ललितपुरको मात्रै होइन मत्स्येन्द्रनाथ, राष्ट्र जोड्ने अवसरबाट चुक्न मिल्दैन

 भदौ २१, २०७७ आइतबार १०:३०:२८ | कुमार रञ्जित
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - बुंगद्यः अर्थात् रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न गर्ने १६ सय ७० वर्ष पुरानो प्राचीन धार्मिक साथै सांस्कृतिक महत्वको सम्पदालाई अक्षुण्ण राख्ने कार्यबाट नेपाल सरकार मातहतका सम्बन्धित निकायहरु मात्रै होइन, जिम्मेवारीसहित जनस्तरबाट बनाइएका टोलीहरु पनि चुकेका छन् । 

कोरोना भाइरस संक्रमण जनस्तरमा हुन नदिन र लकडाउनका साथै निषेधाज्ञाको अवस्थामा पनि शान्तिपूर्वक रथयात्रा सम्पन्न गर्ने अनेकौँ उपायहरु लिखित रुपमै हातहातमा हुँदाहुँदै राज्यका जिम्मेवार निकायहरु निर्णयहीनताको अवस्थामा रहनु नै अप्रिय पुल्चोक घटनाको प्रमुख कारक हो भन्ने कुरामा अब कुनै शंका गरिरहनु परेन । 

बुंगद्यःसित सम्बन्धित जनस्तरका संघसंस्थाहरु त परिस्थिति अनुकूल बनाएर रथयात्रा सम्पन्न गर्न तयारी अवस्थामै थिए । ललितपुर महानगरपालिका र गुठी संस्थान जोखिम मोल्न चाहँदैनथे । ती निकायहरुले जनस्तरमा कोभिड-१९ तीव्र संक्रमणको सम्भावित जोखिम देखे, तर जनस्तरमा सांस्कृतिक रुपमा उर्लिरहेको असन्तुष्टिको ज्वारभाटा देखेनन् ।

तीन वर्ष अगाडि स्थानीय निर्वाचन पूर्व ललितपुर महानगरपालिकाका प्रमुखका लागि प्रत्याशी बन्नुभएका चिरीबाबु महर्जनले आफ्नै निवास पुल्चोकमा 'उज्यालो रेडियो' का लागि अन्तर्वार्ता दिँदै यसै पङ्क्तिकारलाई भन्नुभएको थियो- 'ललितपुरका सडकहरु वर्षमा ९ महिना मात्रै सञ्चालन हुन्छन्, यहाँका सडकमा ९ महिनाभन्दा बढी समय लाग्ने कुनै योजना सम्भव छैन । ३ महिना त बुंगद्यःका लागि बाटो छाडिदिनु पर्दछ ।' यो भनाइ बुंगद्यःप्रति उहाँको सकारात्मक भावना हो भन्ने पुष्टि हुन सकेन ।

यसअघि पुल्चोक क्षेत्रबाटै विजयी भएर ललितपुर ३ नम्बर वडाध्यक्षका रुपमा जिम्मेवारी पूरा गरिसक्नुभएका चिरीबाबुलाई नगरपिताका रुपमा पाइसकेपछि नगरवासीले 'विदेश भ्रमणमुखी' भएको आरोप लगाउन बाध्य भएका थिए । 

वैदेशिक सम्पर्क र योजना निर्माण जस्ता खुबी विदेशी सम्पर्कबाटै पाउनुभएका प्रमुख चिरीबाबु ललितकला नगरीका रुपमा प्रख्यात ललितपुरमा सांस्कृतिक सम्पदा संरक्षणका कार्यमा तुलनात्मक रुपमा उदासिन रहने गरेको आरोप पुल्चोक घटनाबाट पनि सिद्ध भएको छ ।

यसअघि सप्तपाताल पोखरी र बटुक भैरवस्थान अगाडिको बाटो विस्तारलगायतका ठाउँमा सम्पदा संरक्षणका अभियानमा उहाँका केही नकारात्मक टिप्पणीले जनमानस चिढिएकै थियो । बुंगद्यःको जात्रामा राज्यको तर्फबाट निर्णायक जिम्मेवारी प्राप्त गुठी संस्थानले पनि यसपटक ललितपुरमा मत्स्येन्द्रनाथको सांस्कृतिक जरा देख्न सकेन ।

उसले रथ बनाउन अनुमति दियो र यात्राका लागि अनुमति पनि दिएको पाइयो । तर पटक–पटक स्थानीय नागरिकका भावना विपरीत आफैँले गरेको निर्णय उल्टाएर रथयात्रा रोकेर नागरिकमा आक्रोशको मात्रा थप पनि गर्यो । 

यस्तै प्रभाव, दबाब परेर निर्णयविहीनतामा रुमल्लिने गरेका कारण गुठी संस्थान धेरै वर्ष अगाडिदेखि बदनाम छ । त्यसमाथि गएको वर्ष गुठी विधेयक फिर्ता लिनुपर्ने अवस्था आउने गरी भएको 'माइतीघर मण्डला आन्दोलन'का कारण स्वःनिर्णय लिने हिम्मत पनि संस्थानमा थिएन । 

