के हो मलमास ?

 असोज १, २०७७ बिहिबार १०:७:४२ | बलराम उपाध्याय खकुरेल
unn.prixa.net

यस वर्ष असोज २ गते शुक्रबारदेखि अधिकमास अर्थात मलमास सुरु हुँदैछ । असोज २ गतेदेखि असोज ३० गतेसम्मको अवधिलाई मलमास वा पुरुषोत्तम महिना पनि भनिन्छ ।

मलमास के हो त ? यसलाई अन्य महिनाहरु भन्दा किन फरक तरिकाले हेरिन्छ ? अधिकमास किन पर्छ ? कति कति समयमा पर्छ भन्नेबारे अब चर्चा गरौं ।

अधिकमासलाई मलमास, पुरुषोत्तम महिना जस्ता नामहरुले पनि बुझिन्छ । हिन्दू धर्म ग्रन्थहरुका अनुसार यो १ महिनाको समयमा कुनै पनि विशेष धार्मिक कार्यहरु गर्न नहुने मान्यता रहेको छ । त्यसकारण मलमासको अवधिभर नयाँ घर सर्ने, जग राख्ने, विवाह, ब्रतबन्ध, सप्ताह, ग्रहपूजा जस्ता शुभकार्यहरु हुँदैनन् । ज्योतिष शास्त्रमा पनि यस समयमा विशेष धार्मिक कार्यहरुलाई निषेध नै गरिएको छ ।

यस अवधिभर केही धार्मिक कार्यहरु भने गर्न मिल्छ । जस्तै बालकहरुको अन्नप्राशन, न्वारन, भजन तथा सत्संगहरु र मानिसको मृत्यु भएपछि गरिने कर्महरु गर्न मिल्छ । यसका साथै यो समयमा आफूले दैनिक गर्ने पूजा लगायतका नित्य कर्महरु पनि गर्न मिल्छ । । 

सौरमण्डलमा रहेका ग्रहहरु सबै आआफ्नै रफ्तारमा हिँड्ने गर्दछन् । कुनै ग्रहहरु निकै छिटाे हिँड्छन् भने कुनै निकै कमको गतिमा हिँड्छन् । त्यही ग्रहहरुको आधारमा नै हरेक कार्यहरुका साइतहरुदेखि लिएर मानिसको जन्मकुण्डली पनि हेर्ने गरिन्छ । निर्माण कार्यसँग सम्बन्धित वास्तुशास्त्रमा पनि ग्रहहरुको अनुसार नै कुन निर्माण कहाँ गर्ने भनेर निर्देशन गरिएको छ । 

ज्योतिषशास्त्र अनुसार मलमास

​हामीले काम काजका लागि प्रयोग गर्ने गते र तारिखहरु सूर्यको गतिको आधारमा गणना गरिन्छ । यही सूर्यको आधारमा नै ३६५ दिनमा हाम्रो एक वर्ष हुन्छ भने चन्द्रमाको अर्थात् तिथिको गणना अनुसार ३५४ दिनमा १ वर्ष हुन्छ ।

यसरी विचार गर्दा सूर्य र चन्द्रमाबीच १ वर्षको अवधीमा लगभग ११ दिनको फरक आउँछ । २ वर्षमा सूर्य र चन्द्रमाबीच २२ दिन र  ३ वर्षमा ३३ दिनको फरक पर्दछ । अधिकमास परेको तेश्रो वर्षमा सूर्यको गणना अनुसार १२ वटा मात्र महिना भए पनि चन्द्रमाका आधारमा भने १३ वटा महिना हुन जान्छ । यही सूर्य र चन्द्रमाको गतिको ब्यालेन्स मिलाउन नै प्रत्येक ३/३ वर्षमा मलमास पर्ने गर्दछ । मलमास जुनसुकै महिनामा पनि पर्न सक्छ ।

मलमास​ ​कुन महिनामा पर्छ भन्ने प्रमाण “ज्योतिःसारशिरोमणिमा” यसरी बताइएको छ :

असंक्रान्तिमासोऽधिमासः स्फुटंस्याद् द्विसंक्रान्तिमासःक्षयाख्यःकदाचित् ।

क्षयःकार्तिकादित्रये नान्यतः स्यात्तदा वर्षमध्येऽधिमासद्वयञ्च ।।

अमावस्याद्वयं चैव प्रतिपच्चत्रयं त्रयम् ।

मलमासेन विज्ञेया पराशरवचो यथा ।।

अर्थात्, यदि कुनै पनि महिनाको एउटा औँशीदेखि अर्को औँशीको बीचमा सङ्क्रान्ति परेको छैन भने, त्यस दुई औँशीको बीचको समयलाई मलमास भनिन्छ । त्यस्तै यदि एउटै चान्द्रमासमा अर्थात्  एउटा औँशीदेखि अर्को औँशीको बीचमा २ वटा सङ्क्रान्ति परेमा त्यस महिनालाई क्षयमास भनिन्छ । क्षयमास परेको महिनाअघि र पछि २ वटा अधिक मास पनि पर्दछ । यसपालि यो असोज महिनामा परेको छ ।

दिनहरु लामो हुने महिनामा अधिकमास हुने संभावना बढी हुन्छ । त्यसकारण प्रायःजसो फागुनदेखि असोजसम्मका महिनाहरुमा नै अधिकमास पर्छ । क्षयमास कात्तिक, मंसिर र पुष महिनामा मात्र पर्छ ।  तर क्षयमास मलमासको तुलनामा निकै कम पर्दछ ।

मलमास र क्षयमासको निर्णय चान्द्रमासबाट नै लिनुपर्छ । सौरमासबाट लिनु हुँदैन । सौरमास अनुसार मलमास हुने भए संक्रान्ति पनि १३ वटा हुनु पथ्र्यो । तर संक्रान्ति १२ वटा मात्र नै हुन्छ । शुक्लपक्षको प्रतिपदादेखि कृष्णपक्षको औँशीसम्मको अवधि नै मलमास हुने भएकाले चान्द्रमासबाट नै मलमासको निर्धारण हुन्छ भन्ने कुराको प्रमाण पुग्दछ ।

सौरमास र चन्द्रमासको बीच अन्तरहरु बढ्दै जाँदा हरेक तीन वर्षमा एक महिना पुग्छ र अधिकमास बन्दछ । “सिद्धान्त शिरोमणि”मा अधिकमासको बारेमा धेरै कुराहरुको जानकारी दिइएको छ भने “ज्योतिः सार शिरोमणि” नाम गरेको ज्योतिष ग्रन्थमा मलमासबारे वशिष्ठ ऋषिको मतलाई राखिएको छ :

द्वात्रिंशद्भिर्गतैर्मासैर्दिनैः षोडशभिस्तथा ।

घटिकानां चतुष्केण पतत्यधिकमासकः ।।

अर्थात् सामान्यतया २ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमासको योग बन्दछ । 

अन्य महिनाहरु भन्दा यस महिनामा गरेको भजन कीर्तन र सत्संगको महिमा ठूलो छ भन्ने कुरा पुरुषोत्तम महात्म्यको कथामा उल्लेख गरिएको छ । 

पौराणिक प्रसङ्ग

धेरैजसो पुराणमा मलमासको बारेमा वर्णन गरिएको छ । श्रीमद्भागवत महापुराणमा पनि मलमासको बारेमा केही वर्णन गरिएको छ । यसको प्रसङ्ग भगवान् नारायणको २४ अवतारमध्ये नृसिंह अवतारसँग जोडिन्छ । प्राचीन समयमा कारणवश विष्णुका पार्षदहरु जय र विजय नै राक्षस बन्नुपर्यो । महर्षि काश्यपको छोरा भएर यिनीहरुले जन्म लिए ।

हिरण्यकशिपु भगवान विष्णुसँग आफ्नो भाइ हिरण्याक्षको वध गरेको बदला लिन चाहन्थ्यो । त्यसकारण उसले ब्रह्माजीको तपस्या ग¥यो । प्रसन्न भएका ब्रह्माजीसँग उसले धेरै वरदानका साथै कुनै पनि सालको १२ महिनामा नै आफ्नो मृत्यु नहुने वरदान प्राप्त गर्यो । ब्रह्माजीसँग वरदान पाएपछि उ निकै अत्याचारी भयो र धर्म र समाजमाथि प्रहार गर्न थाल्यो । त्यसैकारण उसको वध गर्न भगवान् विष्णुले नै अवतार लिनुपर्यो ।  

टाउको सिंहको जस्तो र शरीर मानिसको जस्तो भएको भगवान् विष्णुको नरसिंह अवतार भयो । सबै वरदान त पूरा भयो, तर उसले सालको १२ महिनामा नै आफ्नो मृत्यु नहोस् भनेको हुनाले त्यही हिरण्यकशिपुलाई मार्न नै भगवान् विष्णुले तेह्रौँ महिना अर्थात् मलमासको सृष्टि गरी हिरण्यकशिपुको वध गर्नु भएको पुराणमा उल्लेख छ । 

अधिकमासको निर्माण भगवान् विष्णुबाट नै भएकोले यस महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ । यस समयमा भगवान् विष्णुको पूजा गरी पुरुषोत्तम महात्म्य कथा श्रवण गर्ने गरिन्छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया