नेपालमा नाै दशकअघि नै रेल सञ्चालनमा थियो, प्रधानमन्त्रीको ‘रेल सपना’ पूरा हुनै बाँकी

 असोज ४, २०७७ आइतबार ७:५३:४० | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डाै - नेपालको आफ्नै रेल शुक्रबार जनकपुर आइपुग्दा त्यस ठाउँका नागरिक मात्र होइन, सबै नेपाली उत्साहित भए । रेल गुडेकै ठाउँका बासिन्दाले सेल्फी खिचे । अरुले पनि फेसबुकमा रेलको फोटो राखेर यसबारे थरीथरी चर्चा गरे ।

नेपालमा पहिलोचोटी रेल सञ्चालनमा आउन लागेकोजस्तो महशुस धेरैले गरे पनि नेपालमा पहिलोपटक रेल सञ्चालनमा आउन लागेको भने होइन । नेपालमा नाै दशकअघि नै रेल आएको इतिहास रहेको छ । नेपालमा अमलेखगन्जसम्म झण्डै ९३ वर्षअघि नै रेल आएको थियो ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा नेपाल र भारत रेलले जोडिएका थिए । यस्तै वि.सं. १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा रहेको इतिहासमा पढ्न पाइन्छ । नेपालको काठ भारत लैजान ब्रिटिस-इन्डिया सरकारले जनकपुर-जयनगर रेलमार्ग निर्माण गरेको थियो । 

तर नेपालको काठ निकासीमा रोक लागेपछि त्यही रेलबाट यात्रु आवतजावत गर्न थालेका थिए । रेलबाट नै दुई देशीय पारवहन सेवासमेत सञ्चालन भएको थियो । जनकपुर-जयनगर रेलमार्ग महोत्तरीको बिजलपुरासम्म विस्तार गरिएको थियो ।

विस्तार गरेको केही दिन नबित्दै जनकपुर-बिजलपुर २२ किलोमिटर खण्डको पुल बगाएपछि सेवा बन्द भएको थियो । सेवा बन्द भएसँगै पूर्वाधारहरु जीर्ण बनेको थियो । यसअघि नेपालमा कोइलाबाट चल्ने रेल सञ्चालनमा थियो ।

प्रधानमन्त्रीको रेल सपना

भारतमा एक लाख २१ हजार चार सय सात किलोमिटरको रेल सञ्जाल छ भने चीनमा पनि एक लाख २१ हजार किमीको रेल नेटवर्क तयार भइसकेको छ । दुवै छिमेकी  देश आफ्नो रेलमार्गलाई अझ विस्तार गर्ने तयारीमा छन् । 

भारत नेपालको काठमाण्डौसम्म आफ्नो सञ्जाल विस्तार गर्न चाहन्छ भने चीन काठमाण्डौ हुँदै लुम्बिनीसम्म आफ्नै रेलमा पुग्न चाहन्छ । सरकारले बन्द रहेको जनकपुर-जयनगर रेल २०७५ सालको पुसदेखि नै चलाउने घोषणा गरेको थियो । 

रेल विभागले गएको वर्ष सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । डिजेल इलेक्ट्रिफाइड मल्टिपल यूनिट प्रविधिको रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ । कुर्था-जनकपुर-जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो । 

अहिले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट नेपाल आइपुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा भैरहेको छ । तर, नेपालमा पहिले नै ब्रिटिसले चलाएर हटेको रेल सपना ब्युँताउने प्रयास मात्रै भएको टिप्पणी पनि सुरु भएको छ । रेल सेवा विकास गर्ने योजना अनुसार सन् २००९ मा नै सरकारले पूर्व पश्चिम नौ सय ४५ किलोमिटर रेलको सम्भाव्यता अध्ययन गरेको थियो । 

सन् २०१४ देखि नै यसका विभिन्न खण्डको निर्माण सुरु भएको थियो । प्रधानमन्त्री ओलीले पदभार सम्हालेलगत्तै देशवासीका नाममा सम्बोधन गर्ने क्रममा काठमाण्डौमा मेट्रो रेल चलाउने घोषणा गर्नुभएको थियो । मेट्रो रेल सञ्चालनका विषयमा केही कागजी काम त बनेको छ, तर काम अघि बढ्न सकेको छैन । 

भूकम्प गएर ठूलो जनधनको क्षति भएको वर्ष २०७२ सालमा भारतले नेपालमा अघोषित नाकाबन्दी लगायो । त्यसै बखत भारतसँग मात्रै नभएर चीनसँग पनि व्यापारिक सम्बन्ध विस्तार गर्नुपर्ने माग उठेको थियो । भारतसँग रेलले छोएको झण्डै एक शताब्दीपछि चीनसँग पनि रेल सेवा संचालनबारे बहस सुरु भयो । 

केरुङ हुँदै काठमाण्डौ आउने रेलका विषयमा २ वर्षअघि नेपाल र चीनबीच सहमति नै भएको थियो । रेलमार्ग निर्माण सम्बन्धी सम्झौतामा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ समकक्षी लि सियोपिङले हस्ताक्षर समेत गर्नुभएको छ ।

यस्तै चिनियाँ राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणका क्रममा भएको सहमतिअनुसार नेपाल र चीन जोड्ने रेल्वे सञ्जालको सम्भाव्यता अध्ययनको खर्च चीनले ब्यहोर्ने र लगानीको ढाँचा सम्भाव्यता अध्ययनपछि दुई देशले तय गर्ने भनिएको थियो ।

यस्तै सरकारले भारत र चीन जोड्ने मात्रै होइन, पूर्व-पश्चिमका मुख्य नाका र सहरहरु जोड्ने आन्तरिक रेल-वे सेवा छिट्टै सुरु गर्नेसमेत कागजी योजना बनाएको छ । अहिले वर्षौं चलेर बन्द भएको जनकपुर-जयनगरमा रेल चलाउने तयारी भए पनि प्रधानमन्त्रीको रेल चलाउने सपना पूरा हुन भने कति वर्ष लाग्ने हो भन्ने यकिन छैन ।

अन्तिम अपडेट: फागुन २९, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया