किन गर्छन् यूएईमा कार्यरत नेपालीले हुण्डी ?

 असोज ४, २०७७ आइतबार १४:१८:५८ | मेरो कथा मेरो भोगाई

डिजी शर्मा/यूएई ।

‘नेपालमा पैसा पठाउँदा तपाईँ कुन माध्यमबाट पठाउनुहुन्छ ?’

यूएईमा कार्यरत धेरै नेपालीलाई यो प्रश्न सोध्ने हो भने अधिकांशको जवाफ एउटै आउँछ ‘हुण्डी छँदैछ नि ।’ 

अनि थप्छन्, ‘हुण्डीवालाले भनेजस्तो रेट दिएन भने मात्रै एक्सचेञ्जबाट पठाउने हो ।’

शहरभरी एक्सचेञ्ज हुँदाहुँदै हुण्डीबाट किन नि ? थप जान्न खोज्दा सहज जवाफ दिन्छन्, ‘दुईचार पैसा भए पनि फाइदा हुन्छ, हामी यहाँ कमाउन आएको हो, फाइदा त हेर्नै पर्‍यो नि ।’

यो अबैध कारोबार हो भनेर बैंक र एक्सचेञ्जका प्रतिनिधिले विभिन्न माध्यमबाट सम्झाइरहेका हुन्छन्न् । धेरैलाई त थाहा पनि छ हुण्डीबाट पैसा पठाउनु त गैरकानुनी काम हो भनेर, यो पनि एक किसिमको भ्रष्टाचार हो भनेर ।

तर केही श्रमिक भन्छन्, ‘नेताले करोडौं भ्रष्टाचार गर्दा त भएकै छ, हामीले आफूले कमाएको पैसा आफ्नो तरिकाले पठाउन किन नपाउने ?’

गएको छ वर्षदेखि मैले मेरा नजिक र हाइहेल्लो मात्र हुने साथीहरुसँग हुण्डीबारे सवालजवाफ गर्दा निरन्तर सुन्दै आइरहने साझा प्रतिउत्तर यस्तै छ  । सबैलाई थाहा छ, थाहा नहुने कोही छैन, हुण्डी गर्नु हुँदैन भन्ने कुरा । तर  थाहा पाउने धेरैले गरिरहेकै छन् हुण्डी । 

‘धुमपान तथा मद्यपान स्वास्थ्यको लागि हानिकार छ’ भन्ने नारा जस्तै भएको छ परदेशीको हुण्डीप्रतिको मोह । 

महिनाको २९ दिनसम्म नेताले भ्रष्टाचार गरे, देश बिगारे, नेपाल कहिल्यै विकास नहुने भो भनेर देशको ठूलो पिर र चिन्ता लिँदै ठूलो देशप्रेम प्रकट हुन्छ । तर जसै तलब आउँछ २९ दिनको त्यो देशप्रेम, त्यो देशभक्ति हुण्डीवालाको कोठामा पुगेर सकिन्छ ।

 अरु कम्पनीमा काम गर्ने नेपालीहरुको अवस्था के छ त्यो म यकिनका साथ भन्न सक्दिनँ । तर मैले काम गरिरहेको कम्पनीमा नेपालीको संख्या अधिक छ ।

जसमध्ये मैले सयौँ नेपाली दाजुभाइ, साथीहरुसँग प्रत्यक्ष अप्रत्यक्ष रुपमा कुरा गर्दा उनीहरुको मुखबाट कहिल्यै बैंक वा एक्सचेञ्ज शब्द निस्किएको थाहा पाएको छैन ।

यसको मतलब (के सबैले सधैं हुण्डीबाट मात्रै कारोबार गर्छन त ?) त्यसो पनि पक्कै होइन । एक्सचेञ्जबाट कारोबार गर्नेहरु पनि थुप्रै भेटिए । तर कस्तो अवस्थामा उनीहरु बैंक वा एक्सचेञ्ज कम्पनीको सहारा लिन्छन त ? 

हुण्डीवालाले भनेजस्तो रेट दिएन, नेपालमा तुरुन्तै चाहिएको तर हुण्डी गर्दा केही ढिलो हुन सक्ने अवस्था आएको खण्डमा मात्रै बैंक वा एक्सचेञ्जसम्म पुगेर पैसा पठाउनेहरु थुप्रै छन् । तर हुण्डी गर्नु गैरकानुनी हो । यो पनि एक किसिमको भ्रष्टाचार नै हो । म हुण्डीबाट पैसा पठाउँदै पठाउँदिनँ भन्ने साथी मैले भेटेको छैन भन्दा फरक नपर्ला । 

मैले काम गरिरहेको कम्पनीभन्दा बाहिरका केही साथीहरु भेटेको छु । जसले हुण्डी कारोबारलाई बढवा दिंदैनन् । नेपालीहरुको बाहुल्यता रहेका अधिकांश कम्पनीमा हुण्डी कारोबारीको पहुँच छ । आखिर हुण्डी कारोबार किन हुन्छ त ? त्यसको एउटै मात्र जवाफ आउँछ, बैंक वा एक्सचेञ्जलेभन्दा केही बढी  दिने पैसाको रेट ।

हुण्डीबाट पठाउँदा केही हजार रुपैयाँ धेरै भए पनि घरमा पुग्छ । त्यही सानो लोभले नेपालीलाई एक्सचेञ्ज भन्दा हुण्डीवाला प्यारो लाग्छ । यसको जालो यसरी फैलिएको छ कि यो जालो न नेपालमा रहेको सरकारले भत्काउन सक्छ, न त विदेशमा रहेको दूतावासले नै ।

तर कोरोना कहरमा भने केही हदसम्म हुण्डी कारोबारमा कमी भने आएको महसुस भएको छ । कहिलै एक्सचेञ्जसम्म नपुगेका पैताला पनि यो लकडाउनको बेला भने पुग्ने गरेको पाईयो ।

हुण्डीबाट पठाउँदा केही हजार रुपैयाँ धेरै भए पनि घरमा पुग्छ । त्यही सानो लोभले नेपालीलाई एक्सचेञ्ज भन्दा हुण्डीवाला प्यारो लाग्छ । यसको जालो यसरी फैलिएको छ कि यो जालो न नेपालमा रहेको सरकारले भत्काउन सक्छ, न त विदेशमा रहेको दूतावासले नै ।

एक वर्षअघि जतिबेला यूएईका लागि राजदूत चुनिएर कृष्णप्रसाद ढकाल यहाँ आउनुभएको थियो, त्यतिबेला यूएईमा रहेर पत्रकारिता गरिरहनुभएका केही पत्रकारहरुसँगको भेटघाट कार्यक्रम दूतावास मै राखिएको थियो । 
हुन त म पत्रकार पनि होइन र त्यो कार्यक्रममा मलाई निमन्त्रणा पनि थिएन । तर संयोगबश मलाई त्यो कार्यक्रममा उपस्थित हुने मौका मिल्यो  ।

त्यस अवसरमा पत्रकार साथीहरुले  यूएईको अवस्था, यहाँ रहेका नेपालीहरुको अवस्था र नेपालीहरुले भोग्नु परेका समस्याका बारेमा नयाँ राजदूतलाई अवगत गराईरहँदा मैले भने यहाँबाट हुने हुण्डी कारोबारकोबारेमा आफ्ना कुरा राखेको थिएँ । 

यूएईमा बसेर पत्रकारिता गर्ने पत्रकार साथीहरुले पनि यसको  बारेमा कलम नचलाउनुभएको हैन । उहाँहरु भन्नुहुन्छ, कलममले हुण्डी रोक्न सक्दैन । 

विदेशमा केही यस्ता कुराहरु हुन्छन्, जुन आफ्नै आँखा अघि हुन्छन्, तर पनि त्यसको प्रमाण आफूसँग हुँदैन । जसले गर्दा त्यस विरुद्धमा खुलेर बोल्न र लेख्न सकिंदैन । हुण्डी कारोबारीहरु कानुनी दायरामा आउन नसक्नुको मूख्य कारण पनि हो कि प्रमाण हुँदैन । 

मैले त पहिलेदेखि नै एउटै मत राख्दै आएको छु कि हुण्डीवालालाई कारबाही गर्नुभन्दा पनि हुण्डीवालासम्म पैसा बोकेर जाने नेपालीलाई कारबाही गर्ने कानुन बनाउनु जरुरी छ । एउटा हुण्डीवाला कारबाहीमा परे अर्को जन्मिन्छ ।

त्यसैले उसलाई कारबाही गरेर हुण्डी कारोबारीको जालो फाट्नेवाला छैन । सरकारले कानुन नै यस्तो बनाओस् कि पैसा बोकेर मान्छे बैंकिङ च्यानलसम्म जान बाध्य होस् । किनभने जनचेतना अपुग भएर हुण्डी कारोबार बढिरहेको पक्कै हैन । र यही कुरा मैले राजदूतसँगको त्यो कार्यक्रममा पनि राखेको थिएँ । 

हुण्डी कारोबारमा प्रत्यक्ष रुपमा संलग्न केही साथीहरु, जसले यहाँ रहेका नेपालीको पैसालाई उनीहरुको घरसम्म पुर्‍याउने गर्छन् । तीमध्ये केही मेरै साथीहरुलाई मैले धेरै पटक सोधेको छु, तपाईंहरुले एक्सचेञ्जलेभन्दा बढी रेट पनि दिनुहुन्छ, कानुनी रुपमा यसमा जोखिम पनि उत्तिकै छ, आखिर यसरी अरुको पैसा हुण्डी गरेर पठाउँदा तपाईंहरुलाई चाहिँ के कति फाईदा हुन्छ ? अथवा कसरी फाईदा हुन्छ र तपाईँहरुले यो कारोबार गरिरहनु भएको छ ?

हुन त उनीहरुको कुरामा सत्यता पनि छ । तर मेरो उनीहरुलाई प्रतिप्रश्न हुन्छ, भ्रष्टाचार गरे भनेर नेतालाई गाली गर्नेले आफूले चाहिँ किन भ्रष्टाचार गरेको त ?’

 आखिर तपाईंहरुले लिएको यति धेरै विदेशी पैसा कहाँ जान्छ त ? मेरा यी प्रश्नको जवाफ त मैले खोजेको शैलीमा आउँदैन थियो । किनभने उनीहरुलाई राम्रोसँग थाहा छ कि म यसको घोर बिरोधी हुँ ।

फेरि पनि उनीहरुले जिब्रो चपाएर दिने उत्तरबाट यति चाहिँ थाहा हुन्थ्यो कि यहाँ संकलन भएको अधिकांश रकम सुन तस्करी र अवैध सामग्री खरिदमा प्रयोग हुन्छ ।

साथसाथै नेपालबाट व्यापारीहरुले  यूएईमा हुने  कारोबारको भुक्तानीका लागि पनि उनीहरुबाट रकम लिने गरेका छन् । बैँकबाट भन्दा कम रेटमा हुण्डी कारोबारीले ती व्यापारीलाई रकम उपलब्ध गराउने भएकाले पनि उनीहरुले त्यो बाटो अपनाउने गरेको प्रष्टसँग बुझ्न सकिन्छ । 

हुण्डी गर्नेहरुको एउटै तर्क हुन्छ, ‘नेताले करोडौं भ्रष्टाचार गरेर देशलाई लुट्दा हुन्छ, हामीले हुण्डी गरेर दुई चार पैसा कमाउँदा के भो ? आखिर हामीले बैंकबाट पठाउँदा देश सुध्रिने हैन के रे ?’  बंैंकबाट पठाएर नेतालाई खुवाउनुभन्दा त आफ्नो पैसा आफैं खानु ठिक हो नि ।’

हुन त उनीहरुको कुरामा सत्यता पनि छ । तर मेरो उनीहरुलाई प्रतिप्रश्न हुन्छ, भ्रष्टाचार गरे भनेर नेतालाई गाली गर्नेले आफूले चाहिँ किन भ्रष्टाचार गरेको त ?’

रकम सानो होला तर यो हुण्डी गर्नु पनि त भ्रष्टाचार नै हो नि, हैन र ? तपाईं पनि त एउटा भ्रष्टाचारी नै हो नि, यो बारेमा चाहिँ के भन्नुहुन्छ ?

 मैले यति प्रश्न गरिसकेपछि भने, भइगो त तिमी नै एक्सचेञ्जबाट पठाउ, तिमी नै देशभक्त रहेछौ, हामी हुण्डी नै गर्छौं, तिमीलाई कुनै आपत्ति छ र ?’ उनीहरुले यति भनिसकेपछि म पनि चुप बस्न नै उचित ठान्छु । किनभने मलाई राम्रोसँग थाहा छ कि अरुलाई सुधार्न सकिन्न र त्यस्तो प्रयास गर्नु मुर्खता हो । 

केही समयअघि आइएमई यूएईले आयोजना गरेको एक प्रतियोगिताका लागि भनेर मैले यस्तै हुण्डी कारोबारीलाई लक्षित गरी एउटा कविता लेखेको थिएँ । जसको शीर्षक ‘हुण्डीवाला मुर्दावाद’ थियो  । 

परदेशमा बसेर हुण्डी गर्नु भनेको

देशलाई छातीबाट नङ्ग्याउनु जस्तै हो

आमा नङ्ग्याए जस्तै गरी

के तपाईं पैसा कै लागि

आमा नङ्ग्याउन सक्नु हुन्छ ?

जुन कुरा पीडा बनेर मनमा बस्छ, कविताको माध्यमबाट प्रकट हुने हो । मलाई पीडा दिने थुप्रै कुरामध्ये एक यो पनि हो । त्यही पीडालाई मैले कवितामा लेख्ने प्रयास मात्रै गरेको हो ।

हुण्डीको कारोबार र कारोबारीले देश, समाज अनि विदेशलाई पनि पीडा  नै दिएका छन् । यसलाई रोक्न रेमिट्यान्स सरोकार समूहले नेपाल सरकारलाई दिएको सुझाव स्मरण गर्न मन लाग्यो कि श्रम स्वीकृति लिने बेलामा सम्बन्धित श्रमिकले बैंकिङ च्यानलबाट पैसा पठाएको भौचर अनिवार्य गरिदिने हो भने हुण्डी स्वतः रोकिनेछ । यो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण  होस् ।

अन्तिम अपडेट: असोज २०, २०७७

6 Comments

  • देवी प्रसाद दाहाल

    Sept. 23, 2020, 10:29 a.m.

    हुन्डी कारोबारलाई दोष दिनुभन्दा बैङ्किङ माध्यमबाट पैसा पठाउँदा लाग्ने कर मा भारी छुट दिनु नि , आफ्नो ज्यान नै जोखिममा राखेर अर्काको देशमा गई खुन पसिना बगाएर कमाएको पैसामा किन कर लिनु पर्यो नेपाल सरकारले?कर भनेको त व्यापार व्यवसायबाट नाफा कमाउनेलाई पो लिने हो त ।कर जनताले तिर्ने अनि त्यसको मोजमस्ति चाहिँ नेताले गर्ने , यस्तो पनि हुन पाउँछ? होइन भने कर तिरे अनुसारको नेपाली जनताले के के सुविधाहरु पाएका छन्?नेपाली जनतालाई यसको चित्त बुझ्दो जवाफ चाहिएको छ ।

  •  0 Reply
  • पदमप्रसाद पाण्डेय

    Sept. 23, 2020, 10:04 a.m.

    मन्त्रीहरू का झोले राजदूत हुन्छन्; हनका झोलेहरू हुणडीवाल, एउटा पत्रकार ले लेखेको कविता वा आलेख नै उनीहरूका आँखा को कचरा बन्छ । रेमिटेन्स भौचर हेरेर भीजा नविकरण गरे हुण्डी रोकिन्छ । सामान किनेर लैजाँदै गरेका क्रेता सँग भ्याट बेला बेला भ्याट बिल चेक गरेमा भ्याट को नक्कली कारोबार रोकिन्छ भन्ने थाहा नभएर हैन मित्र । व्यापारी ले चुनाव का बेला दिएको गोप्य खर्च असुल गर्ने गोप्य अनुमति हो नक्कली भ्याट बिल अथवा अन्य अबैध कारोवार ।

  •  0 Reply
  • रिशि

    Sept. 21, 2020, 9:20 a.m.

    सम्बन्धित यो समाचार लेख्नेलाइ !! नेपालमा बेपार बिजनेस गर्ने सङ्ग पुरै कर उठाएर देखा ! हैन भने बिदेशमा पसिना बेचेर कमाएको पैसा को सारै धुलो टिपि न गर!!!

  •  0 Reply
  • PKS20

    Sept. 20, 2020, 7:39 p.m.

    एउटा मजदुरले मानिलेउ खुरु खुरु एक्स्चेन्जबाट पैसा पठाउछ तर उस्ले हुन्डीबाट पठाउदा ४ हजार बढी पाउछ र त्यही ४ हजारले छोराछोरिको स्कुलको फि तिर्न सक्छ भने किन नगर्ने हुन्डी ? किनकी राज्यले त्यो फी तिर्ने ४ हजारमा सुबिधा दिएको छैन । दैनिक सामानको मुल्य बढेर आकाश छोइसकेको छ । यदी नागरिकता ओढेर भोक मेटिने नागरिकता ओछ्याएर चिसो मेटिने हुन्थ्यो भने देसभक्ती गाउदै नेपाल मै बस्न हुन्थ्यो, किन यो खाडीमा ५० डिग्रिको घाममा सेकिनु पर्थ्यो र ? राज्यलाई हामीलाई हेर्दैन भने के हामीले आफ्नो फाईदा नहेर्ने । राज्यको ढुकुटी सक्ने अरबौ लुट्नेहरु भरस्टाचारी नहुने हुन्डीबाट पैसा पठाएर आफुलाई केही फाईदा लिनेहरु भ्रस्टाचारी हुने महोदय । तिम्रो बुद्दीलाई घाममा सुकाइदेउ बाबु जस्ले पठाउछ पठाउन देउ अहिले त हुन्डिले उता पैसा दिएसी बल्ल यता दिने हो नो रिक्स नो लस्ट बिन्दास पठाउने हो बुझ्यौ ।

  •  0 Reply
  • Devendra pangeni

    Sept. 20, 2020, 3:38 p.m.

    म पनी सयौ को विच मा एक मात्र हुण्डी नगर्ने व्यक्ती हुंनाले सधै एक्लो वृहस्पती जस्तो हुन्छु।अन्य म संग बराबर आम्दानी हुने साथीका भन्दा मेरा जुत्ता पुराना देखीन्छन्, र अरूको विचमा म मात्र फरक स्वभाव को देखीन्छु।

  •  0 Reply
  • बल बहादुर

    Sept. 20, 2020, 2:39 p.m.

    "सरकारले कानुन नै यस्तो बनाओस् कि पैसा बोकेर मान्छे बैंकिङ च्यानलसम्म जान बाध्य होस् । किनभने जनचेतना अपुग भएर हुण्डी कारोबार बढिरहेको पक्कै हैन " यो लेखक लाई एक झापड हिर्काउन मन लाग्यो।तरिका त्यो होइन नी बरु हुण्डी रोक्नु छ भने पैसा पठाउदा लाग्ने चार्ज free गरी देऊ।अनि हेर।

  •  0 Reply

तपाईको प्रतिक्रिया