पुल्चोक घटनापछि एकथरी मत्स्येन्द्रनाथको महत्व नै नबुझेकाहरु चिच्याएको देखियो भने अर्काथरी यसलाई ललितपुरमा मात्रै सीमित सम्पदाका रुपमा देख्नेहरुले प्रतिवाद गरिरहेको देखियो । १६ सय ७० वर्ष अघिदेखि प्रमाणित इतिहास नै रहँदै आएको विश्वकै सबैभन्दा लामो अवधिसम्म चल्ने जात्राका रुपमा राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन (युनेस्को) मा प्रस्तावित भैसकेको बुंगद्यःको जात्रा नेपालमा मात्रै सीमित नरही पूर्वीय भारतीय भूमि आसामको कामारुकामाक्षसँग पनि जोडिएको अन्तर्राष्ट्रिय ऐतिहासिक महत्वको यात्रा हो भन्ने ज्ञानको कमी हामी भित्रकै शिक्षित समूहमा पनि पर्याप्त नरहेको देखियो । अझ मत्स्येन्द्रनाथको जात्रा उपत्यकाभित्रका नेवाः समुदायमा मात्रै सीमित रहेको दृष्टिले हेर्ने गरिएकाले पनि यस्ता भ्रमहरु सिर्जना भएका हुन् । 

राजा नरेन्द्रदेव, प्रजा रथंचक्र र तान्त्रिक बन्धुदत्त आचार्यसहितको टोली मिलेर देशमा वर्षा र सहकालका लागि नेपाल भित्राइएका मत्स्येन्द्रनाथसित कालान्तरमा नेपाल भित्रका अनेकौँ धर्म अनुयायी जनसमुदाय आस्था र व्यवहारिक रुपमै जोडिन पुगेका प्रमाणहरु पाइन्छन् । 

प्राचीन नेपालमा धानभित्र चामल उत्पादनमा बृद्धि गरिनुका साथै कलह, उपद्रव, बिघ्न र उत्पात्को अन्त्य गरिनुमा महत्वपूर्ण भूमिका रहेको लिखित इतिहासको व्याख्या ज्योतिरत्न शाक्यद्वारा प्रस्तुत 'बुंगद्यःया इतिहास, श्री मत्छेन्द्रनाथ महात्मे तथ्यावली' लगायतका थुप्रै ऐतिहासिक पुस्तकहरुमा पढ्न पाइन्छ । यसकारण व्यवहारिक रुपमा कारणवश ललितपुरमा रहे पनि मत्स्येन्द्रनाथ नेवाः समुदायको मात्रै हो भन्नु इतिहास र संस्कृतिको अज्ञानता नै हो भन्ने प्रमाणित छ ।

कुनै पनि विश्व सम्पदा कुनै एक समूह, सम्प्रदाय वा जातिको मात्रै हुँदैन र त्यस्ता सम्पदामा राष्ट्रिय भावना ओतप्रोत हुनुका साथै त्यसको संरक्षणमा सम्बन्धित राष्ट्र, सरकार साथै समग्र विश्व समुदायकै दायित्व हुन्छ भन्ने अन्तर्राष्ट्रिय सम्पदा संरक्षणमा नीति र नारा नै बनाइएको छ । 

यसर्थ बुंगद्यः अर्थात् मत्स्येन्द्रनाथको रथजात्रा राष्ट्र जोडेर अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गर्ने अवसर पनि हो । यस्तै मत्स्येन्द्रनाथ यात्राको अन्त्यमा ललितपुरको जाउलाखेलमा गरिने भोटो जात्रामा राष्ट्र प्रमुखका साथै राज्यका सम्पूर्ण अंग, निकाय र विदेशी राजदूतहरुको समेत संलग्नता रहँदै आएकाले पनि त्यही पुष्टि हुन्छ । 

वर्तमानमा विश्वव्यापी कोभिड-१९ संक्रमणको जोखिम रहेको अवस्थामा त्यसबाट बच्ने समयानुकूल उचित उपायहरु अबलम्वन गर्दै जात्रा शान्तिपूर्वक सम्पन्न गर्नु नै राष्ट्र हितको पक्षमा देखिन्छ । यस्तो राष्ट्र जोड्ने अवसरबाट वर्तमान राज्य संयन्त्र चुक्न मिल्दैन । 

जनजीवनमा सदिऔँदेखि चल्दै आएका सांस्कृतिक परम्परालाई समयानुकूल निरन्तरता दिँदै त्यस्ता जीवन्त सम्पदाको संरक्षण गर्दै जानु सरकारको कर्तव्य हो । यस्ता जिम्मेवारी बोध गर्न सरकारमा संस्कृति मन्त्रालय नै बनाइएको छ । संस्कृति मन्त्रालयमा पुग्ने गरेका जिम्मेवारहरु कुनै कारण र अनभिज्ञता प्रकट गर्दै पन्छिन मिल्दैन । 

यहाँनिर पूर्व संस्कृतिमन्त्री कुवेरप्रसाद शर्माले आफ्नो आत्मवृत्तान्त पुस्तकमा लेख्नु भएको कुरा सान्दर्भिक देखिएको छ । उहाँले संस्कृति मन्त्रालय सम्हालेपछि 'संस्कृति'को अर्थ के हो भनेर सत्यमोहन जोशीसँग सोध्नु भएछ र बुझेपछि त्यस अनुरुप नीति बनाएर काम गर्न थाल्नु भएछ ।

यसबाट हाम्रो देशमा 'संस्कृति'को अर्थ नै नबुझेका राजनीतिकर्मीहरु सत्तामा पुग्ने गरेका छन् भन्ने थाहा हुन्छ । अबका जिम्मेवार नेतृत्व तहमा पुगेकाहरुले त्यस्तो आत्मवृत्तान्त लेखेको पढ्न नपरोस् भन्ने कामना गरौँ ।'

अन्तिम अपडेट: चैत १५, २०८०

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया