चपेटामा पर्वतीय पर्यटन : दक्ष जनशक्ति जोगाउने चिन्ता

 असोज १४, २०७७ बुधबार ९:४२:४५ | आङछिरिङ शेर्पा
unn.prixa.net

सरकारले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउँदा पालना गर्नुपर्ने शर्त सम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ । यसबाट अब नेपालको पर्यटन व्यवसायले गति लिन्छ भन्ने आशा गर्न सकिन्छ ।

नेपालमा विदेशी पर्यटकको ठूलो हिस्सा यही क्षेत्रमा हुन्छ । हाम्रा हिमाल तथा हिमाली वातावरण अथवा भनौं प्रकृतिसँग रमाउनका लागि धेरै पर्यटक आउने गरेका छन् । ती पर्यटकका लागि अन अराइभल भिसा समेत दिन सक्ने व्यवस्था सहित मापदण्ड स्वीकृत हुनु नेपालको पर्यटन क्षेत्रको लागि आशाको किरण हो । 

तर मापदण्ड हुबहु पालना गरेर नेपालमा पर्यटक ल्याउन भने चुनौती छ । पर्वतारोहणका लागि यस किसिमको मापदण्ड पूरा गरेर पनि पर्यटकहरु आउन सक्छन्, तर पदयात्राका लागि विदेशी पर्यटक आउँदैनन् । नेपालमा दृश्यावलोकन तथा पदयात्राका लागि आउने पर्यटक साधारणतया दुई हप्ताको बिदामा आउँछन् । तर सरकारले अहिले नेपाल आउने पर्यटकले सात दिन क्वरेण्टीन बस्नैपर्ने नियम बनाएको छ । दुइ हप्ताको लागि नेपाल आउने पर्यटकको सामान्यतया चार दिन नेपाल आउन तथा आफ्नो देश फर्कंदा बित्छ ।

अब सात दिन क्वरेण्टीनमा बसेपछि बाँकी रहेको तीन/चार दिनमा कहाँ घुम्ने ? यसैले सात दिन क्वरेण्टीन बस्ने शर्तमा पदयात्राका लागि पर्यटक आउने संभावना ज्यादै कम रहन्छ । पर्वतारोहणका लागि आउने पर्यटकहरु भने महिनासम्मको बिदा लिएर आएका हुन्छन् । 

यही शरद ऋतुमा पनि आरोही बढ्न सक्थे

यदि सरकारले समयमै पर्वतारोहण खुल्ला गरेको भए अहिलेको सिजनमा पनि हिमाल आरोहणका लागि आउने पर्यटक बढ्न सक्थे । अहिले पर्वतारोहणका लागि दुई वटा समूह हिमालतर्फ गइरहेको छ । यो सिजनको हिमाल आरोहण गर्ने मुख्य समय हिजोआज नै हो । अबको केही दिनपछि हिमालको वातावारण आरोहणका लागि प्रतिकूल हुन्छ । चिसो बढ्ने र जोडले हावा चल्ने भएकोले आरोहण गर्न सकिदैन । यसबेला आरोहणमा जानका लागि सरकारले केही महिना अघि नै आरोहण अनुमति दिनुपथ्र्यो । तर सरकारले ढिला गरी निर्णय गरेको छ । 

हाम्रो सम्पर्कमा पनि मनास्लु लगायतका हिमाल आरोहणका लागि आउन इच्छुक समूह थिए । अरु व्यवसायीहरुसँग पनि हुन सक्छन् । त्यसैले सरकारले समयमै निर्णय गरेर पर्वतारोहण खुल्ला गरेको भए अहिले केही समूहले हिमाल आरोहण गरिसकेका हुन्थे वा केही आरोहण गर्दै हुन्थे । यसबाट अन्तराष्ट्रिय जगतमा नेपालको राम्रो खबर जान्थ्यो । यसको असर आगामी वसन्त ऋतुको सिजनमा पथ्र्यो । नेपालमा पर्वतारोहण सुरक्षित छ भन्ने सन्देश गएकाले वसन्त ऋतुमा आरोहणका लागि योजना बनाउने धेरै हुन्थे । तर अब त्यो ढिला भैसकेको छ ।

