लकडाउन उल्लङ्घन गर्दै कार्यकर्ता भित्र्याउन ‘तँछाडमछाड’, प्रशासन भन्छ, ‘मेयरले झुक्याए’

 भदौ १६, २०७७ मंगलबार २०:४९:३६ | निमेन्द्र शाही
unn.prixa.net

त्रिवेणी नगरपालिका ६ पन्धारामा नेकपा परित्याग गरी कांग्रेस प्रवेश गर्दाको भिड

बाजुरा – लकडाउनको बेलामा पनि बाजुरामा राजनीतिक दलहरू चुनावी झल्को दिने गरी पार्टी प्रवेश गराउने अभियानमा तँछाडमछाड गर्दै लागेका छन् । नेपाली कांग्रेसले अभियानका रुपमा जिल्लाभर कार्यक्रम सञ्चालन गरिरहेको छ । नेकपाले पनि केही ठाउँमा अभियानका रुपमा कार्यक्रम गरिरहेको छ । यस्ता कार्यक्रमले कोरोना भाइरसको जोखिम बढेको छ । 

सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै स्थानीय प्रशासनले भेला नहुन सचेत गराइरहेका बेला दुवै पार्टीबीच जिल्लाभर आमसभा र भेला गर्दै एकले अर्को पार्टीका कार्यकर्तालाई भित्र्याउने प्रतिस्पर्धा चलेको छ । पार्टी प्रवेश गरेकाहरूलाई बधाई दिएका तस्बिर र स्टाटसले सामाजिक सञ्जाल रङ्गिएका छन् ।

गृह मन्त्रालयको साउन २१ गतेको चलानी नम्बर तीन सय १५ को पत्रले देशभर कतै पनि भेला नहुनु भनेर पाँच बुदे निर्देशनात्मक पत्र पठाएको छ तर बाजुरा जिल्ला प्रशासन कार्यालयले त्यसको कार्यान्वयन गर्न नकसेको देखिन्छ ।  मङ्गलबार मात्र त्रिवेणी नगरपालिका ६ पन्धारामा विशाल आमसभा गरी दुई सय जनालाई नेपाली कांग्रेसमा प्रवेश गराइएको छ । 

विभिन्न पालिकामा जनप्रतिनिधिको संलग्नतामै यसको उल्लङ्घन गरिएको देखिएको छ ।

धमाधम आमसभा

सोमबार बुढीनन्दा नगरपालिका ४ को सिम र मङ्गलबार त्रिवेणी नगरपालिकाको पन्धारमा आयोजित नेपाली कांग्रेसको आमसभामा जनप्रतिनिधिले नै टीका लगाएर नव प्रवेशीहरुलाई स्वागत गरेको देखिएको छ । नेपाली कांग्रेसबाट निर्वाचित मेयर रामसिंह रावल र उपमेयर राधिका सुनार दुवैको उपस्थितिमा पाँच सय बढी जनाको भेला गरेर कार्यक्रम गरिएको थियो । प्रहरीको पहरामा त्यो कार्यक्रम भएको थियो । त्यस्तै बुढीनन्दा नगरपालिकाको सिममा पनि दुई दिन अगाडि यसरी नै बुढीनन्दा नगरपालिकाका मेयर पदम गिरीकै सक्रियतामा नव प्रवेशीलाई स्वागत गरिएको थियो । 

‘सदरमुकाम मार्तडीको देवता पुजाईमा र त्रिवेणी नगरपालिकामा पार्टीको कार्यक्रममा ठूलो उपस्थिति गरेर कार्यक्रम भएछ । तर बजारमा भने पुलिस मास्क लगाएन भनेर हप्काउँछन्, त्यहाँ कहाँ गयो प्रशासन , किन रोकेन नेताले कार्यक्रम ’, देवराज पाध्याले भन्नुभयो । 

‘लकडाउनको  समयमा अन्य ठाउँबाट हाम्रो नगरपालिकामा आएर चुनावी आमसभा गरिएको छ । जनप्रतिनिधि स्वयंले त्यो कार्यक्रममा भाग लिएका छन् । यसबाट नागरिकले के बुझ्ने रु यो किन गरिएको हो रु स्थानीय प्रशासनले जवाफ दिनु पर्ने हो’, स्थानीय शेरबहादुर शाहीले गुनासो गर्नुभयो । 

‘गाउँमा पार्टीका खुला आमसभा हुँदा कसैमा कोरोना भएको खण्डमा सबैतिर फैलिन्छ । कार्यक्रममा आएका जिल्लाबाहिरका धेरै मान्छेहरु थिए, प्रहरी पनि थियो तर चार पाँच सय मान्छे जम्मा हुँदा पनि केही भनेन’, स्थानीय लोकबहादुर अएडीले भन्नुभयो । 

यसबारेमा प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलाई सोध्दा उहाँले भन्नुभयो, ‘प्रहरीलाई त्यहाँका मेयरले झुक्याएर कार्यक्रममा १० देखि १२ जना उपस्थित हुने बताएका थिए तर पछि आमसभा भएछ ।’

नेकपा पनि कहाँ कम

नेकपा बुढीनन्दा नगर कमिटीको कार्यकर्ता भेला

त्यस्तै गएको साउन २८ गते नेकपा बुढीनन्दा नगर कमिटीले नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा प्रदेश प्रतिनिधि सभा सदस्य बलदेव रेग्मी प्रमुख अतिथि भएको पार्टी अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । त्यहाँ पनि ठूलो सङ्ख्यामा नेपाली कांग्रेस कार्यकर्ता नेकपा प्रवेश गरेको बताइएको छ । भदौ ४ गते बाजुराको निर्वाचन क्षेत्र (क) मा पूर्व माओवादी केन्द्रका नेताहरुले नेता तथा कार्यक्रताहरुको समीक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि पूर्व आपूर्ति राज्य मन्त्री केशव विक हुनुहुन्थ्यो ।      

प्रदेश निर्वाचन क्षेत्र नम्बर क का चार वटै पालिकाकाबाट ठूलो सङ्ख्यामा नेता तथा कार्यक्रताको भेला गरिएको थियो । उनीहरु पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टीमा विभेदपूर्ण व्यवहार भएको भन्दै समीक्षाका लागि त्यो भेला बोलाइएको थियो ।

नेकपाका जिल्ला सचिव भरत बुढालाई यसबारेमा सोध्दा उहाँले भन्नुभयो, ‘लकडाउन नभएको बेला केही पालिकामा भेटघाट छलफलका कार्याक्रम भए पनि लकडाउनको समयमा हाम्रा कुनै पनि कार्यक्रम सञ्चालन भएका छैनन् । हामीले लकडाउनको पूर्ण पालन गर्न नेता र कार्यक्रतालाई निर्देशन दिएका छौँ बरु नेपाली कांग्रेसले दिन प्रतिदिन आमसभा र भेला गरिरहेको छ ।’

धार्मिक आस्था जोडेर पनि लकडाउन उल्लङ्घन    

भाद्र १५ गते बढीमालिका नगरपालिका ८ को रतुडा कैलाशको पूजामा मेला भर्न आएकाहरु

बाजुराका विभिन्न धर्मिक पीठहरुमा ठूलो सङ्ख्यामा भेला भएर पूजा आरधना र रातभर देउडा खेल्ने गतिविधिहरु सामान्य अवस्था जसरी नै सञ्चालनमा छन् । जिल्लामा मष्टा माडु, ऋशी, घटनाल, खापर, कैलाश र विभिन्न देवीका मठ मन्दिरमा पूजा आराधना रोकिएका छैनन् । जिल्ला प्रशासन कार्यालयले मार्तडी बजारमा मात्र प्रहरी परिचालन गरेर माइकिङ गर्दा गाउँमा सामान्य अवस्था जस्तै देखिएको छ । 

‘लकडाउन पालना गर्दै स्थानीय मेला पर्वलाई व्यस्थित गर्दा राम्रो हुने थियो । ठूलो सङ्ख्यामा मान्छेको उपस्थिति हुँदा कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिने सम्भावना छ’, बडीमालिका नगरपालिका ८ का जेबिस अएडीले भन्नुभयो । 

बाजुरामा अहिलेसम्म पाँच सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

तस्बिर : निमेन्द्र शाही

अन्तिम अपडेट: चैत १५, २०८०

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया