रानीपोखरीको पानीमा मासिएको संस्कृति

 असोज ८, २०७७ बिहिबार ९:५२:१ | कुमार रञ्जित
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको मध्य भागमा रहेको रानीपोखरी पुनर्निर्मित भएर पानी भरिएपछि खुशीले कल्पनाको पोखरीमा पौडिनेहरु धेरै देखिए । तिनीहरुले रानीपोखरीका निर्माता राजा प्रताप मल्ललाई नै पछाडि पारेर नयाँ-नयाँ कथाहरु सिर्जना गर्न थालेका छन् ।

अहिले मानौँ रानीपोखरी वर्तमानका मानवहरुले नयाँ नै बनाएका हुन् जस्तो तर्क राख्ने कोशिस गरिँदैछ । आफ्ना कल्पनाका तरंगमा तैरिने क्रममा तिनीहरुले मनोरम पोखरी र नयाँ बनाइएको आकर्षक शिखर शैलीको मन्दिर देखाउने गरिएको छ । समग्र रानीपोखरीसँग जोडिएका सांस्कृतिक परम्परा र भावनाको गहिरो पोखरी दबिएकै अवस्थामा छ । 

३ सय ५० वर्षअघि रानीपोखरीको प्रतिष्ठा नेपाल संवत् ७९० अर्थात् विक्रम संवत् १७२७ आश्विन मासे शुक्लपक्ष सोमबारका दिन हुँदा तत्कालिन राजा प्रताप मल्लले रानीपोखरीमा काठमाण्डौको मात्रै पानी हाल्न लगाएका थिएनन्, जहाँ अहिले मेलम्चीको पानी हालेर गौरवगान गाइँदैछ ।

नेपाल देश र यसको सीमाभन्दा बाहिरका पचासौं तीर्थस्थलहरुबाट पवित्र जल बोकाएर ल्याएर संकल्पसहित प्रताप मल्लले त्यहाँ भर्न लगाएका थिए । जसले गर्दा रानीपोखरीमा वर्तमान नेपालको धेरैजसो भू-भाग र छिमेकी देशको केही पवित्र तीर्थस्थलको समेत आस्थाका साथ पानीमार्फत् संस्कृति जोडिएको थियो ।

इतिहासकारहरुले साथै आफैँले पनि अत्यन्तै ‘प्रतापी’ भन्ने गरेका प्रताप मल्लले आफ्ना “महाराजाधिराज नेपालेश्वर राजराजेन्द्र श्रीश्री जयचक्रवर्तेन्द्र मल्ल देव” का सम्झनामा बनाउन लगाएको न्हूपुखू अर्थात् रानीपोखरीमा भारतीय भूमिमा रहेको वाराणसीमा रहेकाे गंगा नदीदेखि भक्तपुरको सिपाडोलकोसम्मको पानी ल्याएर भर्न लगाएका थिए । त्यसको प्रमाण रुपमा रहेको प्रताप मल्लको “तीर्थजात्रा” नामको ऐतिहासिक लिखत (थ्यासफू) अहिलेसम्म भक्तपुरको राष्ट्रिय कला संग्रहालयमा सुरक्षित नै छ । 

प्रताप मल्ल कति दूरदर्शी थिए भन्ने प्रश्नको जवाफ रानीपोखरी र त्यहाँ भरिएको पानीले दिन्थ्यो, जो अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण सम्पन्न गर्दा समाप्त पारिएको छ । पोखरी पुनर्निर्माण गर्नु र जसोतसो पानी भर्नु मात्रै सम्पदाको संरक्षण नभएर त्यस्ता सम्पदासँग साढे तीन सय वर्षदेखि जोडिएका संस्कृति र परम्पराको निरन्तरता नै वास्तविक अर्थमा पुनर्निर्माण हो भन्ने कुरा वर्तमान सरकार र त्यस मातहत बनाइएका अधिकारप्राप्त निकायहरुले बुझ्न नचाहेको देखिएको छ ।

प्रताप मल्लले रानीपोखरी बनाएर सञ्चालनमा ल्याउँदा त्यसको पवित्रता र महत्व बढाउन देश देशान्तर धाएर किन पानी ल्याउनु परेको थियो ? काठमाण्डौमा पानीको अभाव थियो र त्यतिबेला कि उनले बनारसदेखि पानी झिकाउनु परेको थियो ? यसको जवाफ स्वयम् प्रताप मल्लले लेखेको ऐतिहासिक दस्तावेज थ्यासफूले दिइरहेको छ । जसको अर्थ बुझ्ने चाहना सम्बन्धित सरोकारवालाहरुमा देखिएन ।

विश्वकै आश्चर्यजनक सम्पदामध्ये एक मानिने छिमेकी भारतको “ताजमहल” बनाउँदा तत्कालिन मुगल सम्राट शाहजहाँले भारतीय उपमहाद्वीपका विभिन्न स्थानबाट राम्रा र उत्कृष्ट वस्तु साथै इरानदेखिका कालीगढहरु ल्याएका थिए भनिन्छ ।

अद्भूत कालीगढीको नमुना बनेको “ताजमहल” को चर्चा सुनेपछि आफूले पनि अमर उत्कृष्ट कृति बनाउने उत्कण्ठ चाहनासहित भक्तपुरका तात्कालिन राजा भूपतिन्द्र मल्लले उत्कृष्ट न्यातपोल (पाँचतले) मन्दिर बनाउन सुरु गराएका थिए ।

त्यसक्रममा उनले पनि छरछिमेकबाट साथै भेटेसम्मका उत्कृष्ट कारीगर र वस्तुहरुको संग्रह गरेको “सिद्धाग्न कोट्याहुती” लिखतमा संग्रहित रहेको डा. जनकलाल वैद्यद्वारा प्रस्तुत अनुसन्धानात्मक कृतिमा विस्तृत विवरण प्रकाशित छ । त्यसैगरी रानीपोखरीमा विभिन्न तीर्थस्थलहरुलाईे पानीद्वारा जोडिने संस्कृतिको महत्वलाई प्रताप मल्लले मानक बनाएको मान्न सकिन्छ ।

रानीपोखरीले पानीमार्फत् देशदेशान्तर जोड्ने संस्कृति बनाएर काठमाण्डौको पोखरी सम्पदाकै महत्व बढाएको थियो । जसको निर्माणमा वाराणसीको गंगाजलदेखि श्रीवैद्यनाथको गंगाजलसम्म समाहित थियो । र, त्यसका निर्माताको आशय र चाहना पनि त्यही थियो भन्ने बुझ्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारीहरु साथै अन्य अभियन्ताहरुले थ्यासफू “तीर्थजात्रा” अध्ययन गरेकै हुनुपर्दथ्यो भन्ने अभियन्ताहरुको पनि जिकिर यसअघि गरिएको थियो । 

प्रताप मल्लको थ्यासफूमा १० हजार ६ सय ४१ कु अर्थात् ठूलो भाँडोमा बोकेर ल्याइएको भारी वाग्मतीको पानी रानीपोखरीमा हालिएको उल्लेख छ । यसैगरी शंखमूलको जल, श्रीपनतीर्थको संगमको जल, श्रीगण्डकीको जल, श्रीकौशिकीको जल, श्रीसुन्दरी नदीको जल पनि बहाएर हालिएको उल्लेख छ ।

यसैगरी श्रीनीलकण्ठको जल ६३ भाँडो, विष्णुमतीको जल, श्रीविश्वनाभनको जल, श्रीतेचायको जल,  श्रीबागेश्वरको जल, श्री मनमतीको जल, श्रीशंखदहको जल, श्रीकायलयको जल, श्रीबागमतीनाभको जल, श्रीसपनतीर्थ (टोखा) को जल, श्रीकोमतीको जल, श्रीङाम्हुतुको जल, श्रील्हुति (बालाजु) को जल, श्रीत्याङाको जल, श्रीमंशिरको जल, श्रीथयपिको जल, सप्तकौसिकिको जल, श्रीतवदहको जल, श्रीक्वदुवाल (कटुवाल दह) को जल, श्रीमातातीर्थको जल, श्रीइन्द्रदहको जल, श्रीगोकण्रणको जल, श्रीज्ञानवापिको जल उल्लेखित छन् । 

यस्तै​श्रीपशुकुण्डको जल, श्रीसिताकुण्डको जल, श्रीतेषुहोको जल, श्रीहनुमन्तघातको जल, श्रीगोलेहितिदहको जल, श्रीज्वालामुखीको जल, श्रीमुक्तिक्षेत्रको जल, श्रीकालीगण्डकीको जल, श्रीसरजुगङ्गाको जल, श्रीमालिकाको जल, श्रीपातालगङ्गाको जल, श्रीपिरग, गङ्गा, जमुना, सरस्वती त्रिवेनीको जल, श्रीकमरेश्वरीको जल, श्रीसप्तगण्डकीको जल, श्रीवराहक्षेत्रको जल, श्रीगङ्गासागरको जल, श्रीसमुद्रको जल, श्रीअनन्तलिङ्गको जल, श्रीशिपाडोलको जल आदि उल्लेखित छन् । 

राजधानी काठमाण्डौको केन्द्रमा रहेर पनि राष्ट्रकै गौरवपूर्ण पानी संस्कृतिको धरोहर हो, रानीपोखरी । जसको ऐतिहासिकता, सुन्दरता र आत्मीय सांस्कृतिक महत्ता जोकसैले जान्न बुझ्न सक्नेगरी प्रस्तुति वर्तमानमा हुनुपर्छ भन्नेमा कसैको दुईमत नहोला । त्यसको पूर्णताका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने देखिन्छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०७७

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

2 Comments

  • Narendra

    Sept. 25, 2020, 11:59 a.m.

    It is not a big deal. I am not against the cultural tradition but I am sure Pratap Malla brings all water in small quantity and just pour it in the big pond. We can do that again. It is nice that the writer mentioned all those places. Just need to bring water in the bottle and pour it in the Rani Pokhari. "Tantai khalas".

  •  0 Reply
  • ठुल्दाइ

    Sept. 24, 2020, 11:48 a.m.

    अत्यन्तै पूर्वाग्रही ढँगले लेखिएकाो लेख । सम्भव भएसम्म प्रताप मल्लले ल्याएकै ठाउँबाट पानी ल्याएर हाल्ने र उद्घाटनमा समेत धार्मिक तथा साँस्कृतिक महत्व झल्कने गरी बृहत् कार्यक्रम आयोजना गर्ने कुरा नागरिकसँगको अन्तरवार्तामा उल्लेख गरेका थिए । समाचार प्रभाव भनेर देखाउन सस्तो लोकप्रियताका लागि यस्तो समाचार बनाइनु ठीक भएन /

  •  0 Reply

तपाईको प्रतिक्रिया