महामारीमा मलेसियामा हराएका श्रीमानको सम्झना

 असोज १, २०७७ बिहिबार १७:२१:११ | सुजता सुनुवार

इलाम– सानो पसल । सीमित छ कमाई । तर पनि जिन्दगीको सहारा यही पसल बनेको छ सोममाया गुरुङका लागि । बाध्यतामा बाँच्न रहर कसलाई हुन्छ र ? सोममायालाई पनि छैन । तर जिन्दगीभर सहारा दिने श्रीमान् परदेशमा नै बेपत्ता भएपछि घरको चुलो बाल्ने बाटो पनि बन्द भएको छ । 

जान त उहाँका श्रीमान पनि सुखको सपना देखाएरै परदेश गएका थिए । तर खै सुख त परको कुरा खुसी पनि दिन नसक्नेहरु किन अरुलाई सपना देखाउँछन् सोममयाले बुझ्नुभएको छैन । 

९ वर्षअघि मलेसिया जाने बेलामा सोममायाका श्रीमानले भनेका थिए, ‘महिनैपिच्छे पैसा पठाउँला, तिमीले घर चलाउन दुःख गर्नै पर्दैन ।’ तिनै भरोसा दिने नै परदेश पुगेपछि बेखबर हुँदा दुःखको त के हिसाब । 
सोममाया भन्नुहुन्छ – ‘दुःख भए पनि मनको शान्ति भए त केही आराम हुन्थ्यो कि ।’

मानिसलाई दुःखले नै हो सुखको बाटो देखाउने । सोममायालाई पनि त्यही आश छ । 

२०६८ सालको अन्तिमतिर हो, उहाँको श्रीमान् ओमकार मलेसिया गएको । कमाउन परदेश जान्छु भनेपछि उहाँले श्रीमान्लाई ऋण खोजेर विदेश पठाउनुभएको थियो । कमाउँला भविष्यका लागि केही गरौंला भन्ने नै थियो सपना त । परदेश गएको केही समयसम्म त ओमकार सम्र्पकमा नै हुनुहुन्थ्यो । खै के भयो थाहा छैन सोममायालाई ।

‘छोरी र तिम्रो लागि कमाएको पैसा पठाउँछु नि पीर नगर्नु भनेर हिँडेका श्रीमान् अहिलेसम्म बेपत्ता छ,’ उहाँले भन्नुभयो, ‘सुरु सुरुमा निक्कै पीर लाग्यो, मौरीको रानो हराएझैं भयो तर पछि थाहा पाएँ बेखबर मसँगै मात्र रहेछन् ।’

तर केही समयपछि श्रीमानको खबर आउन छाड्यो । त्यो बेलामा के भयो भनेर बुझ्न फोन थिएन । चिठ्ठी लेख्न सोममायालाई श्रीमानको ठेगाना थाहा थिएन । विकल्पमा बाँकी थियो त केवल प्रतिक्षाको मात्रै । 

‘छोरी र तिम्रो लागि कमाएको पैसा पठाउँछु नि पीर नगर्नु भनेर हिँडेका श्रीमान् अहिलेसम्म बेपत्ता छ,’ उहाँले भन्नुभयो, ‘सुरु सुरुमा निक्कै पीर लाग्यो, मौरीको रानो हराएझैं भयो तर पछि थाहा पाएँ बेखबर मसँगै मात्र रहेछन् ।’

समस्यामा भएको भए पनि आफूलाई सम्झन्थें । सुखैसुख भयो त दुःखीको याद गरेनन् झैं लाग्छ सोममायालाई ।

श्रीमानलाई परदेश पठाउन लिएको ऋणको पीर । अर्कोतिर घर चलाउने जिम्मेवारी । श्रीमानको भर नभएपछि उहाँले आफ्नो जिन्दगीमा अरुको भर पर्नुभन्दा आफ्नो लागि आफैं केही गर्ने योजना बनाउनुभयो । अनि सुरु गर्नुभयो पसल । जसोतसो जीवन  त चलेको छ । अब पनि चल्ला  । तर समय सधैं एकै हुँदैन ।

यो महामारी भने उहाँलाई पनि सहज भएको छैन । बिर्सेर जानेको मायाले घरीघरी सताउँछ उहाँलाई । केही विपत्ति प¥यो कि, यो महामारीको समयले भने उहाँलाई पनि झस्काएको छ । तर के गर्ने, बाध्यता छ । 

‘घर सम्झेर आए त हुने नि, सम्झेर आए त हामी पनि उ भनेर नै त बसेका छौं, खै किन हो सञ्चो बिसञ्चोसमेत सोध्दैनन्,’ सोममाया गुनासो गर्नुहुन्छ ।

एक्लो संघर्ष सहज छैन 

श्रीमान् विदेशमा । स्वास्थ्यमा समस्या । लागेको ऋण तिर्नु पर्ने जिम्मेवारी ।  तर सोममायाको संघर्ष नगर्नुको विकल्प पनि थिएन । पारिवारिक व्यवस्थापनका लागि दुई वर्षसम्म निकै गाह्रो भयो उहाँलाई । त्यस बीचमा अरुको काम गर्नुभयो । आर्थिक रुपमा सबल बन्दै आफ्नो संघर्षमा रमाउन सक्ने बन्नुभयो । अहिले भने मानसिक समस्याबाट पनि पार पाइसक्नु भएको छ । 

उहाँले ५ वर्षअघि १३ सय रुपैयाँको लगानीमा पसल सुरु गर्नु भएको हो । देउराली बजारको बाटोमा एउटा सानो चटपटे पसल थियो उहाँको । अहिले भने पसल व्यवस्थित छ । पसल सुरु गरेको पनि  चार वर्ष भईसक्यो । हरेक हप्तामा १६ हजार रुपैयाँको सामान पसलमा राख्नुहुन्छ । यही पसलबाट नै अहिले उहाँको गुजारा चलिरहेको छ । ‘बिरामी हुँदा पानी तताएर दिनेसमेत नहँुदा भने साँच्चै एक्लो भएँ भन्ने कुराले साह्रै सताउने रैछ,’ उहाँ दुखेसो पोख्नुहुन्छ ।

जन्मदर्ता समयमा गर्न नपाउँदा स्कुल पनि समयमा भर्ना गर्न पाउनुभएन । त्यो समय भने सोममायालाई श्रीमानको अभाव खट्किएको थियो ।

पसलबाट भएको कमाइले नै उहाँले श्रीमानलाई विदेश पठाउँदा काढेको ५० हजार रुपैयाँ ऋण पनि तिर्नुभयो । अब थाप्लोमा ऋण छैन । तर जति नै बलियो हुँ भने पनि सोममायाको मनमा पीर छ । 

साथमा छोरी छिन् । आफ्नै कमाइले पढाइरहनुभएको छ । तर जन्मदर्ता समयमा गर्न नपाउँदा स्कुल पनि समयमा भर्ना गर्न पाउनुभएन । त्यो समय भने सोममायालाई श्रीमानको अभाव खट्किएको थियो । तर अहिले त्यस्तै भावनात्मक अभावले नै उहाँलाई बलियो बनाउँदै लगेको छ । अहिले त छोरी पाँच कक्षामा पढ्ने भएकी छन् । 

पसललाई नै अझै व्यवसायिक रुपमा अघि बढाउने उहाँको योजना छ । सोममायालाई लाग्छ श्रीमान घर आइदिए दुवैजना मिलेर अघि बढ्नपाए दुःखमा पनि खुसी मिल्थ्यो होला । किनकी उहाँलाई थाहा छ एक्लो जीवन सहज छैन ।

तर आफूले मात्र चाहेर कहाँ हुन्छ र ? जे जस्तो परिस्थिति भए पनि  आँटिलो बन्न सकिएन भने जीवनमा कहिल्यै उठ्न सकिन्न भन्ने कुरा उहाँलाई आफ्नै जीवनले सिकाएको छ । भन्नुहुन्छ ‘हार खान हुँदैन, दरिलो आँटले नै अघि बढ्नपर्ने रहेछ ।’

अन्तिम अपडेट: चैत ३०, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया