गएको वर्ष संसारभर ९ दिन भूकम्प आउनुका कारण ग्रीनल्यान्डकाे हिम...
असोज ४, २०८१ शुक्रबार
काठमाण्डाै - “चिरिबाबुलाई त ज्वरो नै आएको रहेछ...” बिहान झिसमिसेमै मर्निङवाक गर्दै गरेका ललितपुर कांग्रेसका अध्यक्ष मदनबहादुर अमात्य आफ्ना साथमा रहेका मित्रगणलाई हिँड्दाहिँड्दै भन्दै हुनुहुन्थ्यो ।
नगरप्रमुख चिरिबाबु महर्जनलाई कोरोना भनिने काेराेना भाइरसको
सङ्क्रमण पुष्टि भएको समाचार आएदेखि ललितपुर महानगरपालिकाका घर-घरमा यही चर्चा र चासो छ । स्वस्थ रहनका लागि पाको उमेर पुगेकालाई बिहानी हिँडाइ अत्यन्तै उपयोगी भएकाले काठमाण्डौ उपत्यकाका सबैजसो स्थानमा बिहान झिसमिसेमै हिँड्नेहरुको ठूलो जमात् क्रियाशील छ ।शहरी शिक्षित तथा उच्च र मध्यम वर्गका साथै विशेष जिम्मेवारीका साथ समाजका विभिन्न ओहोदामा आसीनहरुको ठूलो जमातका लागि बिहानी हिँडाइ विश्वसनीय सूचना आदान-प्रदानको अत्यन्तै भरपर्दो र आत्मीय माध्यम रहँदै आएको छ ।
बिहानी हिँडाइमा जानेहरु बडो फूर्तिला हुने गर्दछन् । उनीहरु मास्क पनि लगाउँदैनन् । राजधानी खाल्डो भित्रका महानगर तथा नगरवासीहरुमा एउटा बहसको विषय यो पनि छ कि मास्क लगाएपछि श्वासप्रश्वासमा समस्या आउँदछ, त्यसैले बिहान स्वच्छ वातावरणमा हिँड्दा मास्क आवश्यक छैन । यस सन्दर्भमा कुरामा सत्य तथ्य के होला, सुझावसहित विशेषज्ञबाट स्पष्ट कुराको जानकारी आएमा त्यस्ता बिहानी हिँडाइमा जानेहरुलाई उपयोगी हुने देखिन्छ ।
बिहानी हिँडाइमा जानेहरु पहिले जस्तै ठाउँ-ठाउँका मन्दिर-मन्दिर गएर देवी-देवताका दर्शन गर्ने काममा कमी आएको छ । धेरैजसो मन्दिरहरु बन्द नै छन् भने केही खुलेकामा पनि देवी-देवताहरुलाई सामाजिक दूरी कायम गर्दै छुन र ढोग्न नहुने गरी बार लगाइएका छन् । त्यसले गर्दा भेटी आम्दानीमा कमी आएको भन्दै पुजारीहरुको गुनासो सुनिन थालिएका छन् । अहिले पीडितका पङ्क्तिमा तिनीहरु पनि अग्रपङ्क्तिमा देखिन्छन् ।
यतिबेला काठमाण्डौ उपत्यकाभरिकै मेयर, उपमेयर र वडाध्यक्षहरु क-कसलाई कोरोनाको सङ्क्रमण भयो र उहाँहरुको अवस्था कस्तो छ, उहाँहरु कहाँ-कहाँको आइसोलेशनमा बस्नुभएको छ, के कस्ता सुविधा पाउनुभएको छ भन्ने कुराको चासो आमनागरिकमा व्यापक मात्रामा बढेको पाइन्छ । उहाँहरुलाई आएको ज्वरोको डिग्री हिजो बेलुकी कति थियो भन्ने पनि बिहानी हिँडाइमा चर्चा हुने गर्दछ ।
कोरोनाकै आतंकबीच काठमाण्डौको लगनचोकमा फूटपाथ पसल हटाइएपछि स्थानीयलाई बिहान तरकारी किन्न अलिक असुविधा भएको गुनासो सुनिन थालेको छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यका टोलबासी लकडाउनदेखि यता तरकारी साथै अत्यावश्यक सामाग्री खरीद गर्न अलि परका पसलहरुमा पुग्नु पर्ने अवस्था छ ।
कोरोना कहरलाई कारण देखाउँदै काठमाण्डौका फुटपाथमा पसल राख्न नदिने लहर चल्न थालेपछि प्रत्येक टोलहरुमा तरकारी पसलहरु खोज्दै साना गल्लीतिर हिँड्नुपर्ने अवस्था छ ।
आफ्नै टोलबासी मेयर भएकाले हरेक कोणबाट ढुक्क रहेका लगन टोलबासीबीच बिहानी हिँडाइ र सूचना आदान-प्रदान हिजोआज विकेन्द्रीकृत भएका छन् । कोही अलि पर रहेको खाद्य सामाग्रीका होलसेलतिर, कोही ज्याबहालतिर र कोही ब्रह्मटोलतिर भेटिन्छन् ।
त्यस्तो भेटमा “तारेमाम्” को सम्बोधनपछि सबैभन्दा पहिलो प्रश्न नै “विद्याको स्वास्थ्य” बारेमा हुने गर्दछ । गएका हप्ताहरुमा मेयर शाक्य संक्रमित भएर होटल सोल्टीको आइसोलेसनमा बस्नुभएको चर्चा लगन टोलमा जत्तिकै सुरुचिपूर्वक शायदै अन्त कतै सुन्न पाइन्थ्यो ।
कति-कति लाख अझ करोडसम्म खर्च गरेको चर्चा भएको लगन टोलबासीका लागि भने पीसीआर परीक्षण केही दिनअघि मात्रै आइपुगेको छ । पीसीआर परीक्षणका लागि व्यक्ति छनोट गर्दा पनि मेयर शाक्यको टोलमा आइसोलेशनमा बस्नेहरुका क्षमताबारे चर्चा व्यापक थियो ।
कोरोनामुक्त भएर घरमै फर्किएको समाचारपछि मेयर शाक्यको सु-स्वास्थ्यको कामना गर्ने ठूलो जमात अहिले काठमाण्डौको चोक-चोक र गल्ली-गल्लीमा स्यानिटाइज गर्ने कार्य नगरिएकोमा गुनासो गर्दैछन् । कोरोना सङ्क्रमणको हल्लासँगै गएको चैत महिनामै बरु गल्लीगल्लीमा स्यानिटाइज गदै महानगरपालिकाका ट्याङ्करहरु कुदाइएका थिए । अहिले त्यस्तो काममा पनि सुस्तता देखिँदैछ ।
ललितपुर जिल्लामा रहेका तीनवटा नगरकै मेयरहरु यतिबेला कोरोना सङ्क्रमित भएका समाचार आइरहेका छन् । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ नगरभित्रकै आइसोलेशनमा बसेर आफ्नो स्वास्थ्यबारे दिनहुँजसो सामाजिक सञ्जालमार्फत् आफैँ अपडेट गराउँदै अन्य नगरबासीलाई पनि हौसला दिँदै हुनुहुन्छ ।
गोदावरी नगरका मेयर गजेन्द्र महर्जन पनि सङ्क्रमित भएपछि ललितपुरका तीनवटै नगर प्रमुखहरुलाई कोरोनाले लखेटेकोमा चिन्ता व्याप्त छ । उपत्यका मेयर फोरमले नै यो अवस्थालाई ठूलो चुनौतीका रुपमा लिएको विज्ञप्ति प्रकाशित गरेको छ । यसकारण अहिले जनमानसमा कोराना सङ्क्रमणको चर्चा मेयरस्तरमा व्यापकता पाइरहेको छ ।
सङ्क्रमित नागरिकलाई दिइने सेवा सुविधाबारे टोखा नगरपालिका अन्तर्गत वडा नम्बर २ को नयाँ बनेको आइसोलेशन सामुदायिक अस्पताल चर्चा पनि हुने गरेको छ । सङ्क्रमितलाई राम्रो बस्ने र खाने व्यवस्थासहित नगद प्रोत्साहनले मेयर प्रकाश अधिकारी, उप-मेयर ज्ञानमाया डङ्गोल र वडाध्यक्ष दीपकराज जोशीहरुको चर्चा हुने गरेको छ ।
उपत्यकाका अन्य नगरपालिकाका केही उपमेयरहरु पनि कोरोना संक्रमित भएको खबर आएका छन् । वडाध्यक्षहरु त कतिकति, धेरैजसोले त आफू सङ्क्रमित भएको कुरा गोप्य नै राखेर “क्वरेण्टीनमा छु” भनिरहेका छन् ।
मध्यपुर थिमिका एकजना वडाध्यक्ष सङ्क्रमित भएको सूचना अर्कै वडाध्यक्षले विज्ञप्ति प्रकाशित गरेर सार्वजनिक जानकारी गराएको नयाँ प्रयोग थियो । यसरी समाजमा को सङ्क्रमित भनेर थाहा पाउने माध्यम पनि अनौठो तरिकाले परिवर्तन भैरहेका छन् । कतै पार्टीबाटै विज्ञप्ति प्रकाशित गरिरहेका छन् भने कहीँ वडा कार्यालय, सामाजिक संघ-संस्थाहरुले पनि सार्वजनिक जानकारी गराइरहेका छन् ।
यसो हुनुमा सङ्क्रमितहरुका नाम सकभर गोप्य राख्ने प्रवृत्ति नै प्रमुख कारण देखिन्छ । सङ्क्रमण पुष्टि भएकाले पनि आफू सङ्क्रमित भएको भनेर सकेसम्म अरुलाई थाहा नहोस् भन्ने चाहना राखेर गोप्य राख्ने गरेका प्रष्ट छ ।
त्यसले गर्दा एकले अर्कोमा सङ्क्रमणको अवस्था नजानिँदो तरिकाबाट बढिरहेको हुन सक्ने अनुमान सहजै गर्न सकिन्छ । गएकाे महिना कोरोना सङ्क्रमणमा पर्नुभएकी वाग्मती प्रदेशकी उप-सभामुख राधिका तामाङको घर क्षेत्र रहेको काठमाण्डौ उपत्यका जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिकाको प्रमुख बजार मानिने थानाभञ्ज्याङ्ग पुग्दा त्यहाँ मास्क लगाएका मानिस नगण्य थिए ।
“कोरोनाको डर छैन यहाँ?” भनेर सोध्दा स्थानीयवासीको जवाफ थियो, “यहाँ कोरानाबाट सङ्क्रमित अहिलेसम्म भेटिएको छैन ।” स्वच्छ वातावरण भएका पहाडी क्षेत्रका बासिन्दामा अझै कोरोना सङ्क्रमणको डर नपुगेको देख्दा शहरमा कोरोनाको आतंकबाट पीडितहरुलाई आश्चर्य लाग्नु स्वाभाविकै थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।