अबको वसन्त ऋतुमा पनि धेरै आशा छैन

विश्वव्यापी रुपमा कोभिड–१९ को महामारी घट्दै गएका सगरमाथा लगायतको हिमाल आरोहणको तयारी गरिरहेका पर्यटक आगामी वसन्त ऋतुमा आउने संभावना रहन्छ । आरोहीहरु अलि बिशिष्ट किसिमका पर्यटक हुन् । लामो बिदा र धेरै खर्च गरेर आउने यी बिशिष्ट पर्यटक केही मात्रामा आउने आशा गर्न सकिन्छ । त्यसको लागि सरकारले आवातजावातमा सहजता, सुरक्षाको प्रत्याभूति लगायतको वातावरण बनाउनुपर्छ । 

तर पर्वतीय पर्यटक जस्तै पदयात्रा, र्याफ्टिङ, सफारी जस्ता क्षेत्रको पर्यटकको संख्या बढ्न मुस्किल छ । मैले पर्यटन व्यवसायको क्षेत्रमा काम गरेको ४५ वर्ष पूरा भयो । यो बीचमा विभिन्न देशमा आर्थिक मन्दी भएका छन् । त्यो बेलाको अनुभव हेर्दा विदेशीहरु आफ्नो देशमा आर्थिक मन्दी भएको बेला हत्तपत्त विदेश भ्रमणमा निस्कंदैनन् । यसै पनि भ्रमण अनिवार्य हैन, यो ऐच्छिक हो । मानिसहरु आफ्ना आधारभूत आवश्यकता पूरा भएपछि मात्रै भ्रमणमा निस्कन्छ ।

आर्थिक अबस्था केही सुध्रिएपछि विदेशीहरु आफ्नै देशको भ्रमणमा जान्छन् । उनीहरुलाई देशको आर्थिक अवस्थाको पनि चिन्ता हुन्छ । आर्थिक अवस्था अझ राम्रो भएपछि छिमेकका देशको भ्रमणमा निस्कन्छन् जहाँ उनीहरुको व्यापार लगायत अरु धेरै सम्बन्ध हुन्छन् । अनि अवस्था निकै सुध्रेपछि मात्र नेपाल जस्ता देशको भ्रमणमा निस्कने हुन् । अहिले कोभिड–१९ को महामारीका कारण धेरै देशको आर्थिक अवस्था खस्किएको छ । उनीहरुको अवस्था सुध्रिएर नेपालमा पर्यटक बढ्न केही वर्ष पनि लाग्न सक्छ । त्यसैले चाँडै नेपाल घुम्न आउने बिदेशीको संख्या ह्वात्तै बढ्दैन ।

कोभिड–१९ महामारीले पर्वतीय पर्यटन व्यवसाय धरापमा

कोभिड–१९ को महामारीका कारण नेपालको पर्यटन क्षेत्र नै ध्वस्त भएको छ । धेरै व्यवसायी धरापमा परेका छन् भने यसमा आश्रित श्रमिकहरुको अबस्था दयनीय भएको छ । नेपालमा धेरै पर्यटक आउने वसन्त ऋतु सुनसान बन्यो भने शरद ऋतुमा पनि आशा पलाउन सकेन ।

दुई मुख्य सिजनमा व्यवसाय गरेर वा मजदुरी गरेर वर्ष दिनको दैनिकी चलाउँदै आएका व्यवसायी तथा श्रमिकहरुको अवस्था दर्दनाक हुन थालेको छ । ठमेलबाट मात्रै सयौं व्यवसायीले कार्यालय बन्द गरेर कोठा खाली गरिदिएका छन् भने पर्यटन मजदुरहरुले बाध्य भएर छोराछोरीको पढाइ रोक्ने, दैनिकीकै लागि ऋण गर्ने बाध्यतामा छन् । 

आम्दानी शून्य भएपछि पर्यटन व्यवसायीहरुले नियमित कर्मचारीलाई पनि तलव दिएर राखिरहन सकेका छैनन् । हरेक वर्ष विभिन्न कम्पनीमा काम खोज्दै हिंड्ने लाखौं श्रमिकहरुको त धेरैलाई हालखबर पनि थाहा छैन । संसारका उत्कृष्ट श्रमिकका रुपमा चिनिएका नेपालको पर्वतीय पर्यटन व्यवसायमा काम गर्ने श्रमिकहरु अहिले छाक जुटाउन मुस्किल हुने अबस्थामा छन् । यो विषयलाई सरकारले गम्भिरताका साथ हेर्नुपर्छ । 

अझै केही वर्ष नेपालको पर्वतीय पर्यटन पहिलेको अवस्थामा फर्कने संभावना रहँदैन । मूल श्रोतमै समस्या भएकोले कोभिड–१९ को महामारी कम हुनासाथ अर्थात नेपालले खुल्ला गर्नसाथ यहाँ पर्यटक आउँदैनन् । पहिले यहाँ पर्यटक आउने देशको अवस्था सुध्रनु पर्यो । नेपाल सुरक्षित छ भन्ने विश्वास दिएपछि बल्ल सम्बन्धित देशले आफ्नो देशका नागरिकलाई भ्रमण अनुमति दिने हुन् । यी सबै कारण अर्को सिजन वा अरु केही वर्ष पर्यटन व्यवसाय धरासायी नै हुने हो । एउटा बाटो समातिसकेको नेपालको पर्वतीय पर्यटन व्यवसायलाई पहिलेको रुपमा फर्काउन अब धेरै कसरत आवश्यक छ । 

भ्रमण वर्ष घोषणाले व्यवसायीको बिजोग

हामीले नेपालमा पर्यटकको संख्या बढाउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्यौं । सरकारले तामझामका साथ घोषणा गरेको नेपाल भ्रमण वर्ष व्यवसायीका लागि भने अभिशाप बन्यो । चर्चा र दावी हेर्दा नेपालमा पर्यटकको संख्या निकै बढ्ने अनुमानमा व्यवसायीले धेरै लगानी गरे । कसैले नयाँ होटल थपे कसैले कोठा थपे त कसैले सेवा थप गरे । बैंकबाट करोडौं रुपैयाँ ऋण लिएर शहरसँगै हिमाली क्षेत्रमा ठूलो लगानी भयो । तर जब पर्यटक आउने दिन सुरु हुन थाल्यो, त्यही बेला लकडाउन सुरु भएकोले व्यवसायी नराम्रोसँग डुब्यौं । 

बैंकले ब्याज मागिरहेको छ । तर तिर्नको लागि श्रोत छैन । बनाइएका संरचानहरु काम लागेका छैनन् । यो एक वर्षमात्र हैन अब धेरै वर्ष नेपालमा उल्लेख्य पर्यटक आउने संभावना कम रहेकोले भ्रमण बर्ष लक्षित लगानीको प्रतिफल लिने कुरा त परै जावोस्m लगानी उठाउन पनि मुस्किल पर्छ । अहिले धेरै व्यवसायीहरु नेपाल भ्रमण वर्ष घोषणा हुनुलाई नै आफ्नो दशा सम्झिरहेका छौं । 

खानेकुरा डेटस्पाएर भयो

पर्वतीय पर्यटनको मुख्य थलो दुर्गम हिमाली वा उच्च पहाडी क्षेत्र हो । त्यहाँ भन्नेबित्तिकै सामान लैजान सकिंदैन । ढुवानीका लागि हवाइ माध्ययमको भर पर्नुपर्ने ती क्षेत्रमा पर्यटक सिजन सुरु हुनुअघि नै पर्यटकीय सिजन भरका लागि धेरैजसो सामान ढुवानी गरिन्छ । यस वर्ष पनि त्यो भैसकेको थियो । त्यसै पनि वसन्त ऋतुमा हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका लागि पर्यटक जान्छन्, अझ यो वर्ष त नेपाल भ्रमण वर्ष २०२० भएकोले पर्यटकको संख्या बढ्ने आशा थियो त्यसैले पर्यटकका लागि चाहिने सामाग्री लगेर थुपारियो । 

तर ती सामान अहिले व्यवसायीका लागि घाँडो भएका छन् । त्यो सामान फेरी हवाइजहाज चढाएर सहरमा ल्याउन किन्नु भन्दा बढी मूल्य पर्छ । त्यहीँ राख्दा सामाग्रीको उपभोग्य म्याद सकिन थालेको छ । धेरैजसो पेय पदार्थहरुको म्याद सकिसकेको छ भने चकलेट, बिस्कुट लगायतका विभिन्न खानेकुराहरुको पनि म्याद सकिन थालेको छ । वसन्त ऋतुका लागि लगिएका केही सामान सरद ऋतुमा पनि काम लाग्थे तर सरद ऋतुमा पनि पर्यटक ठप्प भएपछि ती सामान काम नलाग्ने भएका छन् । दैनिक भोज गर्दा पनि पर्वतीय पर्यटकका लागि भण्डारण गरिएका सामान सकिएका छैनन् भने व्यवसायीको ठूलो लगानी डुबेको छ । 

अहिले हिमाली क्षेत्रमा त्यस्ता सामान बाँकी छन् । कतिपय ठाउँमा पिठो र चामाल समेत डल्लो परेर प्रयोग गर्न नमिल्ने अवस्था पुगिसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । पर्यटक आउने निश्चित भएर कतिपय कोठा बुकिङ समेत भैसकेको अबस्थामा राम्रो व्यापार गर्ने लक्ष्यले महँगो ढुवानी भाडा तिरेर लगेका सामान बिग्रिदा व्यवसायीले थप घाटा सहनुपरेको छ । 

सरकारले उद्धार गर्नुपर्छ 

कोभिड–१९ महामारीले संकटमा परेका पर्यटन व्यवसायी, श्रमिक तथा त्यस्ता पर्यटकमा आधारित खेती गर्ने किसानहरुलाई सरकारले उद्धार गर्नुपर्ने हुन्छ । व्यवसायीको काम रोकियो, श्रमिकले काम पाएनन्, किसानको उत्पादन बिकेन । यी सबै अहिले चर्को मारमा छन् । हामीले सरकारसँग पर्यटन व्यवसायी तथा श्रमिकहरुलाई अनुदानको व्यवस्था गर्न पनि माग गरेका छौं । यदि यो संभव नभएमा बिना धितो बिना ब्याजको ऋण माग गरेका छौं । यदि यो दोश्रो माग पनि पूरा भएन भने चाहिँ नेपालमा पर्यटन व्यवसायी तथा यसमा आश्रित श्रमिकहरु उठ्नै नसक्ने गरी डुब्ने चिन्ता छ । 

सरकारले अहिले बिना धितो, बिना ब्याजमा ऋण दिनुपर्छ र पर्यटन व्यवसाय पहिलेको अवस्थामा फर्किएपछि उनीहरुले तिर्ने व्यवस्था गर्नुपर्छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लगायतका अरु थुप्रै कामसँगै तत्कालका लागि भने व्यवसायी तथा आश्रित श्रमिकहरुको जीविकालाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्छ । चाँडै नेपालको पर्वतीय पर्यटन व्यवसाय पहिलेको अबस्थामा फर्किने संभावना नरहेको यो अवस्थामा सरकारले पर्यटन क्षेत्र पनि देशको मुख्य क्षेत्र हो भन्ने व्यवहार गर्नु जरुरी छ । 

(शेर्पासँग भोजेन्द्र बस्नेतले गर्नुभएको कुराकानीमा आधारित । तस्बिर : आङ्छिरिङ शेर्पा ) 
 

अन्तिम अपडेट: चैत १, २०८०

आङछिरिङ शेर्पा

आङछिरिङ शेर्पा नेपाल पर्वतारोहण संघकाे पूर्व अध्यक्ष्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया