलाइन्सको जहाज रित्तै नफर्किएको भए रुपन्देहीका रामसजीवन केवटको पनि अन्तिम इच्छा पूरा हुने थियो । तर जहाज आएर पनि रित्तै फर्कियो ।

सरकारको त्यो निर्णयले कसलाई के फाइदा पुग्यो त थाहा छैन । तर कमाउने सपना बोकेर परदेशिएको एक नेपालीको झिनो आशा र इच्छा अपूरो, अधुरो रह्यो । रामसजीवनको अन्तिम र एउटै इच्छा थियो – परिवारको काखमा अन्तिम सास फेर्ने ।

तर जहिलेसम्म समय थियो, तबसम्म घर फर्कने जहाज पाइएन । जब जहाज पाइयो, घर फर्कने मेसो मिल्यो, तब रामसजीवनलाई ज्यानले नै साथ दिएन ।  उहाँले यूएईमै अन्तिम सास फेर्नुभयो ।

आफ्नो इच्छा पूरा नहुँदा रामसजीवनले के सोचे होलान् थाहा छैन । तर उहाँको त्यो एउटै इच्छा पूरा गरिदिन लागि परेका यूएईका धेरै नेपालीको मन भने मन असाध्यै दुःखेको छ । 

परदेशमा कमाउँला, रमाउँला, सुखी जीवन बिताउँला । यस्तो सपना नदेख्ने परदेशी को होला र ? तर कहिलेकाहीँ सपनालाई पछ्याउँदा पछ्याउँदै मानिसलाई शरीरले साथ दिँदो रहेनछ । रामसजीवनलाई जस्तै । 
यूएईको राजधानी आबुधावीबाट झन्डै १ सय ८० किलोमिटर टाढा पर्छ अलऐन । जहाँ रामसजीवन काम गर्नुहुन्थ्यो ।

दुई वर्ष पहिले बलिया पाखुरा लिएरै आउनुभएको थियो यूएई । अलऐनमा फलफुल उत्पादन गर्दै आएको मवारिद सर्भिसेस् कम्पनीको बगैँचा (मजरा) मा कृषि कामदारको रुपमा उहाँ काम गर्नुहुन्थ्यो । काम सकेपछि र बिहान उठेपछि पनि उहाँ व्ययाम गर्नुहुन्थ्यो ।

६ महिना पहिलेको कुरा हो उहाँ व्यायम गर्दै हुनुुहन्थ्यो । एक्कासी छाती र ढाड दुख्यो । सामान्य केही होला भनेर वास्ता गर्नुभएन । तर केही छिनमै फनफनी रिंगाटा लाग्यो । विस्तारै दुखाई पनि बढ्दै गयो । त्यसपछि भने कम्पनीलाई खबर गरेर अस्पताल जानुभयो । अस्पतालले फोक्सोमा समस्या भएको भन्दै भर्ना गर्‍यो । पछि उहाँलाई फोक्सोमा क्यान्सर देखियो ।

अलऐनमा रहेको सुविधा सम्पन्न तवाम अस्पातलबाट ३ महिना पहिले क्याम्ब्रिज मेडिकल तथा रिहाबेसन सेन्टरमा उहाँलाई सारियो । त्यही रिहाबेसन सेन्टरको भुईँतलाको ए ००४ नम्बरको कोठामा रहेको ‘वी’ शैयामा उपचारत हुनुहुन्थ्यो उहाँ । सायद तीन महिनादेखि थलिएर होला उमेरले ४० वर्ष लाग्नुभएका रामसजीवन शरीर सुकेको थियो । एकसरो कपडा, लुला हात । धोद्रो आवाज । अतिरिक्त अक्सिजनको भरमा सास फेर्दै गरेका रामसजीवनले पहिलो पटक अस्पताल भेट्न पुगेका आफ्ना नेपालीलाई देख्नासाथ भन्नुभएको थियो, ‘मलाई सास छँदै नेपाल जान मन छ ।’

अस्पतालको बेडमा छट्पटाइरहेको एक नेपाली । जसको अन्तिम इच्छा नै नेपाल फर्कने र मरे पनि परिवारकै काखमा पर्नेछ । तर बाध्यता । संसारलाई कोरोनाले पिरोलेको छ । न जहाज चल्छन् न गाडी । तर पनि रामसजीवनको इच्छा पूरा गर्न यूएईमा कार्यरत नेपाली, एनआरएनए प्रतिनिधि र पत्रकार मिलेर कम्पनी र एअरलाइन्स कम्पनीसँगै यूएईमा रहेको नेपाली दूतावाससँग समन्वय गरिरहेका थिए । 

उहाँको उपचारमा कम्पनीको सहयोग थियो । राम्रो र सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहेको थियो । तर फोक्सोमा भएको क्यान्सरका कारण  शरीरका अन्य भागमा पनि असर गर्दै गयो ।

तर क्यान्सर शरीरमा फैलिसकेको र पूर्ण निको हुन नसक्ने भएको भन्दै उहाँलाई रेखदेख र स्याहारसुसार गर्न रिहाबेसन सेन्टरमा सारिएको थियो । रिहावेसन सेन्टरमा एमबीएम फाउन्डेसनले उहाँको रेखदेख गरिरहेको थियो । केवटको उपचार र रेखदेखमा पाकिस्तानी चिकित्सक अहमद दैनिक खटिनुहुन्थ्यो । उहाँकै इच्छा अनुसार नेपाल फिर्तीका लागि कम्पनी, अस्पताल र नेपाली दूतावास आबुधाबी लागिपरेको थियो ।

तर सुरुमा कागजी प्रकृया पूरा भएन । प्रकृया पुग्दा  नेपाली लिन आएको जहाज रित्तै फर्कियो । त्यो बेला उहाँले भन्नुभएको थियो, ‘रित्तै जानुभन्दा बरु मलाई लगेको भए ।’ डाक्टरले पनि उहाँलाई धेरै समय बचाउ नसकिने बताएका थिए । ‘परिवारको मायाले जति बचाउन सक्छ सक्छ, त्यसभन्दा अरु उपाय छैन’ डाक्टरले भनेका थिए । 

तर अन्तिम समयसम्म पनि उहाँले हार मान्नुभएको थिएन । घर जान पाए श्रीमतीले अरुको भाँडा माझेर भए पनि आफूलाई बचाउने आत्मविश्वास थियो उहाँको । 

१५ दिनअघि मात्रै भन्नुहुन्थ्यो, ‘नेपाल मात्र जाउ न म निको हुन्छु, मलाई बुढीले अरुको भाँडा माझेर पनि बचाउँछ।’

तर उहाँसहित दुबईमा अड्किएका नेपाली बोक्न जहाज फेरि नआउँदै उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखियो । फेरि अस्पताल भर्ना हुनु पर्‍यो । 

दोस्रोपटक पनि उड्नेभन्दा भन्दै जहाज चढ्न नपाउनु भएका उहाँको टिकट सोमबार बिहानको नेपाल एअरलाइन्सको चार्टड उडानको थियो । 

तर होस नखुलेका कारण उहाँ सोमबार पनि फर्कन पाउनुभएन । सोमबार बिहान जहाज दुबईबाट उड्यो । साससहित नेपाल पुग्ने आश बोकेका केवटको सपनाको जहाज नेपाल नटेक्दै यूएईमा उहाँले संसार छाड्नु भयो । 
परिवारमा ५ छोरी र एक काखे छोरो छन् । छोराले राम्रोसँग बुवाको अनुहार पनि देख्न पाएका छैनन् । 

सरकारले समयमा पर्याप्त उडान गरिदिएको भए, नेपाल एअरलाइन्स रित्तै नफर्किएको भए, सायद रामसजीवनले आफ्नो परिवारको साथमा अन्तिम सास फेर्न पाउनुहुन्थ्यो । तर समयको खेल भनौं या परिस्थितीको मेल, सास लिन त जहाज आएन अब लाश लिन चाहिँ समयमै आउला कि !

अन्तिम अपडेट: असोज २, २०७७

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • बाबुराम सुनार

    Sept. 1, 2020, 4:11 p.m.

    "भावपुर्ण श्रद्धाञ्जली एवं शोकाकुल परिवारमा हार्दिक समेवदना ।

  •  0 Reply

तपाईको प्रतिक्रिया