पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडक बन्द

 भदौ २८, २०७७ आइतबार १४:२६:३३ | सन्तोष थापा
unn.prixa.net

पर्वत – अविरल वर्षासँगै आएको पहिरोले मध्यपहाडी लोकमार्ग बन्द भएको छ । मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडक खण्डमा पर्ने सहस्रधारामा आइतबार बिहान पहिरो जाँदा सडक बन्द भएको हो । 

झण्डै पाँच सय मिटर सडक माथिबाट झरेको पहिरोले सडकको ५० मिटर भाग पुरेको छ । पहिरो दिउँसो १ बजेसम्म पनि झरिरहेका कारण सडक खुलाउने काम अघि बढाउन नसकेको जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । सडकमा पहिरो खस्न रोकिएपछि काम सुुरु गरिने र पहिरो हटाउन पाँच घण्टासम्म लाग्न सक्ने उहाँले बताउनुभयो ।

आइतबार बिहान ६ बजेको समयमा पहिरो खसेपछि सडक बन्द भएको थियो । सडक बन्द भएपछि अत्यावश्यक कामका लागि आवात जावत गर्ने सर्वसाधारणलाई समस्या भएको छ । विशेषगरी बाग्लुङ, म्याग्दी र मुस्ताङमा उपचार हुन नसकेर पोखरा रेफर गरिएका बिरामीहरु समस्यामा परेका छन् । 

सडक बन्द भएपछि बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका जिल्लाबाट बाहिरिने सवारी साधनहरु सहस्रधारातर्फ नै रोकिएका छन् भने पोखरा, काठमाण्डौलगायतका लामो दुरीका सवारी साधनहरु कुश्मा १ नयाँ पुलमा अलपत्र अवस्थामा रहेका छन् ।   

अन्तिम अपडेट: बैशाख ५, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया