त्यो धरहरा, यो टावर

 असोज १०, २०७७ शनिबार ९:३०:४१ | कुमार रञ्जित
unn.prixa.net

हाम्रो भीमसेनस्तम्भ (धरहरा) अग्लो थियो कि भारतको कुतुब मिनार ? यस्तो तुलना विगतमा कसैले गरेको थिएन । किनभने धरहरा र कुतुब फरक–फरक भूमिमा फरक–फरक इतिहासको फरक–फरक कालखण्डमा बनेर गौरव बनेका सम्पदा थिए । तर ऐतिहासिकतामा हाम्रो धरहराभन्दा भारतीय कुतुब मिनारले धेरै नै युगहरुको घाम–पानी–हावा खाँदै इतिहासको साक्षी बसेको पढ्न पाइन्छ । कुतुब तेह्राैँ शताब्दीको पूर्वार्धमा निर्माण गरिएको थियो भने धरहरा अठारौं शताब्दीको उत्तरार्धमा भीमसेन थापाको प्रधानमन्त्रीत्व कालमा बनाइएको थियो ।

भारतीय पूर्वराष्ट्रपति ज्ञानी जैल सिंहले आफ्नो आत्मवृत्तान्तमा हाम्रो धरहरालाई “थापाका मिनार” लेख्नुभएको छ । त्यसरी लेख्दै गर्दा उहाँले पनि शायद कुतुब मिनार नै सम्झिनुभएको हुन सक्दछ । तात्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा बनाइएको भनेर पथप्रदर्शकले सुनाएकाले सजिलै ‘थापाका मिनार’ भनेर लेख्नुभयो होला उहाँले ।

जे होस्, हाम्रो धरहरा पनि छिमेकी मित्रराष्ट्र भारतीय राजधानी नयाँदिल्लीका लागि कुतुब मिनार जस्तै काठमाण्डौको शान भएर अग्लिएर ठडिएको थियो र सबैभन्दा महत्वपूर्ण कुरा त २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प आएको क्षणसम्म पनि कुतुब जस्तै पर्यटकीय आम्दानीको राम्रो स्रोत बनिरहेको थियो ।

नयाँदिल्लीको दक्षिणी भागमा अवस्थित रातो चुन ढुङ्गाबाट निर्मित विभिन्न कलाकृतिले भरिपूर्ण कुतुब मिनार र त्यसको परिसर भारतीय हिन्दू तथा मुस्लिम कलाका बेजोड नमूनाका रुपमा रहेको मानिएको छ । त्यसको परिसरमा उभिन पुग्दा हामी नेपालीले धरहरा त सम्झिन्छौं नै, तर त्यहाँको कलाकृति देखेपछि मन्त्रमुग्ध भई टोलाएर गम्छौंँ पनि ।

भूकम्पपछि पुनर्निर्माण हुँदै धरहरा

यता काठमाण्डौको करीब दक्षिणी दिशामै रहेको धरहरा पनि हिन्दू–मुस्लिमकला शैलीमै बनाइएको थियो । शिवजीको मूर्तिलाई शिरानमा राखिएको धरहराको परिसर घेरिएको पर्खाल निर्माणमा क्रिश्चियन कला शैलीको समेत प्रभाव परेको भनिएको छ । यहीँबाट नै भीमसेन थापाले पश्चिमी वास्तु शैली नेपाल भित्र्याएको इतिहासकारहरुको ठम्याई छ ।

आजभन्दा तेइस वर्षअघि अर्थात् इश्वी सम्बत् १९९३ मा जतिबेला दिल्लीको कुतुब मिनारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको थियो, ठीक त्यही साल काठमाण्डौका केही पत्र–पत्रिकाले विश्वसनीय प्रतिवेदन र स्रोतको हवाला दिँदै लेखेको थियो– “धरहरा दिन प्रतिदिन पश्चिमतर्फ ढल्किँदैछ” । अत्यन्तै सनसनीपूर्ण बनेको थियो त्यतिबेला त्यो समाचार । त्यसपछिका दिनमा कुतुबले विश्व सम्पदाका रुपमा नयाँ जीवन पाए जस्तै धरहराले पनि केही वर्षपछि संरक्षण सहित नयाँ व्यापारिक जीवन पाएको सबैले देख्न पाएकै हो । 

समानता त यी दुबैमा टिकट काटेर प्रवेश गर्नुपर्ने व्यवस्था थियो । तर कुतुबमा भारतीय सरकारी पुरातत्व विभागले टिकट काट्दथ्यो भने धरहरामा निजी व्यापारिक समूह साइड वाकर्स प्रा. लि. काट्ने गरेको थियो । कुतुबमा पहिले माथि पनि चढ्न मिल्दथ्यो र संरक्षणका लागि त्यसमा चढ्न बन्द गरियो भनिन्छ । अहिले त्यस परिसरभित्र घुमेर दृश्यावलोकन मात्रै गर्न पाइन्छ । यता धरहरामा प्रवेश चढ्नकै लागि गरिएको थियो र परिसरमा मःम खाने पसल चलाइएको थियो । त्यहाँ कुनै सरकारी निकायको अस्तित्व थिएन ।

कुतुब मिनार

धरहरालाई निजी क्षेत्रबाट सञ्चालन गर्न दिएदेखि नै जनमानस र संरक्षणकर्ताहरु बीचबाट असन्तुष्टीका आवाज उठिरहेको थियो । भूकम्प आउनुभन्दा अघिल्लो वर्ष मात्रै विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्र आउने पर्यटकहरुलाई धरहरा निरीक्षणको पनि टिकट अनिवार्य रुपमा काट्ने गरी काठमाण्डौ महानगरपालिकाले साइड वाकर्स प्रा. लि. सित सम्झौता गरेपछि त्यसका पक्षधर र विपक्षीबीच ठूलो रडाको मच्चिएको थियो ।

लिच्छविकालदेखि नै प्रसिद्ध स्थान हुँदैे प्रामाणिक रुपमै मल्लकालदेखि राजप्रसाद रहँदै आएको हनुमानढोका दरबार स्मारक क्षेत्र विक्रम सम्बत् २०३६ (सन् १९७९) मै विश्व सम्पदा क्षेत्रमा सूचीकृत भएको थियो । त्यसमा ऐतिहासिक महत्वको हुँदाहुँदै पनि एउटा निजी क्षेत्रद्वारा सञ्चालित रहँदै आएको धरहरा क्षेत्रलाई समेत संलग्न गराउने प्रयासबाट काठमाण्डौको सम्पदा तथा पर्यटकीय वातावरणमा नयाँ तरङ्घ ल्याएको थियो ।

प्रश्न धरहरालाई विश्व सम्पदा सूचीभित्रको हनुमानढोका अन्तर्गत पारेर पर्यटकलाई दृश्यावलोकन गराउनु हुने वा नहुने भन्ने थिएन, धरहरा परिसरलाई नै संरक्षित सम्पदा क्षेत्र अनुकूल बनाउने माग गरिँदै थियो । धरहरा निर्माणको समयकाल, त्यसले ब्यहोरिसकेका दुईवटा ठूल्ठूला भूकम्प, विनाश अनि पुनर्निर्माण साथै त्यसको गौरवगाथाले धरहरालाई पनि नमूना सम्पदाका रुपमा अङ्कित गर्दै संरक्षण गर्नुपर्ने कुरामा दुईमत थिएन । तर व्यापारिक मानसिकताका जनप्रतिनिधिहरुले त्यस परिसरमा गराएका निजी क्षेत्रको नाफामुखी गतिविधिले धरहराको भविष्यप्रति चिन्ता जगाइरहेको थियो । 

२०७२ सालकाे भूकम्पले भत्काउनुभन्दा पहिलेकाे धरहरा

त्यसका साथै धरहरा छेऊमै रहेको सुन्धाराको दूर्दशा देख्दा त्यहाँ पुग्ने जोकसैले असन्तुलित र अन्यायपूर्ण कार्य ठहर गर्ने गरेका थिए । धरहरालाई शोषण गरेर सुन्घारालाई बेवास्ता गरिएको अवस्थामा कसैले कुनै संरक्षण गर्ने योजना ल्याएका थिएनन् । इतिहासमा अन्यायमा परेर सेरिएर आत्महत्या गर्न बाध्य भएका भीमसेन थापाका कृतिहरुमाथि पनि घोर अन्याय भैरहेको थियो । सम्पदाहरुको संरक्षण नभई शोषण मात्रै हुने गरेको थियो । धरहरा र कुतुबको तुलना गर्दा यस्तै भिन्नता प्रष्ट रुपमै देखिन्थ्यो ।

यस्तैमा दूर्भाग्यपूर्ण रुपमा भूकम्पले धरहरालाई ढालिदियो । त्यसपछि पुनर्निर्माणको लहरमा सरकारले ढलेको ठूटो धरहरालाई यथास्थितिमै छोपेर व्यापारिक कम्प्लेक्स सहितको नयाँ कङ्क्रिट टावर बनाउने योजनालाई तीब्र गतिमा अगाडि बढाइयो र त्यसैलाई “धरहरा पुनर्निर्माण” भन्ने गरियो ।

यहीँनेर धरहराको इतिहासप्रति ठूलो अन्याय हुन पुग्यो । निर्माणाधीन २१ तले धरहरा तीब्र गतिमा बनाउँदै गर्दा यसलाई भविष्यमा “धरहरा” नै भनिने हो भने भत्किएको ऐतिहासिक धरहराको अवशेषलाई के भन्ने ? यस प्रश्नको उत्तर दिन सरकार सदा जवाफदेही रहनु पर्नेछ । र, सधैँ सम्झिने साथै पढिने भीमसेनस्तम्भ धरहराको इतिहासलाई नयाँ टावरले ओझेलमा पार्न खोजेर पनि त्यसो गर्न सकिने छैन । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया