९ महिनादेखि घर फर्कने बाटो कुर्दैछन् मलेसियामा नाम्गेल, भन्छन् : अब त ज्यान बाकसमै पो फर्कन्छ कि !

दुःखमा आफ्नै त पराइ भए, सरकारको आश के गर्नु ?

 असोज ८, २०७७ बिहिबार १४:५१:४६ | सन्जिता देवकोटा

काठमाण्डौ – समाजका कतिपयले भन्छन् – ‘केटा मान्छे रुन हुँदैन ।’ तर मलेसियाबाट घर फर्किने दिन कुरिरहेका सिन्धुपाल्चोकका नाम्गेल तामाङसँग कुरा गर्दा लाग्यो जब मानिससँग आँसुलाई रोक्ने र मनलाई थाम्ने कुनै आश नै रहँदैन, तब रुनुबाहेक अर्को विकल्प नै नहुँदो रहेछ । 

समयमै घर फर्कन पाएको भए या अब त घर फर्कन पाउँछु भन्ने आश बाँकी रहेको भए, पाखुरा बजार्न पराई भूमिमा पुगेका नाम्गेल घर फर्कन पाउँ भन्दै रुन पर्दैन थियो होला । 

न घर फर्कने बाटो छ, न त मलेसियामा बसेर काम गर्न सद्दे ज्यान नै । अनि नरोएर के गर्नु ? 

नाम्गेल भन्नुहुन्छ, ‘यो उमेरमा अर्काको देशमा रुँदै बस्नु पर्‍यो, न मर्न सकियो न त घर फर्कन, अब त बेलाबेलामा लाग्छ ज्यान बाकसमै पो फर्कन्छ कि ।’

पोहोर सालको जेठमा मलेसिया जानुभएका नाम्गेलको काम र कमाइ ठिकठिकै थियो । फर्निचर कम्पनीमा काम । बेलाबेला काठहरु उचाल्न पथ्र्यो । सिन्धुपाल्चोकका उकाली ओरालीमा भारी बोकेको ज्यान । नाम्गेल वास्तै नगरी काठका ठूल्ठूला मुडा उचाल्नुहुन्थ्यो । 

न घर फर्कने बाटो छ, न त मलेसियामा बसेर काम गर्न सद्दे ज्यान नै । अनि नरोएर के गर्नु ? 

काम गर्न गएको मान्छे, किन काम ठग्नु ? नाम्गेललाई लाग्थ्यो, ज्यानले सकेजति काम गरौं, जति हुन्छ पैसा कमाउँ । दुई पटक घरमा पैसा पनि पठाउनुभयो । 

मलेसिया पुगेको  ८ महिना लाग्दै थियो । चार महिना काम गरेको तलब एकैपटक घरमा पठाउने उहाँको योजना थियो । त्यहीबेला नाम्गेलको जीवनमा कालो बादल लाग्यो । सधैंझैं नाम्गेलले काठ उठाउनुभयो । पछाडि ढाडमा कमिलोले टोकेझैं चसक्क भयो । 

नाम्गेललाई लाग्यो, ‘केहीले टोक्यो कि चस्का पस्यो ।’

त्यसदिन दिनभरी काम गर्नुभयो । काम गर्दा थप दुखेन पनि । साँझ कोठामा खाना बनाउनुभयो । खाएर सुत्नुभयो । भोलिपल्ट बिहान आँखा त खुल्यो, तर ज्यान उठ्न सकेन । खाटमा उत्तानो सुत्नुभएका नाम्गेलको कम्मर नै चलेन । 

‘एकछिन त सपना नै हो कि जस्तो लाग्यो, फेरि सम्झिएँ हिजो काठ उचाल्दा दुखेको थियो, खुस्किए छ कि जस्तो लाग्यो,’ नाम्गेल त्यो कालो दिन सम्झँदै भन्नुहुन्छ, ‘साथीहरुको सहयोगमा उठेर अस्पताल गएँ, तर म एक हिसाबले अपाङ्ग जस्तै पो भएँ ।’

उठेपछि हिँड्न समस्या भएन । तर बस्न भएन । बसेपछि फेरि उठ्न मिलेन । अब पो पर्‍यो फसाद । त्यही घर पठाउन ठिक्क पारेको पैसाले मलेसियाको निजी अस्पतालमा उपचार गराउनुभयो । गोजी रित्तियो, तर व्यथा कम भएन। 
काममा जान पनि सक्नुभएन । खल्तीमा भएको रकम पनि सकियो । अब परदेशमा कसरी बस्नु ? उहाँले घर फर्कने पहल गरिदिन कम्पनीलाई आग्रह गर्नुभयो । तर त्यही बेला कोरोना महामारी आयो । मलेसियाले उडानहरु बन्द गर्‍यो । मलेसियामा मात्र होइन नेपालबाट पनि जहाजहरु जान छाडे । नाम्गेललाई समस्यामाथि अर्को समस्या थपियो । 

तीन महिनासम्म त जहाजहरु उडेनन् । मलेसियामा पनि कम्पनीहरु बन्द भयो । बिरामी ज्यान । आफ्नै खर्चमा खानुपर्ने बाध्यता । नाम्गेल दुई छाक खानकै लागि दिन बिराएर जस्तो काम गर्न जान थाल्नुभयो । 

‘ज्यान सिधाको सिधै हुन्थ्यो, तर पनि भोकै बस्न नसकिने रहेछ, जसोतसो काम गर्‍यो, कम्पनीले अलिअलि पैसा दिन्थ्यो, त्यही पैसाले खाएर बसें’ नाम्गेल भन्नुहुन्छ ।

मलाई साह्रै पीडा भएको छ, खुस्किएको ढाड लिएर कहिलेसम्म बस्नु, म नेपाल आउँछु भनेको तर उसले मलाई त मैले तपाईँको ढाड खुस्काएको हो र भन्छन्,’ नाम्गेल गुनासो गर्दै भन्नुहुन्छ

काम गर्दा ढाडको पीडा कसरी सहन सकियो भन्ने उहाँ आफैंलाई थाहा छैन । दुःख र पीडामा पनि त्योबेला उहाँसँग आश थियो । जहाज मलेसिया आउनासाथ पहिलो उडानमार्फत नै घर जाने योजना मनमनै बुन्नुभएको थियो । 
जहाज त मलेसिया कति गए । अहिले त नियमित उडान खुलेको पनि तीन हप्ताभन्दा धेरै भइसक्यो । तर नाम्गेल अझै घर फर्कन पाउनुभएको छैन । 

उहाँलाई थाहा छैन, दूतावास कहाँ छ । तर पनि दूतावासमार्फत घर फर्कन प्रक्रियाका लागि फारम भर्नुभयो । दूतावासमा फोन गर्नुभयो । आफ्नो समस्या पनि राख्नुभयो । दूतावासमा मात्र होइन, नेपालमा उहाँलाई पठाउने एजेण्टदेखि म्यानपावर कम्पनीलाई पनि घर फर्कने प्रक्रिया मिलाइदिन आग्रह गर्नुभयो । तर उहाँलाई मलेसिया पठाउने चिनेजानेकै एजेण्ट अर्थात गाउँका नेताले उहाँलाई नमिठो जवाफ लगाए । 

‘मलाई साह्रै पीडा भएको छ, खुस्किएको ढाड लिएर कहिलेसम्म बस्नु, म नेपाल आउँछु भनेको तर उसले मलाई त मैले तपाईँको ढाड खुस्काएको हो र भन्छन्,’ नाम्गेल गुनासो गर्दै भन्नुहुन्छ, ‘खुस्काएको त मैले पनि होइन नि, भाग्यले ठगेको मलाई आफ्नैले बेवास्ता गरे ।’

नाम्गेलले घर फर्कन खोजेको ठ्याक्कै ९ महिना भयो । सुरुमा कम्पनीले पठाउन खोज्दा कोरोनाले रोक्यो । त्यसपछि जहाज चलेनन् । अब त उहाँलाई पठाउन कम्पनी पनि इच्छुक छैन । आफैं टिकट काटेर जा भनेको छ कम्पनीले । तर ९ महिनादेखि बिरामी भएर थलिनुभएका नाम्गेलले टिकट काट्ने पैसा जुटाउन सक्नुभएको छैन । 

यो बीचमा पनि पेट पाल्नकै लागि के मात्र गर्नु परेन । उपचार त कसरी गर्नु ? कम्पनीले पनि उपचारमा एक रिंगिट पनि खर्च गरेन । कहिले काम गर्नुभयो त कहिले कोसँग ऋण मागेर प्राण धान्नुभयो । तर कहिलेसम्म ?
घर फर्कन पाए नेपालमा आफ्नो उपचार हुन्थ्यो जस्तो लाग्छ उहाँलाई । 

‘यहाँ त भाषा पनि बुझिन्न के भन्छन् भन्छन्, त्यहाँ आउन पाएँ निको हुने थिएँ होला, उपचार जसरी पनि गर्थें, तर खै न कम्पनीले पठाउँछ न कसैले पहल गरिदिन्छन्’ नाम्गेल भक्कानिंदै भन्नुहुन्छ, ‘पैसा कमाउन छाडेपछि त आफ्नैले हेप्दा रहेछन् ।’

बिरामी भएपछि उहाँलाई पहिलो आश त्यही सँगै काम गर्ने नेपाली साथीभाइबाट थियो । तर ओछ्यानमा लडिरहने नाम्गेललाई कमाएर आउने साथीले कस्तो छ भनेर पनि सोधेनन् ।

 नाम्गेल भन्नुहुन्छ, ‘म खाटमा लडिरहें, अरु साथीभाइ कमाएर आए, मलाई देखाइदेखाइ खाए, म भने मन दुखेर रोइरहेँ ।’

अघिपछि के छ कसो छ भनेर फोन गरिरहने परिवारका सदस्य पनि टाढा भएजस्तो लाग्छ उहाँलाई अचेल । 

‘आमा, दाजुभाइ सबैजना मसँग बोल्न छाडे, मैले कमाएर पठाउन सकिनँ, दुई छोराले भने कहिले आउने बुवा भन्छन्, म कहिले आउने भनौं उनीहरुलाई’ यति भन्दै नाम्गेल धुरुधुरु रुनुभयो । 

परदेशको ठाउँमा यसै बस्दा नकारात्मक सोचहरु आउँछन् उहाँको दिमागमा । कहिले  त उहाँलाई लाग्छ, ‘यो दुःख सहनुभन्दा मर्नु बेश ।’

नाम्गेलसँग एउटा मोबाइल छ । टिकट किन्न पुग्ने भए त्यही मोबाइल बेचेर भए पनि घर फर्कन्थें जस्तो लाग्छ उहाँलाई । तर पुरानो मोबाइल कसले किन्ने ? किने पनि टिकट किन्न नपुग्ने बाँकी पैसा कहाँबाट थप्ने ?

दुई छोरालाई पढाउने आशमा नै ४५ वर्षको उमेरमा परदेशिनु भएको थियो नाम्गेल । तर न साँचेका सपना पूरा भए, न त ज्यान नै सद्दे रह्यो । 

घरबाट बेलाबेलामा छोराहरुले अनलाइनमा फोन गर्छन् । बुवा कहिले आउने भनेर सोध्छन् । तर कहिले फर्कन पाइएला नाम्गेललाई थाहा छैन । 

छोराहरुको आवाज सुन्दा नाम्गेललाई असाध्यै नराम्रो लाग्छ । आफू गरिब भएकोमा पछुतो लाग्छ ।

‘गरिबलाई त जता गए पनि उस्तै हुँदो रहेछ, सोझो भएर हो कि खै, मानिसलाई चोरेर खाँदा पनि भएकै छ,’ नाम्गेल गुनासो गर्नुहुन्छ । 

परदेशको ठाउँमा यसै बस्दा नकारात्मक सोचहरु आउँछन् उहाँको दिमागमा । कहिले  त उहाँलाई लाग्छ, ‘यो दुःख सहनुभन्दा मर्नु बेश ।’

तर फेरि सोच्नुहुन्छ, ‘म नभए दुई छोराको के होला, बाकसमा आफू पुग्दा छोराको हाल के होला ?’ दुई छोराको भविष्य सम्झेर नै आफूलाई सम्हाल्नुहुन्छ, उहाँ । 

दुःखको बेलामा अरुको नभए पनि परिवारको साथ भए परदेशमा बस्न आँट पलाउँथ्यो कि झैं लाग्छ उहाँलाई । तर परिवार, कम्पनी, दूतावास र म्यानपावर कतैबाट पनि साथ र सहयोग नमिल्दा घर फर्कने आश पनि मार्न थाल्नुभएको छ नाम्गेलले ।

‘जुनसुकै सरकार आए पनि गरिबलाई केही नहुँदो रहेछ, पहिले भोट माग्न आउँदा भन्थे म यसो गर्छु उसो गर्छु, तर खै त म जस्तो गरिबलाई आफ्नो देशमा लान पनि सकेनन्,’ नाम्गेल निराश हुँदै भन्नुहुन्छ । 

घरीघरी त नाम्गेलका आँसु रोकिंदैनन् । कसैले सुनाउँछन् – कम्मरको व्यथा त निको हुँदैन, नेपाल नै गए पनि तिमी कूँजो हुन्छौ ।’

कसैले भन्छन्– ‘पैसा निकै लाग्छ कसरी उपचार गछौं ?’

पहिलेजस्तै ठमठम हिँड्ने सपना बोकेर परदेशमा हजार दुःख सहेर घर फर्कने दिन पर्खिरहनुभएको छ ।

मलेसियामा पेट भर्नु कि, नेपाल फर्कने टिकटको जोहो गर्नु कि, नेपाल आएपछि उपचार गर्ने पैसा जुटाउनु ? नाम्गेल यी सबै कुरा सोच्न पनि सक्नु हुन्न । 

‘दिमागमा अनेक कुरा खेल्छन्, म सहनै सक्दिनँ, रुँदै बस्दै गर्छु, काम गरौं भने पनि सक्दिनँ, धुरुधुरु रुन पर्छ’ नाम्गेल आफ्नै भाग्यलाई धिकार्नुहुन्छ ।

परदेशी भूमिका आफ्नो कोही छैनन् । भएका नेपाली पनि आफ्नो भइदिएनन् । परिवारले उहाँको स्वदेश फिर्तीका लागि टिकट पठाउनेवाला छैनन् । तर पनि नाम्गेल घर आउने, उपचार गर्ने र पहिलेजस्तै ठमठम हिँड्ने सपना बोकेर परदेशमा हजार दुःख सहेर घर फर्कने दिन पर्खिरहनुभएको छ ।

अन्तिम अपडेट: असोज १३, २०७७

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया