पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
अगष्ट महिनाको खाडीको चर्को गर्मी । अनि विश्वलाई नै हल्लाउने कोरोनाको कहर । यो कहर कतारमा पनि उत्कर्षमा पुगेको थियो । मनमा भय र त्रासको मनोदशाले डेरा जमाइरहेको अवस्थामा सुरक्षित साथ नै आफ्नो नियमित कामहरु चलिरहेको थियो ।
अगष्ट १२ को दिन एक्कासी मलाई हल्का ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने र शरीर कमजोरी भयो । मलाई कोरोनाको शंका लाग्यो । मैले कम्पनीको म्यानेजरलाई फोन गरेर आफू बिरामी भएकोबारे जानकारी गराएँ । तत्कालै कोठा परिवर्तन गरेर अलग्गै बसेँ ।
केही महिना अगाडि कोरोनालाई जितेर आएका मेरा एक जना साथीलाई फोन गरेर आफ्नो समस्याबारे सुनाएँ । उहाँले सहानुभुति दिँदै आफ्नो अनुभवमा कोरोनाको लक्षणहरु मलाई सुनाइरहँदा म छाँगाबाट खसे जस्तै भएँ । एकछिन त मरो आवाज नै रोकियो । मेरो छातीमाथि एक टन चट्टानको टुक्रा आएर थिचेको महसुस भयो ।
किनभने उहाँको अनुभूति, भोगाइ र समस्याहरु मेरो समस्यासँग मेल खाएको थियो । म हतास भएँ । डराएको जस्तो अनुभव भयो । आफूलाई सम्हाल्दै मलाई रुघाखोकी मात्र हो भन्ठानेर मन बुझाएँ । समस्या जटिल हुँदै गयो । ज्वरोले आफ्नो सीमा नाघिसकेको थियो । श्वासप्रश्वासमा झनै समस्या आउन थाल्यो । बान्ता हुने, टाउको धेरै दुख्ने हुन थाल्यो ।
म हतार हतार हमाद हस्पिटल गएँ र डाक्टरले मलाई केही थान औषधिको पोको हातमा थमाए । यो औषधि खानु ठिक हुन्छ भनेर मलाई आफ्नो कोठामा फर्काईदिए । तर त्यो औषधिले काम गरेन । अगष्ट १४ तारिख बिहानै म फेरि अस्पताल गएँ । डाक्टरको सल्लाह अनुसार मलाई तत्कालै अस्पतालमा भर्ना गरियो ।
१३ दिन अस्पतालमा (आइसियू र आइसोलेसन) कक्षमा उपचार र २५ दिन क्वरेण्टीनको बसाइ गरी जम्मा ३८ दिन अस्पतालमा बसेपछि थप एक हप्ता सेल्फ क्वरेण्टीनमा बसेर आज फेरि काममा फर्किएको छु । कोभिड १९ पोजिटिभ भएर १३ दिनको आइसीयू र आइसोलेसन राखेर मलाइ बचाउन धेरै मेहनत गर्नुहुने हमाद अस्पतालका डाक्टर र कर्मचारीप्रति म आभारी छु । दुःखको कुरा मलाई कसैको अनुहार थाहा छैन । तर उहाँहरुलाई नै प्रशंसा गरे पनि कम हुन्छ ।
म उनीहरुको त्यो मेहनत कहिले पनि बिर्सने छैन, जसले मेरो ज्यान बचाएका छन् । अनि म उनीहरुको गुन कहिले बिर्सन सक्दिनँ जसले मलाई आवश्यक पर्ने सामानहरु अस्पतालसम्म ल्याइदिनुभयो । हरेक पल मलाई हौसला प्रदान गर्नुभयो । यो परदेशमा बिरामी भएर बस्दा पनि म आफनै परिवारसँग भएको अनुभव गर्न पाएँ ।
आज उहाँहरुकै माया र ममताले लाग्छ, मैले नयाँ जीवन पाएको अनुभव गरेको छु । आत्मीय मित्रहरु र शुभचिन्तकहरुमा पनि मुरीमुरी धन्यवाद र आभार । मैले पुनर्जीवन पाएको छु । आज सोच्छु म कसरी कोरोनाको शिकार भएँ ? अझैसम्म उत्तर त छैन ।
तर मेरो आफ्नै असावधानी र केही हेलचेक्र्याइँ नै सङ्क्रमण हुनुको प्रमुख कारण हो भन्ने कुरामा दुईमत छैन । सम्पूर्णमा मेरो सुझाव छ कोरोनालाई सामान्य रुघाखोकी त हो भनेर लापरबाही नगरौं । यो विषम परिस्थितिमा हामी अत्यन्तै सावधान र सचेत हुन आवश्यक छ ।
किनभने सानो लापरबाही र असावधानीले गर्दा हाम्रो ज्यान नै जोखिममा पर्छ । समाजमा पनि सङ्क्रमण फैलिन सक्छ । सुख्खा खोकी र ज्वरो आउने, अरुची बढेको छ र कमजोरी महसुस भएको छ भने तुरुन्तै अस्पताल गएर कोरोना परीक्षण गराउनु होला । किनभने मैले मृत्युलाई नजिकबाट हेरेर फर्किएको छु र अहिले सापटको जीवन उपहार स्वरुप पाएको छु ।
हामीले सावधानी अपनाएमा आफू बाँच्न र अरुलाई पनि सचेत बनाउन सकिन्छ । साथै लागेमा पनि मनोबल बलियो बनाउने, शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनको लागि सन्तुलित भोजन, शारीरिक व्यायाम, कागती पानी तताएर पिउने गरियो भने हामीलाई कुनै पनि रोगले आक्रमण गर्न सक्दैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।